बुडर-जोरायल सडक : ठेक्का म्याद ४ महिना बाँकी, प्रगति १० प्रतिशत
2023/03/08, 1:20
 
बुडर-जोरायल सडक : ठेक्का म्याद ४ महिना बाँकी, प्रगति १० प्रतिशत

डोटी - तीन वर्षमा कार्य सम्पन्न हुने गरी २०७७ सालअसार ३० गते सम्झौता भएको बुडर-जोरायल सडकको रिठा-चन्कट्टे खण्डमा हालसम्म १० प्रतिशत मात्रै काम भएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष ०७६/०७७ को वजेटमार्फत उक्त सडक स्तरोन्नतिको काम ठेक्का सम्झौता भइ निर्माण कम्पनीशर्मा-राजेन्द्र जेभीले सम्झौता भएकै दिन साइड र कार्यादेश पाएको थियो । उक्त सम्झौता अनुसारको म्याद ०८० असार २९ गते सम्पन्न हुँदैछ । काम भने १० प्रतिशत मात्रै भएको पूर्वाधार विकास कार्यालय, डडेल्धुराले जानकारी दिएको छ ।

‘हालसम्म वित्तीय प्रगति १० प्रतिशत मात्रै भएको छ, भौतिक प्रगति पनि १०/१२ प्रतिशत नै होला,’ कार्यालय प्रमुख नवराज रावल भन्छन्, ‘अब तोकिएको समयमा काम सम्पन्न हुने सम्भावना न्यून छ ।’

उनले ठेकेदारको लापरबाहीकै कारण सडक स्तरोन्नतिको कार्य ढिलो भएको वताए । उनी भन्छन्,’अहिले पनिकाम सुरु भएको छैन, निर्माण कम्पनीले होलीलगत्तै काम सुरु हुन्छ भनेको छ ।’

आफू कार्यालय प्रमुख भएर आएको एक महिना मात्रै भएको बताउँदै रावलले आउने बित्तिकै निर्माण कम्पनीलाई ढिलाइ हुनुको कारणवारे स्पष्टीकरण सोधेको जानकारी दिए ।

स्पष्टीकरणमा निर्माण कम्पनीले कोभिड महामारीका कारण निर्माण कार्यमा ढिलाइ भएको उल्लेख गरेको रावल बताउँछन् । उनी भन्छन्, ‘होलीलगत्तै काम सुरु गर्ने र तिव्र गतिमा निर्माण कार्य अगाडि बढाउने स्पष्टीकरण पत्रमाउल्लेख भएको छ, त्यसो भएन भने फेरि अन्यप्रक्रियामाजानु पर्ला ।’

निर्माण कम्पनी भने ठेक्का सम्झौताको म्यादभित्रै काम सम्पन्नहुने दाबी गर्छ । ‘विविध कारणले निर्माण कार्यमा केही ढिलाइ भएको हो’ निर्माण कम्पनीका प्रतिनिधि रोशन भट्ट भन्छन्, ‘तर असार मसान्तभित्रै हामीकाम सम्पन्न गछौं ।’

उनले १० किलोमिटरमध्ये ८ किलोमिटरमा सबै काम भइसक्ने र बाँकी २ किलोमिटरमा बिबाद भएका कारण अलि ढिलो हुने बताए । उनी सडकमा अहिले कामभइरहेको दाबी गर्छन् । उनले थपे ‘अहिले काम सुरु भइसकेको छ, होलीलगत्तै थप जनशक्ति र उपकरण परिचालन हुन्छन् ।’

सडक निर्माणका लागि पटक पटकआग्रह गर्दा पनि ठेकेदारले निर्माण कार्यमा ढिलाइ गरेको जोरायल गाउँपालिका-४ का वडाध्यक्ष नन्दराज भट्ट बताउँछन् ।

ठेक्का अन्तरगत नदी किनारमा निर्माण गर्नु पर्ने पर्खाल निर्माण नहुँदा स्थानीयवासीका घरसमेत नदी कटानको जोखिममा परेका गाउँपालिकाका प्रवक्ता समेत रहेका भट्ट बताउँछन् ।

उनले भने, ‘सम्झौता गरेर चुपचाप बसिराख्ने ठेकेदारलाई कानून बमोजिम कारबाही हुनुपर्छ ।’