दार्चुलामा बाढीले क्षति गरेको सडक निर्माण गरिँदै
2023/02/22, 9:57
 
gtrrrrrrytryuyth

लास्कु खोलामा भदौ २४ गते आएको बाढीले क्षति गरेको सडक संरचना निर्माण गरिन लागेको छ । २०७० सालको महाकाली बाढी र भदौको लास्कु खोलाको वाढीले क्षतिग्रस्त भएको क्षेत्रमा सडक निर्माण कार्य भइरहेको महाकाली करिडोर सडक योजनाले जनाएको छ ।

लास्कु खोला आसपास क्षेत्रमा दुहु, व्यास एवं नौगाड जोड्ने सडक बाढीले बगाउँदा दुहुमा खोलाबाट र नौगाडमा साँघुरो गल्लीबाट साना गाडी चलाउँदै आएका छन् । अहिले खोलामा पानीको बहाव कम हुँदा गाडी चलाउन मिलेको छ । वर्षात्भरि बाढीले सडक बगाएपछि सवारीसाधन चलाउन बन्द भएका थिए । महाकाली र लास्कु खोलाको बाढीले दार्चुला सदरमुकामको बंगाबगर क्षेत्रमा क्षतिग्रस्त बनाएको सडक निर्माण कार्यले गति लिएको हो ।

बंगाबगरको नदी किनार क्षेत्रको क्षतिग्रस्त सडकलाई चाँडो निर्माण गर्न प्राथमिकताका साथ काम भइरहेको सडक योजना प्रमुख लक्ष्मणदत्त जोशीले बताए । ‘गत भदौमा लास्कु खोलाको बाढी आएलगत्तै सडक निर्माणका लागि असोज महिनामा टेन्डर निकालेका थियौं’ उनले भने, ‘खरिद प्रक्रिया पूरा गर्न मात्रै समय लाग्यो, अहिले यस क्षेत्रमा द्रुतगतिमा काम भइरहेको छ ।’ दुई ठेक्कामार्फत लास्कु खोलादेखि रिङ्ने तालसम्म सडक निर्माण कार्य भइरहेको छ । ‘पुलघाटछेउदेखि लास्कु खोलाछेउसम्मको ८ सय ८० मिटर लामो क्षेत्रमा कंक्रिटको संरचना बनाइँदै छ’ योजना प्रमुख जोशीले भने, ‘यसमध्ये दशरथ नगर स्कुलको तलतिरको क्षेत्रमा १ सय ५० मिटर लामो कंक्रिट आरसीसी पर्खालको संरचना बनाइनेछ ।’

दुई महिनाअघि मंसिर ८ गते ठेक्का सम्झौता गरिएकामा अहिले करिब ३० प्रतिशत निर्माण कार्य भएको छ । यस क्षेत्रको सडक संरचना निर्माणका लागि आर एन्ड सीएस राष्ट्रसेवा जेभी डडेलधुरासँंग सम्झौता गरिएको छ । २०८० असार ८ गतेसम्म ठेक्का अवधि छ ।

सडक निर्माण कार्यका लागि ८ करोड ३६ लाख २० हजार बढीको निर्माण कम्पनीसंँग ठेक्का सम्झौता भएको सडक योजना कार्यालयले जनाएको छ । महाकाली नदी किनारमा बनाइएको तटबन्धको संरचना छेउछाउ भएर सडक निर्माण गरिने भएको छ । ‘केही ठाउँमा जमिन साँघुरो भएकाले तटबन्धको सर्भिस रोड र करिडोर सडक एउटै बन्छ’ योजना प्रमुख जोशीले भने, ‘बांबगरको कैलाशपति आधारभूत विद्यालय छाङरु स्कुल नजिकको क्षेत्रमा तटबन्धको सर्भिस रोडमै सडकको संरचना बनाइन्छ । तटबन्धको संरचनाको भित्रपट्टिबाट सिमेन्ट कंक्रिट प्लम्प वाल निर्माण गरिनेछ ।’ तटबन्धको अहिलेको सर्भिस रोडबाट डेढ मिटरदेखि १० मिटरसम्म उचाइको सिमेन्ट कंक्रिट वाल निर्माण गरिने उनको भनाइ छ । सडक योजना कार्यालयका अनुसार अहिले लास्कु खोलाछेउमा सिमेन्ट कंक्रिट वाल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । लगत्तै दशरथनगर स्कुल र छाङरु स्कुलको पछाडिको क्षेत्रमा पनि निर्माण कार्य चलेको छ ।कान्तिपुर