दार्चुलामा बँदेलको आक्रमणबाट ५ जना घाइते
2023/04/26, 2:29
 
दार्चुलामा बँदेलको आक्रमणबाट ५ जना घाइते

दार्चुला - दार्चुलामा बँदेलको आक्रमणबाट पाँच जना घाइते भएका छन्। दार्चुलाको मालिकार्जुन गाउँपालिका–६ उकुमा बँदेलको आक्रमणबाट पाँच जना घाइते भएका हुन् । सुरक्षाकर्मीहरु परेड खेलिरहेको अवस्थामा बँदेलले एक्कासी आक्रमण गर्दा स्थानीय र सुरक्षाकर्मीहरु घाइते भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार मंगलबार बिहान सशस्त्र प्रहरीका हवल्दार र जवानहरु परेड गरिरहेका बेला बँदेलले आक्रमण गरेको थियो ।सुरक्षाकर्मीहरू नजिकै रहेका अन्य तीन जना स्थानीयलाई समेत बँदेलले आक्रमण गरी घाइते बनाएको प्रहरीले जनाएको छ।

सिंहका अनुसार बँदेलको आक्रमणबाट सशस्त्र प्रहरीका हवल्दार गोपाल साउद, सशस्त्र प्रहरीका जवान हरिस बुडाल, ६५ वर्षीय स्थानीय जसोद सिंह महरा, २१ वर्षीय आयुष पाल र ५० वर्षीय रतन पार्की घाइते भएका छन्। घाइतेमध्ये रतन पार्कीलाई थप उपचारका लागि धनगढी लगिएको छ। अन्य घाइतेको स्वास्थ्य अवस्था समान्य रहेको प्रहरीले जनाएको छ। आक्रमण गर्ने बँदेलबाट प्रतिरक्षा गर्ने क्रममा स्थानीय र डिभिजन वन कार्यालय दार्चुलाका कर्मचारीहरुले बँदेललाई मारेको प्रहरीले जनाएको छ ।