लगातारको खडेरीले सुक्न थाले खोला
2023/03/07, 5:58
 
लगातारको खडेरीले सुक्न थाले खोला

दार्चुला - कहिले नसुक्ने खोला यो वर्ष लगातारको खडेरीले सुकेका छन्। दार्चुलाको लेकम गाउँपालिका–५ का स्थानीय शम्भुराज जोशीका अनुसार वर्षभरि कलकल पानी बग्ने विभिन्न स्थानका खोला यो वर्षको खडेरीले सुकेका छन्। 

हिउँदमा वर्षा नहुँदा अधिकांश खोलानाला सुकेका छन्। खडेरीले धेरै ठूलो प्रभाव पारेको छ। खडेरीका कारण खोलानाला सुकेपछि पानीको समेत अभाव हुन थालेको छ। सुक्खा खडेरीका कारण जनजीवन र वातावरणमा नराम्रो प्रभाव बढ्दै गएको लेकम–५ कै अर्का स्थानीय दिलेन्द्रप्रसाद भट्टले बताए । 

मैखोलीका वर्षभरि बग्ने खर्क खोला, सउडेगाड खोला, त्रिशूली खोलालगायत विभिन्न खोलामा पानी सुकिसकेको उनले बताए। खोलामा पानी सुकेसँगै वन्यजन्तुलाई समेत पानीको अभाव भएको छ। जङ्गली जनावर पानीका लागि गाउँघरमा आउने क्रमसमेत बढ्न थालेको स्थानीय बताउँछन्। रिठाचौपाताका स्थानीय ईश्वर दमाईले भन्नुभयो, “कहिलेकाहीँ आकाशमा बादल आउँछ तर पानी पर्दैन। यो वर्ष पानी अभावमा काकाकुल हुनुपर्ने अवस्था आएको छ।” 

खोलानाला मात्र होइन खडेरीका कारण ठूला नदीमा समेत पानी घट्दै गएको छ। यो वर्ष वर्षा र हिमपात नहुँदा नदीमा पानीको मात्रा घट्न थालेको हो। दार्चुलामा पर्ने दुई ठूला नदी महाकाली र चौलानीमा समेत विगतभन्दा पानी घटेको मार्माका स्थानीय इन्द्रसिंह विष्टले जानकारी दिनुभयो। खोलानाला र नदीका स्रोत भनेकै हिमाल र पानीका मूल हुन्। लामो समयसम्म वर्षा र हिमपात नहुँदा हिमालमा हिउँ घटेको र पानीका मूलसमेत सुक्न थालेको उहाँले बताए। 

यो वर्षको खडेरीले कहिले नसुक्ने पानीका मूलसमेत सुक्न थालेपछि पानीको अभाव हुन थालेको छ। पानीका मुहानमा पानी सुक्दै गएकाले आगामी महिनामा खानेपानीको हाहाकार हुने भन्दै स्थानीय चिन्तित छन्। धेरै महिनापछि गत साता हल्का वर्षा भए पनि त्यसले धुलोसमेत बसेन। पछिल्ला वर्षको हावापानी परिवर्तन हुँदै गएको छ। चैत, वैशाखमा फुल्ने लालीगुँरास माघ महिनामै फुलिसकेका छन्, गर्मी बर्सेनि बढ्दै गएको छ, पानीका मूल घट्दै गएका छन्। 

अपिहिमालका स्थानीय पार्वती रोकायले भने, “मौसम पहिलाको भन्दा निकै फरक छ। पोहोरको साल निकै हिउँ प(यो। त्योभन्दा दुईरतीन वर्षअघि फेरि सामान्य मात्रै प(यो। यो वर्ष त अहिलेसम्म गाउँमा हिउँ नै देख्न पाइएन।”

उनले भने, “हिउँ पर्न थालेपछि कहिले घरभित्रै थुनिनुपर्ने र कुनै बेला बस्तीबाहिर जान नसक्ने अवस्था हुन्थ्यो। अहिले त्यति धेरै चिसो अनुभूति भएन।”

हिउँदे वर्षा र हिमपात नहुँदा खेतबारीमा सुक्खा खडेरी परेको छ। सुक्खा खडेरीका कारण खेतमा लगाएको अन्नबाली सबै सुकेपछि भोकमरीको चिन्ता लाग्न थालेको स्थानीयले बताएका छन्। सुक्खा खडेरीका कारण पानीका मुहान सुक्नुका साथै धुलोमाटो उडेर वायु प्रदूषणसमेत बढ्दै गएको बताइन्छ।