नागरिक उन्मुक्तीका सांसदहरुलाई रेशमले किन आफूसंगै राखेका छन ?
2023/02/08, 5:43
 
ss

 ६ वटा प्रदेश सरकारले विश्वासको मत प्राप्त गरेर मन्त्रि परिषदले पूर्णता पाईसक्दा पनि सुदूरपश्चिम प्रदेशमा समेत विश्वासको मत पाउने संकेत नदेखेपछि मुख्यमन्त्री राजेन्द्र रावलले सरकारलाई न त सरकारलाई पूर्णता दिन सकेका थिए । न त विश्वासको मत लिन प्रदेश सभाको बैठक नै बोलाउन सकेका थिए ।

विश्वासको मत लिने समय घर्किदै गर्दा दवावमा परेका रावलले सोमवार नागरिक उन्मुक्ति पार्टीका सांसदहरुलाई फकाउने अन्तिम कोसिस गरे । दिनभरी छलफल गरेपनि कुनै निष्कर्ष ननिस्किएपछि निराश भएका रावलले विश्वासको मत पाउने अवस्था नहुदा नहुदै पनि बाध्य भएर मंगलवार विश्वासको मत लिन प्रदेश सभाको बैठकका लागि प्रस्ताव दर्ता गरे ।

किनकी उनीसंग यो बाहेक अर्को बिकल्प थिएन । मुख्यमन्त्री नियुक्त भएको महिना दिन भित्र विश्वासको मत लिई सक्नु पर्ने संबैधानिक प्राबधान अनुसार उनले ७२ घण्टा पहिला प्रस्ताव दर्ता गरिसक्नु पथ्र्यो । उनले त्यही प्राबधानका कारण प्रस्ताव दर्ता गर्न बाध्य भएका थिए । यता उनले प्रदेश सभामा प्रस्ताव दर्ता गरे । उता सातै जना सांसदलाई नागरिक उन्मुक्तिका सुप्रिमो रेशम चौधरीले काठमाण्डौं बोलाए । 

विश्वासको मत लिनुभन्दा एक दिन अघि नागरिक उन्मुक्तिका सांसदहरु काठमाण्डौं हानिएपछि मुख्यमन्त्री रावलको मनमा चिसो पसिसकेको थियो । पार्टीको केन्द्रीय नेतृत्व र गठबन्धन सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहालले समेत फकाउन नसकेका रेशमलाई रावलले फकाउन सक्ने कुरै भएन ।

प्रधानमन्त्री दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग टेलिफोनमा सोझै कुरा गरिरहेका रेशमले नेकपा एमाले र माओवादी केन्द्रका प्रदेश ईञ्चार्ज र संसदीय दलका नेताहरुलाई टेर्ने कुरै भएन ।रेशम आफू कारागारबाट नछुटेसम्म आफ्ना पार्टीका कुनै सांसदलाई सरकारमा पठाउन शुरु देखि नै तयार थिएनन । अहिलेसम्म पनि उनी त्यही अडानमा छन् ।

केन्द्रीय र प्रदेश सरकारलाई शुरुमा समर्थन गरेका रेशमले सुदूर पश्चिममा सभामुख चयनमा समेत सत्तागठबन्धलाई गलाएका थिए । तर अन्तिममा नागरिक उन्मुक्तिका सांसदहरुले सत्तापक्षका सभामुखका उम्मेदवारका पक्षमा मतदान गरेका थिए ।सभामुख चयनका क्रममा आफ्ना पार्टीका सांसदहरुलाई सत्तापक्षले आर्थिक प्रलोभनमा पारेर पक्षमा मतदान गर्न लगाएको रेशमको बुझाई थियो । कतिसम्म भने एक जना सांसदको मत बराबर १५ लाख रुपैया सम्म रुपैया सत्ता पक्षले  आफ्ना सांसदलाई दिएको उनले आफ्ना निकट व्यक्तिहरुलाई सुनाउने गरेका छन् ।

रेशम यस पटक कुनै पनि हालतमा सरकारलाई विश्वासको मत नदिने अडानमा थिए । र, धनगढीमा बस्दा सांसदहरु आर्थिक प्रलोभनमा पर्ने रेशमको आशंका थियो । स्रोत भन्छ, त्यही कारण रेशमले आफ्ना सांसदहरुलाई काठमाण्डौं बोलाए ।मंगलवार बिहानको फ्लाईटमा धनगढीबाट काठमाण्डौं पुगेका सातै जना सांसदलाई दिनभरी आफूसंगै कारागारमा राखेका रेशमले उनीहरुलाई मोवाईल चलाउन र बाह्य सम्पर्कमा आउन दिएनन । दिनभरी उनीसंगै कारागारमा रहेका सांसदहरुलाई मोवाईल अफ गर्न लगाए ।

अहिले पनि सातै जना सांसद रेशमको निगरानीमा छन् । र, उनीहरु मुख्यमन्त्री रावलको विश्वासको मत लिने समय नसकिएसम्म धनगढी फर्किन पाउने अवस्था छैन ।आफूबाट फुत्किएर धनगढी गए सांसदहरुलाई मुख्यमन्त्रीले आर्थिक प्रभावमा पारेर विश्वासको मत लिन सक्ने रेशमको बुझाई रहेको स्रोत बताउछ ।

