कञ्चनपुर - कुनै समय हिसाबकिताब लेनदेन सबै पनि भारुमै हुन्थ्यो । रातबिरात बिरामी भए भारत जानुको विकल्प थिएन । नेपालतर्फ आउनुपरे पनि भारतीय सीमा सुरक्षा बल (एसएसबी) सँग हारगुहार गर्नुपर्थ्यो । महाकालीपारिको नगरपालिका दोधारा–चाँदनीको यो कथा अहिले फेरिएको छ ।
आफ्नै भूमिमा आउजाउ गर्नसमेत भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता हटेको छ । महाकाली नदीमा चार लेनको पक्की पुल निर्माणसँगै दोधारा–चाँदनीले कोल्टे फेरेको हो । अहिले आउजाउका लागि मात्रै नभएर दोधारा–चाँदनीमा भएको उत्पादन महेन्द्रनगरसम्म ढुवानी गर्नसमेत सहज भएको छ । ६४ वर्षीय रमेश चन्द अहिले पनि ती दिन बिर्सिएका छैनन् । आफ्नै जिल्लाको सदरमुकाम पुग्नसमेत भारतीय बाटो प्रयोग गर्नुपर्थ्यो । बिरामी बोकेको एम्बलेन्स एसएसबीले घण्टौं रोकेर हारगुहार गर्नुपर्थ्यो । अहिले उनकै आँगनमा ६ लेनको कालोपत्रे सडक पुगेको छ । नजिकै चार लेनको पक्की पुलबाट सहजै महाकाली तरेर महेन्द्रनगर पुग्न सकिन्छ ।
४५ वर्षअघि बैतडीको तल्लो स्वराड क्षेत्रबाट बसाइँ सरेर दोधारा–चाँदनी पुग्दा आफैंलाई अनौठो लाग्ने ठाउँ हेर्दाहेर्दै गुल्जार बनेको छ । पछिल्लो समय चार लेनको पुलदेखि सुक्खा बन्दरगाहलगायतका राष्ट्रिय गौरवका आयोजनाहरू निर्माण हुन थालेपछि अझ चहलपहल बढेको छ ।‘दोधारा–चाँदनी यस्तो होला भन्ने मैले त सोचेको पनि थिइनँ,’ चन्दले भने, ‘किनमेल मात्रै होइन औषधि उपचारदेखि कारोबारसमेत भारुमै हुने यहाँको अवस्था अहिले बदलिएको छ ।’ उनका अनुसार अहिले दोधारा–चाँदनीमा कारोबार नेपालीमै हुन थालेको छ । किनमेल र उपचार पनि स्वदेशमै भइरहेको छ । दुई दशकअघि दोधारा–चाँदनीलाई मूलधारमा जोड्नका लागि दुई दशकअघि निर्माण भएको झोलुंगे पुलले केही राहत दिएको थियो । त्यसअघिसम्म उक्त क्षेत्रमा नेपाली नम्बरका सवारीसाधन वा अन्य साधनसमेत चल्दैनथे । झोलुंगे पुल निर्माणपछि मात्रै नेपाली नम्बरका मोटरसाइकल देखिन थालेको चन्द बताउँछन् । त्यसपछि मात्रै उक्त क्षेत्रमा नेपालीको कारोबार बढ्न थालेको हो ।
‘पक्की पुल निर्माणसँगै सुक्खा बन्दरगाहको हल्लाले समेत यहाँ चहलपहल बढाएको छ,’ दोधारा–चाँदनी नगरपालिका १ चाँदनीका महावीर चन्दले भने, ‘पुल निर्माणपछि धेरै सजिलो भएको छ, यहाँको साग तरकारीदेखि दूधसमेत महेन्द्रनगर पुगेको छ ।’ उनका अनुसार दुईरचार वर्षअघिसम्म पनि दोधारा–चाँदनीमा उत्पादन भएको दूध, तरकारी र खाद्यान्न बिक्रीमा समस्या थियो । दूध भारततर्फ जान्थ्यो भने तरकारी साइकल र मोटरसाइकलमा महेन्द्रनगर पुग्थ्यो । तर पक्की पुल सञ्चालनमा आएसँगै दूध मात्रै होइन तरकारी र खाद्यान्न बिक्रीमा समेत सहज भएको छ ।
दोधारा–चाँदनी परवल उत्पादनका लागि चिनिन्छ । भारतले क्वारेन्टाइन जाँचका नाममा परवलमा रोक लगाएपछि परवल उत्पादन कम भएको थियो । अहिले पुनः यसतर्फ कृषकहरू आकर्षित भएका छन् । राज्य पुनःसंरचनासँगै स्थानीय तहका जनप्रतिनिधिहरू आएपछि सडक, पुल पुलेसादेखि अन्य विकास निर्माणका गतिविधिहरू भइरहेका छन् । ५ वर्षअघिसम्म प्रायः कच्ची सडक मात्रै रहेको दोधारा–चाँदनीमा अहिले अधिकांश सडक कालोपत्रे भएका छन् । मूल सडकसँगै शाखा सडकहरू पनि कालोपत्रे हुने क्रममा रहेका छन् । यसले समेत स्थानीय स्तरमा विकासको अनुभूति गराएको स्थानीय उत्तरदेव भट्ट बताउँछन् ।
महाकालीमा पक्की पुल निर्माणाधीन अवस्थामै छ । पुलमा आवागमन सुचारु भए पनि पहुँच मार्गलगायत आयोजनाको अन्य काम चलिरहेको छ । पुल निर्माणसँगै विगत लामो समयदेखि उठेको सुक्खा बन्दरगाहको चर्चाले पनि यस क्षेत्रमा आशा जगाएको छ । थप विकास निर्माणसँगै व्यापार व्यवसायमा पनि दोधारा–चाँदनीले फड्को मार्ने स्थानीयको अपेक्षा छ । ‘त्रिदेशीय नाका बनाउँछु भन्छन्, यसले पनि स्थानीयमा आशा पलाएको छ,’ चन्द भन्छन्, ‘सुक्खा बन्दरगाह बनेपछि यो क्षेत्र साँच्चै त्रिदेशीय नाका बन्नेछ ।’ कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाका टिंकर जोड्ने महाकाली करिडोर निर्माणाधीन अवस्थामा छन् । कान्तिपुरबाट