सुदूरपश्चिममा थप ३६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७८२३ पुग्यो
2020/10/04, 8:03
 
corona

कैलालीका २८ सहित सुदूरपश्चिम प्रदेशमा आईतवार ३६ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालसहितका प्रयोगशालामा भएको परीक्षणमा थप ३६ जनामा संक्रमण पुष्टि भएको हो । कैलालीका २८, कञ्चनपुरका सात र दार्चुलाका एक जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

सेती अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा चार सय ६ जनाको कोरोना परीक्षण भएकोमा थप २५ जनामा संक्रमण पुष्टि भएको छ। सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा मात्रै आईतवार २५ जना कोरोना भाईरसका नयाँ संक्रमित थपिएका छन्।  धनगढी उप–महानगरपालिका वडा नम्वर १ का ६ जना, वडा नम्वर २ का सात जना र वडा नम्वर ३ का दुई जनामा संक्रमण पुष्टि भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए। 

उनका अनुसार धनगढी उप–महानगरपालिका ४ र ५ का एकरएक जना, वडा नम्वर ७ का दुई जनावडा नम्वर १५ का चार जना र वडा नखुलेका एक जनामा संक्रमण पुष्टि भएको छ। कैलालीको टीकापुरका दुई जना, गोदावरीका एक जना, कञ्चनपुरको बेदकोटका चार जना, बेलौरीका दुई जना र पुनरवासका एक जनामा संक्रमण पुष्टि भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी श्रेष्ठले बताए। 

उता बैतडीमा गरिएको परिक्षणमा थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो। दुई सय दुई जनाको कोरोना परीक्षण गर्दा दार्चुलाका ३० वर्षीय पुरुषमा संक्रमण भेटिएको जिल्ला अस्पताल बैतडीका मेडिकल रेकर्डर मोहनसिंह ठगुन्नाले जानकारी दिए। डडेल्धुरा अस्पतालमा ७५ जना र बझाङ जिल्ला अस्पतालमा ६३ जनाको कोरोना परीक्षण भएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ। 

योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या सात हजार ८ सय २३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कैलालीका दुई हजार ६ सय ५३, डोटीका एक हजार एक सय ६, अछामका एक हजार ८१, कञ्चनपुरका ८ सय ६९ र बाजुराका ६ सय ३२ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै बझाङका पाँच सय ९५, बैतडीका चार सय १९, डडेल्धुराका तीन सय ५ट र दार्चुलाका एक सय १२ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएका मध्ये ६ हजार ५सय बढिले कोरोना जितेका छन्। २३ जना संक्रमितको मृत्यु भएको छ।