रेशमलाई मनाउने जिम्मा लिएर आफ्नो पार्टीका नेताहरुसंग फुर्ति लगाउने सुदूर पश्चिमका सबै दलका नेताहरुको हैसियत रेशमले देखाईसकेका छन् ।थुप्रै बिचौलिया र आफूलाई रेशमको निकट बताउने नागरिक उन्मुक्ति पार्टीकै नेताहरुको ठूला दलहरुले असफल प्रयोग गरिसकेका छन् । रेशम कसैको कुरा सुन्दैनन । आफूलाई संसदीय दलको नेता बनाए रेशमलाई मनाउने जिम्मा आफूले लिने बताएका बिभिन्न पार्टीका नेताहरुको गफ र हैसियत समेत रेशमले देखाईसकेका छन् । 

रेशमलाई मनाउनका लागि एमाले र माओवादीले रेशम पत्नीलाई उपप्रधान तथा गृहमन्त्री, प्रवक्ता दामोदर पण्डितलाई प्रदेश प्रमुख र प्रदेशमा नागरिक उन्मुक्तिलाई मागे अनुसारको मन्त्रालय दिने आश्वासन नदिएका होईनन । तर त्यस्तो प्रस्ताव लिएर जाने आफ्नै दलका नेता र उनीहरुलाई बोकेर कारागार लैजाने बिभिन्न दलका नेता तथा बिचौलियासंग समेत रेशम रुष्ट भएको बताईन्छ ।उनले एउटै कुरा दोह¥याउने गरेका छन्, म जेलमा बस्ने, अनि तिमीहरु  सरकारमा जाने, मन्त्री हुने हुन सक्दैन ।

रेशमलाई झुक्याउने र गलाउने प्रयास असफल
सत्ता गठबन्धनले रेशमलाई सके फकाउने, नसके गलाउने र त्यो अस्त्रले पनि काम नगरे तर्साउने नीति अपनाएको देखिन्छ ।शुरुमा सत्ता गठबन्धनले नागरिक उन्मुक्तिलाई केन्द्र र प्रदेशमा मागे जति मन्त्रालय दिने आश्वासन दियो । रेशमले भने, पहिले मलाई कारागारबाट मुक्त गर ।

त्यसपछि उनीहरुले कारागारबाट छुटाउन पहल गर्ने आश्वासन दिए । रेशमले फेरि भने, पहल होईन, पहिले मलाई छुटाउ ।त्यहीबीचमा सरकारले नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधि सभा सांसद अरुण चौधरीलाई पक्राउ ग¥यो । आफूलाई दवावमा पार्ने र तर्साउने नियतले अरुणलाई पक्राउ गरेको रेशमको बुझाई रहेको स्रोतले बतायो ।

त्यसका बाबजुद पनि रेशम आफ्नो अडानमा कायमै छन् । उनको एउटै भनाई छ, पहिले मलाई रिहा गर । प्रधानमन्त्री दाहाल र सत्ता गठबन्धन दलहरुलाई यो थाह छ कि रेशम तत्काल कारागारबाट रिहा हुने अवस्था छैन । यो कुरा बुझेका प्रधानमन्त्री दाहाल र सत्ता गठबन्धनका नेताहरुले रेशमलाई आफ्नो पक्षमा मतदान गर्न निरन्तर रुपमा छुटाउने आश्वासन दिदै आएका छन् । स्रोत भन्छ, रेशमले पछिल्लो पटक यो सबै कुरा बुझिसकेका छन् । त्यसैले आफू नछुटेसम्म उनी कसैको कुरा विश्वास गर्ने अवस्थामा छैनन ।सरकार रेशमलाई गलाउने कोसिस गरिरहेको छ, एक नेताले भने, तर रेशमले भने उल्टै सरकारलाई गलाईरहेका छन् ।

नागरिक उन्मुक्ति पार्टीले के विश्वासको मत देला ?
सत्तागठबन्धनलाई नागरिक उन्मुक्तिले विश्वासको मत दिने अन्तिम आस बाँकी छ । त्यही आसले बुधवार बोलाईएको प्रदेश सभाको बैठक एक दिन पछि सारिएको छ । एक दिनको सुबिधा सरकारसंग थियो । त्यो अन्तिम सुबिधा उसले प्रयोग गर्दै बैठक सारेको हो ।

भोलि पनि विश्वासको मत प्राप्त नगरे मुख्यमन्त्री स्वतः पदबाट हट्ने छन् । उनले त्यसपछि राजिनामा पनि दिनु पर्ने छैन । नागरिक उन्मुक्तिले विश्वासको मत दिन रेशमको रिहाईलाई बटमलाईन बनाएको छ । तर भोलि बिहानसम्म सरकारले रेशमलाई छुटाउन सक्ने कुनै संभावना छैन ।

रेशम भने आफू रिहा नभएसम्म आफ्ना सांसदहरुलाई आफूसंगै राख्ने मनिस्थितिमा रहेको स्रोतले बतायो । स्रोत भन्छ, ुरातभरीमा कुनै चमत्कार भएन भने रेशमले सरकारलाई अहिलेकै अवस्थामा विश्वासको मत दिने देखिदैन ।ु श्रोत -रातो पाटी