दार्चुलाको खलंगा–टिंकर सडकको १२ किलोमिटर दूरीमा चल्यागाडासम्म यात्रुवाहक जिप चलेका छन् । गत वर्ष जिल्ला प्रशासन कार्यालयले कच्ची सडकमा प्रतिकिलोमिटर दूरीको भाडा ८ रुपैयाँ तोकेको थियो । तर यहाँका जिप व्यवसायीहरूले दोब्बरभन्दा बढी भाडा असुल गर्दै आएका छन् ।
जिल्ला प्रशासनले तोकेअनुसार भाडा उठाए एक यात्रुबाट जिप व्यवसायीले एक सय रुपैयाँ लिनुपर्ने हो । तर, व्यवसायीहरूले दुहु गाउँपालिका–५ चल्यागाडासम्मको भाडा ३ सय रुपैयाँ असुल गर्दै आएको दुहु–२ का नरेन्द्रराज जोशीले बताए । जोशीका अनुसार गत वर्षसम्म चल्यागाडासम्मको भाडा डेढ सय रुपैयाँ थियो । वर्षात्को समयमा कच्ची सडकमा सवारीसाधनलाई बढी मार पर्ने भन्दै जोखिमपूर्ण यात्रा गरेर बढी भाडा तिर्नुपरेको छ । कोरोना महामारी र सरकारले भाडा बढाएको बहानामा उनीहरूले यात्रुहरूसंँग तोकिएभन्दा बढी भाडा असुल्दै आएका छन् ।
अहिले टिंकर सडक खण्डमा दुहु गाउँपालिका–५ चल्यागाडासम्म यात्रुबाहक जिप चलिरहेका छन् । बर्षात नभएसम्म यही सडकको पिपलचौरीसम्म ३ सयमा यात्रुहरूलाई लैजाने गरेका थिए । अहिले चल्यागाडासम्मको भाडा ३ सय तिर्नुपरेको स्थानीय धनसिंह महराले बताए । उनले भने, ‘यो तोकिएको भाडा दरभन्दा जिप व्यवसायी आफैले मनपरि भाडा असुल्छन् ।’ सरकारले सार्वजनिक सवारीसाधनमा भाडा बढाएपछि महाकाली बहुउद्देश्यीय यातायात कम्पनीले चल्लेगाडासम्मको भाडा १ सय २५ रुपैयाँ निर्धारण गरेको छ । तर, यहाँका जिप व्यवसायीहरू स्थानीय यात्रुबाट चर्को भाडा असुल्ने गरिरहेका छन् ।
५ सिट क्षमताको बलेरो जिपमा २० भन्दा धेरै यात्रु चढ्न बाध्य छन । ग्रामीण क्षेत्रका सबैजसो सडकमा यतिबेला गुड्ने सवारीले क्षमताभन्दा ५ गुणासम्म यात्रु चढाउने गरेका छन् । त्यतिमात्रै होइन, दोब्बर/तेब्बर भाडा लिएर यात्रुलाई ठगिरहेका छन् । टिंकर सडकमा मात्र होइन्, यातायात व्यवसायीहरूले जिल्लाका महाकाली लोकमार्ग बाहेकमा सडकमा तोकिएकोभन्दा बढी भाडा असुल गर्ने गरेको मार्मा गाउँपालिका–३ का दीपेन्द्र विष्टले बताए । ‘ठाउँमा नपुगी भएन,’ उनले भने, ‘भेडाबाख्राझैं कोचिएर दोब्बर/तेब्बर भाडा तिर्नुपरेको छ ।’
पैदल हिँड्नुभन्दा गाडीमा यात्रा गर्नुपर्ने बाध्यताले यातायात व्यवसायीले भनेअनुसारको भाडा दिनुपरेको छ । अप्ठ्यारो बाटो र लामो समयसम्म हिँड्नुभन्दा बढी भाडा तिरेर सदरमुकाम आउन बाध्य भएको उनको भनाइ छ । जिप व्यवसायीहरू कच्ची र अप्ठ्यारो सडकको बाहना बनाएर बढी भाडा भन्ने गरेका छन् । एक गाडी नभरुन्जेल दोस्रो चल्न नमान्ने हुँदा अगाडि पछाडिको भाडा असुल हुने गरी मात्र जिप चल्ने प्रवृत्ति मौलाएको स्थानीय भोजराज जोशीले बताए । ग्रामीण सडकमा नियमनकारी निकायको उपस्थिति हुँदैन । स्थानीय नागरिक उजुरी गर्न पनि सक्दैनन् । जिप व्यवसायीले बढी भाडा असुल गरेको भन्दै दुहुका स्थानीयले जिल्ला प्रशासन कार्यालयलाई लिखित जानकारी गराए पनि त्यसको सुनुवाइ हुन नसकेको स्थानीयको गुनासो छ ।
स्थानीयले प्रशासनलाई निवेदन दिएपछि एक/दुई दिन रिङनेताल र बांगाबगरसम्म आएर ट्राफिक प्रहरी हेर्न गरेको थियो । त्यसपछि कुनै वास्ता गरेको छैन । बढी भाडा दिएको कसैले उजुरी दिए कारबाही गर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बढी भाडा दिएको उजुरी कसैको आएको छैन । ट्राफिक जनशक्ति कम भएकाले सबै सडकहरूमा निगरानी गर्न नसकिएको दार्चुला प्रहरीका डीएसपी मनोहरप्रसाद भट्टले बताए । बेला–बेलामा प्रहरीलाई समेत नागरिकका गुनासा आए बुझ्न लगाएको उनले बताए ।
बढी यात्रु बोकेर ग्रामीण कच्ची बाटोमा ओहोरदोहोर गरिरहेका दृश्य भेटिन्छन् । ५ सिटको मात्रै क्षमता भएका यस्ता जिपले यात्रुसंँगै जिपमा अटेसम्मको सामानसमेत बोकेको पाइएको छ । जिप भित्र र साइडमा मात्रै नभएर छतभरि यात्री कोचेर कच्ची बाटोमा मुस्किलले गन्तव्यमा पुग्न हतारिएका यात्ररलाई सम्भावित जोखिमबारे भने कुनै प्रवाह छैन । वर्षाको बाढी र पहिरोले भत्किएर सडक सवारी गुड्न सक्ने अवस्थामा छैनन् । बाढीले खोल्सा पारेको सडकमा माटोले पुर्दै र धकेल्दै यात्रुलाई गन्तव्यमा पुग्नुपरेको छ ।