बैतडीमा काल बन्दै कच्ची सडक
2023/04/05, 6:11
 
ss

बैतडीमा पछिल्लो ९ महिनामा सडक दुर्घटनामा परेर ७ जनाको मृत्यु भएको छ । विभिन्न सवारी दुर्घटनामा परेर सोही अवधिमा ४१ जना घाइते भएका छन् । अधिकांश सवारी दुर्घटना ग्रामीण कच्ची सडकमा हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ । चालु आर्थिक बर्षको साउनदेखि चैत तेश्रो साता सम्म ११ ओटा सवारी दुर्घटना भएका र ती मध्ये ९ ओटा ग्रामीण कच्ची सडकमा भएका जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक दशरथ नाथले बताए । 

पालिकाहरुले बनाएका कच्ची सडकहरुमा बढी जसो दुर्घटना हुने गरेका छन् । ग्रामीण कच्ची सडकहरु साँघुरो हुनु, मोड सुधार नहुनु, ग्रेड अनुसार सडक नहुनु, सवारी साधन पुराना हुनु लगायतका कारणले सवारी दुर्घटना बढ्दै गएका नाथले बताए । उनले भने ‘अधिकांश सवारी दुर्घटना ग्रामीण कच्ची सडकमा भएका छन् । कच्ची सडकहरु सवारी साधन सञ्चालनका लागि उपयुक्त नहुँदा यस्ता घटना बढी हुँदै आएका छन् ।’

गएको सोमबार मात्रै देहीमाण्डौं–गिरेगडा सडकमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भयो भने १४ जना घाइते भए । जिपको बे्रक फेल भएपछि जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ । कच्ची सडकमा जिपले लोड धान्न नसकेपछि दुर्घटना भएको सो दुर्घटनामा हाम फालेर ज्यान जोगाएका गोपालदत्त भट्टले बताए । हाम फालेर ज्यान जोगाएका भट्टले ग्रामीण कच्ची सडकमा ट्राफिक नियमको पालना नहुँदा बढी दुर्घटना हुने गरेको बताएका छन् । उनले भने ‘सोमबारको जिप दुर्घटनामा म भाग्यले बाँचेको मान्छे हुँ । कच्ची सडकहरुमा क्षमताभन्दा बढी यात्रु बोक्दा पनि दुर्घटना हुने गरेका छन् ।’

चालु आर्थिक बर्षको ९ महिना भएका ११ सवारी दुर्घटना मध्ये ७ ओटा जिप दुर्घटनामा परेका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नाथले बताए । यसै अवधिमा दुईओटा मोटरसाइकल र एक ट्याक्टर दुर्घटनामा परेका नाथले बताए । स्थानीय तहहरुले खनेका ग्रामीण कच्ची सडकहरु स्तरोन्नतीमा ध्यान नदिँदा दुर्घटनाको जोखिम बढ्दै गएको छ । कतिपय ठाउँमा बिना स्टमेट खनिएका सडकहरुले मानिसको अकालमै ज्यान जाने गरेको छ ।

सडकहरु समयमै स्तरोन्नती नहुँदा दुर्घटनाको जोखिम बढ्दै गएको सुर्नया ३ का केशव भट्टले बताए । उनले भने ‘ग्रामीण सडक सुधार नहुँदै सवारी साधन चलाउने हतारो हुन्छ । सवारी साधन चल्न थालेपछि धेरै नागरिकले गाडीमै यात्रा गर्न चहान्छन् । ग्रामीण कच्ची सडकहरु सुधार नहुँदा दुर्घटनाको जोखिम बढ्दै गएको छ ।’ ग्रामीण कच्ची सडकहरुमा पुराना सवारी साधन सञ्चालन गर्नुले पनि दुर्घटनाको जोखिम बढ्दै गएको छ । सवारी साधन पुराना भएपछि गाउँका सडकमा सञ्चालन गर्ने गरेकाले दुर्घटना हुने गरेको पाटन ६ का केशव खत्रीले बताए ।