राना थारु समुदायको होरी पर्व सुरु
2023/02/07, 1:02
 
ss

कैलाली, कञ्चनपुरमा बसोबास रहेको राना थारु समुदायको होरी पर्व सुरु भएको छ । आइतबार राति पूजा अर्चना गरेपछि यो समुदायको सबैभन्दा ठूलो होरी पर्व सुरु भएको हो ।  राना थारु समुदायका मानिसले एक महिना एक हप्तासम्म धुमधामसंग होरी पर्व मनाउने गरेका छन् । माघ पूर्णिमाबाट सुरु भएको होरी पर्व फागु पूर्णिमापछिसमेत एक हप्तासम्म चल्ने नारायण रानाले बताए ।

उनका अनुसार गाउँका भर्रा ९गुरुवा० ले भलमन्सा, गाउँका युवा, बुद्धिजिवी लगायतको उपस्थितिमा होलिकाको पूजाआजा गर्ने गर्दछन् । पूजाआजापछि होरीको गीत गाउँदै केहिबेर होरी खेलिन्छ । त्यसै बेलाबाट जिन्दा होरी सुरु हुने गर्दछ । अब फागु पूर्णिमाको दिनसम्म एक महिनासम्म ‘जिन्दा होरी’ खेलिने जनाइएको छ । जिन्दा होरी अवधिभरि रानाथारु समुदायका युवायुवती लगायतले रातिमात्रै होरी खेल्ने ९होरी नाच देखाउने० गर्दछन् । उनीहरुले होरी गीत गाउँदै तालमा ताल मिलाएर नृत्य गर्ने गर्दछन् । साथै, हरेक साँझ होलिकाको पूजाआजा गर्दै त्यसमा पराल, झारपात थुपार्ने जनाइएको छ । यसरी थुपारिएको झारपातलाई होलिकाको रुपमा दहन गर्ने गरिन्छ ।

फागु पूर्णिमाको दिन होलिका दहनपछि ‘मरी होरी’ सुरु हुन्छ । मरी होरीको अवधि आठ दिनसम्म रहने गरेको जनाइएको छ । यो अवधिमा आफ्ना आफन्त, नातेदार, मितलाई घरमा बोलाएर भोजभतेर गर्ने चलन रहेको छ । जसलाई ‘हट्कना’ भन्ने गरिएको छ । हट्कनामा भिनाजु, मित, सालासालीलाई घरमा डाकेर मासु, भातसहितका मिठा–मिठा पाकवान खुवाउने चलन रहेको रानाले बताए ।

होरीको अन्तिम दिनमा खख्डेहरा फुटाउने गरिन्छ । खख्डेहरा सबैभन्दा महत्वपूर्ण दिन भएकाले सुदूरपश्चिम प्रदेश सरकारले यो दिन सार्वजनिक बिदासमेत दिदैं आएको छ । खख्डेहरापछि औपचारिक रुपमा होरी पर्व समापन हुने गरेपनि अनौपचारिक रुपमा भने चराँई पर्वसम्म होरी खेलिने गरेको रानाले बताए । ‘चराँई चैत शुक्ल चतुर्थीका दिन परेको छ । र कतै–कतै अनौपचारिक रुपमा यहि दिनसम्म होरी खेलिन्छ’, उनले भने । होरीमा राना थारु बस्ती होरीमय हुने गर्दछ । यो पर्व उल्लासपूर्वक मनाउने गरिन्छ ।

यसैगरी, कठरिया थारु समुदायले पनि राना थारु समुदाय जस्तै एक महिनासम्म होरी पर्व मनाउदै आएका छन् । दुवै समुदायले मनाउने होरी पर्वमा धेरैजसो समानता पनि रहेको पाइन्छ। दुवै समुदायले यो पर्वलाई होरी नै भन्ने गरेका छन् ।