पश्चिम सेती विद्युत् प्रसारण, दुईवटा कम्पनीद्धारा वातावरणीय अध्ययन सुरु
विज्ञसहितका दुई टोली डडेलधुरामा
2023/04/22, 12:12
 
विज्ञसहितका दुई टोली डडेलधुरामा

डडेलधुरा - पश्चिम सेती चार सय केभी विद्युत् प्रसारण आयोजनाको काम सुरु भएको छ । बझाङ जिल्लाबाट डोटी, डडेलधुरा हुँदै कञ्चनपुरसम्म प्रसारण लाइन निर्माणका लागि काम सुरु भएको हो ।राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले प्रस्तावित आयोजनाका लागि हाल वातावरणीय अध्ययन (प्रारम्भिक वातावरणीय परीक्षण)को कार्य गर्न दुईवटा कम्पनी खटाएको छ ।

आयोजनाको काम दुई खण्डमा हुन लागेको जानकारी डिभिजन वन कार्यालय डडेलधुरालाई भएको वन अधिकृत रामविचारी ठाकुरले बताए । उनका अनुसार डडेलधुराको नवदुर्गा गाउँपालिका, गन्यापधुरा गाउँपालिका, आलिताल गाउँपालिका र परशुराम नगरपालिका भएर प्रसारण लाइन कञ्चनपुर पु(याउने प्रस्तावना गरिएको छ । वन क्षेत्रको अध्ययन गर्न दुईवटा कम्पनीका विज्ञसहितको टोली डडेलधुरा पुगेको उनले बताए ।

नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत आयोजनाको काम सुरु गरिएको पत्र प्राप्त भएको जानकारी उनले दिए । अध्ययनका लागि नेपाल विद्युत् प्राधिकरण, विद्युत् उत्पादन कम्पनी लिमिटेड, राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड र जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडको सेयर लगानीमा स्थापित सरकारी स्वामित्व र नियन्त्रणमा रहेको सार्वजनिक निकाय एनईए इन्जिनियरिङ कम्पनी लिमिटेड र इटेको–आरआईएमसी श्रेष्ठ जेभी कम्पनीले अध्ययन थालेको छ ।

प्रश्चिम सेतीसँगै बझाङ जिल्लामा निर्माण भइरहेका जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि प्रसारण आयोजनाको काम थालिएको अध्ययन गरिरहेको एनईए इन्जिनियरिङ कम्पनी लिमिटेडका वनविज्ञ कृष्णप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार बझाङको जयपृथ्वी नगरपालिका–१ देखि डोटीको शिखर नगरपालिका–१०, वनलेकसम्म करिब ६० किलोमिटर दूरीको प्रसारण आयोजना एनआईए इन्जिनियरिङले निर्माण गर्नेछ । यो कम्पनीले १४८ टावर निर्माण गर्नेछ । यसको प्रभावित क्षेत्र डडेलधुरा जिल्लाको नवदुर्गा गाउँपालिका–४ रहेको छ । नवदुर्गा गाउँपालिका–४ मा चारवटा टावर पर्नेछ ।

शिखर नगरपालिका–१०, वनलेकदेखि कञ्चनपुरको बेदकोट नगरपालिका–२, छेलासम्म करिब ६५ किलोमिटर दूरीको प्रसारण आयोजना अर्को कम्पनी इटेको–आर आईएमसी श्रेष्ठ जेभीले निर्माण गर्ने गरी अध्ययन थालेको छ । यो कम्पनीले १५७ वटा टावर निर्माण गर्नेछ । यसको प्रभावित क्षेत्र डडेलधुराको गन्यापधुरा, आलिताल गाउँपालिका र परशुराम नगरपालिका रहेको छ ।कञ्चनपुरको दैजी छेलामा प्रस्तावित न्यु अत्तरिया–दैजी सबस्टेसन ४०० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण तथा सञ्चालन प्रसारण लाइनको क्षेत्राधिकार ४६ मिटर फराकिलो रहनेछ । लाइनको दायाँरबायाँ २३र२३ मिटर रहने वन डिभिजन कार्यालयलाई पठाइएको पत्रमा उल्लेख छ ।