असारे विकासको नमुनाः प्रयोग नगर्दै वडा कार्यालयहरुका सेफ्टी ट्याङ्की भत्किए
2020/06/30, 6:21
 
tanki

घोडघोडी नगरपालिका ७ मा स्टिमेट अनुसार योजना निर्माण कार्य नहुदा आयोजना नै भत्किएको छ । वडाको भवन निर्माण कार्य सम्पन्न भईसक्दा शौचालयको सेफ्टी ट्याङ्की निर्माणको अन्तिम चरणमा आईपुग्दा भत्किएको छ । स्टिमेटमा सेफ्टी ट्याङ्कीमा इट्टा प्रयोग गर्नुपर्ने भएपनि ब्लक प्रयोग गर्दा भत्किएको स्थानीयले बताएका छन् । यस्तै घोडाघोडी नगरपालिका वडा नम्बर ५ र १२ को सेफ्टी ट्याङ्कीमा पनि स्टिमेट अनुसार काम नभएको पाइएको छ । तीन ठाउँमा नै वडा कार्यालय भवन निर्माणको जिम्मा पाएको पार्वती निर्माण सेवाले तिन स्थानकै शौचालयको सेफ्टी ट्याङ्की भने स्टिमेट अनुसारको इट्टा प्रयोग नगरी ब्लक प्रयोग गरिएको छ ।

1

घोडाघोडी नगरपालिका वडा नम्बर ७ का अध्यक्ष धनबहादुर बमले आफुले पटक पटक स्टिमेट अनुसार इट्टाको प्रयोग गर्न आग्रह गर्दा पनि ठेकेदारले नमानेको बताए । केहि दिन अघि पनि वडा नम्बर १२ मा निर्माणको अन्तिम चरणमा पुगेको सेफ्टी ट्याङ्की भासिएको स्थानीयले बताएका छन् । स्टिमेट अनुसार इट्टा प्रयोग नगरिएको हुँदा सेफ्टी ट्याङ्की भासिएको हो । वडा नम्बर १२ का अध्यक्ष पर्ना चौधरीले भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको र ब्लक प्रयोग गरेर बनाइएको सेफ्टी ट्याङ्कीलाई पुनः इस्टिमेट अनुसार इट्टाको प्रयोग गरी निर्माण गर्नका लागि दबाब दिईरहेको बताए ।

वडा न ५ मा पनि सेफ्टी टयाकी निर्माण कार्य सम्पन्न भइसके पनि भासिने अवस्थामा पुगिसकेको स्थानीयले बताएका छन् । वडाध्यक्ष प्रेम रोकायाले पनि स्टिमेट अनुसार इटाको प्रयोग नगरी ब्लकको प्रयोग गरिएको बताए । पार्वती निर्माण सेवाले वडा नम्बर ५ ,७ र १२ को क्रमशः ९० लाख १५ हजार, ८९ लाख १० हजार र ९० लाख ८९ हजारमा वडाका भवन निर्माणको कार्य गरिरहेको छ । पार्वती निर्माण सेवाका संचालक नन्द सिंह जोराले स्टिमेट अनुसार इट्टा प्रयोग नगरी ब्लक प्रयोग गरिएको स्वीकार गरेका छन् । घोडाघोडी नगरपालिकाका ईन्जिनियर नबिन मल्लले स्टिमेट अनुसार काम नहँुदासम्म भुक्तानी रोकिने बताए । स्टिमेट अनुसार काम नभए पुनः निर्माण कार्य गर्न लगाईने घोडाघोडी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रबहादुर सिंहले बताए ।