बन्द रहेको तिंकर नाका सञ्चालनका लागी चिनियाँ राजदूतसँग माग
गाउँपालिकाका अध्यक्ष धामी नेतृत्वमा पहल
2023/03/30, 12:14
 
बन्द रहेको तिंकर नाका सञ्चालनकालागी चिनियाँ राजदूतसँग माग

दार्चुला - दार्चुलाका व्याँस बासीले बन्द रहेको तिंकर नाका सञ्चालनकालागी चिनियाँ राजदूतसँग माग राखेका छन्। छिमेकी देश चीनसँग सीमा जोडिएको दार्चुलाको व्याँस गाउँपालिकाका स्थानिय र जनप्रतिनिधिले बुधबार नेपालका लागि चिनियाँ राजदूत चेन सोङसँग भेटघाट गर्दै सो माग राखेका हुन्।

व्याँस गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामी नेतृत्वमा गएको टोलीले काठमार्डौँमा चिनियाँ राजदूतावासमा भेटवार्ता भएको छ । टोलीले तीन वर्षदेखि बन्द अवस्थामा रहेको तिंकर नाका खोल्नुपर्ने माग बुझाएका छन्। नाका नखुल्दा व्यापार, व्यवसाय प्रभावित भएको भन्दै व्यापारी चिन्तित छन्। व्याँस गाउँपालिकाका अध्यक्ष धामीले कोरोनाका बेला बन्द भएको सो नाका कोरोना सामान्य भइसक्दा खुल्न नसकेको बताए। नाका बन्द हुँदा तिब्बती बजार ताक्लाकोटसँगको परम्परागत व्यापार, व्यवसाय हुन नसकेको र कैलाश मानसरोवर दर्शनका लागि जान नसकेको उनले बताए।चिनियाँ राजदूत सोङले मागपत्र बुझ्दै नाका खोल्न चीन सरकार सकारात्मक रहेको र नाका खोल्न पहल भैरहेको व्याँस गाउँपालिकाका अध्यक्ष धामीले बताए।अध्यक्ष धामी नेतृत्वको टोलीमा पूर्वमन्त्री तथा दार्चुलाका निर्वतमान संघीय सांसद गणेशसिंह ठगुन्ना, नाकासँग जोडिएको वडाका जनप्रतिनिधि र व्यापारी पनि उपस्थीती रहेको थियो । भेटघाट र छलफलमा चीन सरकारको सहयोगमा गर्न सकिने विकास, योजनाका बिषयमा पनी छलफल गरिएको बताइएको छ।

पालिकाले लामो समयदेखि नाका खोल्न माग गर्दै आएको छ। व्याँस गाउँपालिका–१ तिंकर गाउँबाट करिब डेढ–दुई घण्टाको पैदल यात्रापछि तिंकर नाका पुग्न सकिन्छ। सरकार एवं सरोकारवालाहरुको आगमन पर्खिरहेको ‘तिंकर नाका’ सञ्चालनमा ल्याउन चाँडोभन्दा चाँडो अगाडि बढाउनु जरुरी छ। त्यसो गर्न सकियो भने नेपाली बजारमा भारतीय एकाधिकार तथा नाकाबन्दीको वार्गेनिङ घट्ने स्थानियको बिश्वास रहेको छ। पश्चिम नेपालका लागि तिंकर नाका एउटा कोशेढुंगा सावित हुनेछ। तसर्थ, पश्चिम नेपालको नेपाल-चीन व्यापार सम्बन्ध बढाउन र व्यापारमा भारतीय एकाधिकारको अन्त्य गर्न ‘तिंकर नाका’ खोल्नेतर्फ सरकारको ध्यान जान जरुरी छ ।