चर्को ब्याजदरविरूद्ध डडेल्धुरामा पनि आन्दोलन चर्किदै, भोलि बजार बन्द
2023/03/03, 3:02
 
चर्को ब्याजदरविरूद्ध डडेल्धुरामा पनि आन्दोलन चर्किदै, भोलि बजार बन्द

डडेल्धुरा - बैंक तथा वित्तीय संस्थाविरुद्ध डडेल्धुरामा उद्योगी व्यवसायीको आन्दोलन जारी छ । डडेल्धुरा उद्योग वाणिज्य संघको अगुवाइमा स्थानीय उद्योगी,व्यवसायी र नागरिक समाजले दिनैपिच्छे आन्दोलन जारी राखेका हुन् ।

१६ गतेदेखि आन्दोलित व्यवसायीले आज जिल्ला सदरमुकाम बागबजारबाट र्‍याली सुरू गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि कोणसभा गरेका छन् । अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकलाई ज्ञापनपत्र पनि बुझाइएको डडेल्धुरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दीपकबहादुर महताले जानकारी दिए । 

उनका अनुसार प्रमुख जिल्ला अधिकारीमार्फत् माग सम्बोधनका लागि ज्ञापनपत्र पठाइएको हो ।

शनिबार दिनभर बजार बन्द रहने पनि महताले जानकारी दिए । व्यापारीहरूले एकल अंक हुनेगरी ब्याजदर घटाउन,व्यवसायीलाई मानसिक तनाव दिने प्रवृत्तिको अन्त्य गर्न, किस्ता र ब्याजको समय सीमा बढाउने लगायतका ७ बुँदे माग अघि सारेका छन् ।

यस्तै, सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि उद्योगी व्यवसायीले प्रदर्शन गरेका छन् । बैंकहरूले चर्को ब्याज लिएको भन्दै व्यवसायीले  शुक्रबार बिहान बजार परिक्रमा गरि सडक अवरोध गर्दै व्यवसायी धर्नामा बसेका थिए ।

सुदूरपश्चिम उद्योग वाणिज्य महासंघ,कैलाली उद्योग वाणिज्य संघलगायतका व्यवसायिक संघसंस्थाले ७ प्रतिशत ब्याजदरमा लिएको ऋणमा हाल १५ प्रतिशत पुर्‍याइएको भन्दै बैंक तथा वित्तीय संस्थाविरुद्ध आन्दोलन गर्दै आएका छन् ।