स्वास्थ्य विज्ञान विश्वविद्यालय शीघ्र सञ्चालनको माग
2023/02/16, 12:42
 
ss

कैलालीमा रहेको गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने सरकारको निर्णयको स्वागत गर्दै यथाशीघ्र सञ्चालनको सुदूरपश्चिम प्रदेशवासीले माग गरेका छन् ।

सरकारको निर्णयमाथि विश्वास गर्न सकिहाल्ने धेरै आधार नरहेकाले यथाशीघ्र विश्वविद्यालय सञ्चालन गर्नु पर्ने उनीहरुले माग गरेका हुन । यसअघि, प्रारुपमा यो अल्झिएको थियो । प्रारुपको टुङ्गो लागेपछि चाँडै सञ्चालनमा आउनु पर्ने उनीहरुको जोड छ । आइतबार सरकारले गेटा मेडिकल कलेजलाई नेपालकै पहिलो राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो ।

यस प्रदेशवासीले सुदूरपश्चिम प्रदेशमा मेडिकल कलेज हुनु पर्ने माग गर्दै आएका थिए । त्यसका लागि संरचना बनेपछि विश्वविद्यालय वा प्रतिष्ठानको रुपमा सञ्चालन गर्नु पर्ने भन्दै दबाब दिदैं आएका छन् । यस क्षेत्रका जनताहरुको निरन्तर दबाब र खबरदारी पश्चात सरकारले विश्वविद्यालय बनाउने निर्णय गरेको कैलाली बहुमुखी क्याम्पसमा कार्यरत प्राध्यापक सीताराम भट्टको भनाइ छ ।

मेडिकल विश्वविद्यालय जति छिटो र प्रभावकारी बन्यो त्यति नै जनताले स्वास्थ्य सेवा पाउने उनको भनाइ छ । ‘र, यस क्षेत्रका जनताको ठूलो धनराशि स्वास्थ्य उपचारको नाममा विदेशिनबाट जोगिने र जनता दुर्घटना लगायतका भवितव्यबाट पनि बाँच्न सक्नेछन्’, भट्टले भने,‘गेटा मेडिकल विश्वविद्यालय यथाशीघ्र, पारदर्शी र प्रभावकारी कार्यान्वयनको लागि अनुरोध गर्दछु ।’

गेटामा विश्वविद्यालय बनाउने सरकारी निर्णय राम्रो रहेको कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुस्कर ओझाले बताए । शिक्षक दिनेश नागरीले सरकारको निर्णय सह्रानीय रहेको बताए । ‘सरकारको निर्णयको उच्च सम्मान गर्दछु’, उनले भने,‘यसले सुदूरपश्चिमवासीलाई निकै सुविधा पु¥याउनेछ ।’ उनले छिट्टै औपचारिक रुपमा उद्घाटन भइ शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन हुनु पर्नेमा नागरीले जोड दिए ।

निर्माण कार्य लगभग अन्तिम चरणमा रहे पनि प्रारुपको टुङ्गो नलाग्दा सञ्चालनको अन्योलता देखिएको छ । तर, सरकारको निर्णयले आश पलाएको यस प्रदेशवासीले बताएका छन् । विश्वविद्यालय बनाउने सरकारको निर्णय स्वागत योग्य निर्णय रहेको नारायण रानाले उल्लेख गरे । ‘तर, निर्णयमात्रै गरेर भएन यथाशीघ्र सञ्चालन हुनुपर्छ’, उनले भने,‘सरकारले गरेका कतिपय निर्णयहरु लागू नै हुँदैनन् त्यसैले काम नहुँदासम्म धेरै खुशी हुने अवस्था छैन ।’ 

यस प्रदेशवासीले विश्वविद्यालय बनाउने निर्णयको स्वागत गरे पनि सरकारको निर्णयमाथि धेरै विश्वास गर्न सकिने आधारहरु नरहेका बताएका छन् । प्रदेशवासीको चाहना भनेको शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय जस्ता संस्थाहरुमा ‘मेरिटोक्रेसी, प्राग्माटिज्म अनेस्टी’ ९एमपीएच० का सैद्धान्तिक आधारमा यथाशीघ्र काम थालोस भन्ने रहेको प्राध्यापक भट्टको बुझाइ छ ।

‘सरकार आफैले गरेका लिखित वा मौखिक प्रतिवद्धताहरु उलङ्गघन गर्दै आइरहेकाले उसमाथि विश्वास गर्न गाह्रो छ’, उनले भने,‘डा। गोविन्द केसीको अनसन तोडाउन कैयौं पटक प्रतिवद्धता गरिए, तर कार्यान्वयन भएन ।’ नेपाल सरकारको लगानीमा २०७४ सालबाट गेटा मेडिकल कलेजको भौतिक पूर्वाधार निर्माण कार्य सुरु भएको थियो । हालसम्म साढे पाँच अर्ब रुपैयाँ लागतमा पूर्वाधार निर्माणको कार्य अन्तिम चरणमा पुगेको मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराले जानकारी दिए । अस्पताल, शैक्षिक र प्रशासनिक भवन निर्माणको कार्य भने गतवर्ष नै पूरा भएको थियो । विद्युत, खानेपानी र फोहोरमैला व्यवस्थापन गर्ने संरचना निर्माणको कार्य भइरहेको छ । अहिलेसम्म ९० प्रतिशत निर्माण कार्य पूरा भएको पुजाराको भनाइ छ । 

उनका अनुसार १३ वटा प्याकेजमा निर्माण कार्य सुरु गरिएकोमा हालसम्म सात वटा प्याकेजको काम सम्पन्न भइसकेको छ । बाँकी छ वटा प्याकेजको काम २०८० चैत मसान्तसम्म सकिने पुजाराले जानकारी दिए ।  तत्कालीन सरकारले मेडिकल कलेज स्थापनाका लागि गेटा आँखा अस्पाल अगाडि ७७ बिघा जमिन छुट्टयाएको थियो । २०६५ सालमा सम्भाव्यता अध्ययनका लागि बजेट विनियोजन गरिएको थियो । २०७१ शिलान्यास गरिएको कमेडिकल कलेजको २०७४ बाट निर्माण कार्य सुरु भएको थियो । छ सय शय्याको अस्पताल र मेडिकल कलेजका लागि २८ वटा आधुनिक भवन बन्दैछ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालले सो भवनको अवलोकन गरेका थिए ।