शृंखलाबद्ध रुपमा एकपछि अर्को अनियमितताको घटना सार्वजनिक हुन थालेपछि सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय विवादमा तानिदै आएको छ । सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी सामाजिक विकास मन्त्रीको पद समालेदेखि नै विवादहरु मुछिदैं आएका छन् । मन्त्रालयको एम्बुलेन्स खरिद प्रक्रिया सवैभन्दा चर्चित काण्ड हो । केही समय सेलाएको यो मुद्धा फेरि चर्चामा आएसँगै सामाजिक विकास मन्त्री विवादमा तानिएका छन् ।
पूर्व सामाजिक विकास मन्त्री दीर्घ सोडारी यौनकाण्डमा मुछिएपछि पार्टीकै निर्देशन अनुसार बर्खास्तीमा परेपछि मन्त्रालयको जिम्मेवारी पाएका कृष्णराज सुुवेदीले पाए तर दुई वर्ष अघि कात्तिकमा मन्त्रीको जिम्मेवारी पाएका उनी पनि विवादित बनेका हुन् । स्थानीय तहको निर्वाचनमा वडाध्यक्षको टिकट नपाएको भन्दै वितण्डा मच्चाए । उनलाई शान्त पार्न कैलाली निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट टिकट दिईयो । उनले प्रदेश सभा सदस्यमा जित हात पारे । नेकपाका नेता भिम रावलका प्रिय पात्र दिर्घ सोडारीलाई पदबाट बर्खास्त गर्नुपर्ने अवस्था आएपछि सुवेदीले मन्त्री हुने मौका पाएका हुन् ।
दुवै जना भीम रावल निकट हुनु, दुवै जना अछामका वासिन्दाहरु हुनु र आफ्नो हिसाबमा चलाउन सकिने भन्दै मन्त्री परिवर्तन गर्नुपर्ने परिस्थिति आएपछि अत्तरियाका सुवेदीको भाग्य चम्किएको थियो । मन्त्रालयको जिम्मेवारी पाएपछि कृष्णराज सुवेदी पहिलो पटक चुरे गाउँपालिकाबाट ईन्धन लिएको घटनामा मुछिएका थिए । एक कार्यक्रममा चुरे गाउँपालिका जाँदा उनले गाउँपालिकाबाट गाडीका लागि अत्तरिया स्थित मनिषा पेट्रोल पम्पको इन्धनको कुपन लिएका थिए । घटना बाहिरिएपछि नेकपाका नेता लेखराज भट्टले सुवेदीसँग मौखिक प्रस्टीकरण सोध्नुका साथै सचेत गरेको सार्वजनिक भएको थियो ।
मन्त्री सुवेदी सेती प्रादेशिक अस्पतालको मेसु परिवर्तन गर्ने खेलमा पनि जोडिएका छन् । एक निजी अस्पतालका सञ्चालकको प्रभावमा परेर नवौं तहका चिकित्सकलाई मेसु बनाउन लागेको उनीमाथि आरोप लागेको थियो । मन्त्री सुवेदी अल्ट्रासाउन्ड खरिद प्रकरणमा पनि मुछिए । उनले ११ करोड ६५ लाख रुपैयाँ पर्ने अल्ट्रासाउन्ड खरिद प्रक्रियामा एक फर्मलाई जिम्मेवारी दिने भनेर तय गरी त्यही फर्मले मात्र पूरा गर्नसक्ने मापदण्ड राखेर मन्त्रालयका तर्फबाट टेन्डर आह्वान गराएको आरोप लागेको छ । मन्त्रालयले बजार मूल्यभन्दा धेरै प्रति अल्ट्रासाउन्ड १३ लाख २३ हजार रुपैयाँभन्दा बढी रकम हालेर ८८ वटा अल्ट्रासाउन्ड खरिद गरेको छ ।
मन्त्री सुवेदी मुख्यमन्त्री कप प्रतियोगितामा पनि विवादित बनेका थिए । ३ दिनको प्रतियोगितामा ५ करोड बढी खर्च गर्दा सहभागी संख्याभन्दा ५ गुणा बढी व्यक्तीलाई भत्ता दिएको आरोप उनीमाथि लागेको थियो । हाल आएर मन्त्रालय तथा मन्त्री सुवेदी पुराना मोडेलका मिनी ट्रकलाई एम्बुलेन्स बनाएर वितरण गरेको भन्दै विवादमा तानिएका हुन् । पुराना मोडेलका एम्बुलेन्स खरिद गरेको बिषय सेलाउँदै फेरि चर्चापछि मन्त्री सुवेदी पुनः विवादको घेरामा छन् । एम्बुलेन्स प्रकरण बाहिरिएपछि मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्री सुवेदीसँग स्पष्टीकरण लिएका थिए । भेटपछि मुख्यमन्त्री भट्टले सत्यतथ्य सार्वजनिक गर्न निर्देशन दिएको थियो । शृंखलाबद्ध रुपमा अनियमितता भएको समाचार विभिन्न सञ्चार माध्यम मार्फत बाहिएका थिए । सुदुरपश्चिम सरकारले चैतमा नै तीन वटा मेसिन ल्याउने भनेर ठगेको भन्दै विवादमा तानिएका सामाजिक विकास मन्त्रीलाई एम्बुलेन्स काण्ड फेरि चर्किएसँगै विवादको उत्कर्षमा ल्याएको छ ।
सधैं एउटै चुनौतीः प्रमाण देखाउनुस्
सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी दर्जनौ घटनाहरुमा विवादमा तानिदै आएका छन् । तर जुनसुकनै विवादमा तानिए पनि उनको एउटै रेडिमेट जवाफ छ–सबै आरोपहरु प्रमाणित गर्नुहोस् । तर उनले प्रमाणित गर्न चुनौती दिईरहन्छन् । काम पनि आफ्नै तरिकारले भईरहन्छ । अन्त्यमा त्यसको केही पनि नहुने गरेको सामाजिक विकास मन्त्रालयले स्रोतले बताएको छ ।