साना योजना सम्पन्न, ठूला अधिकाङ्श अधुरै
2020/07/02, 11:24
 
bikash

कैलारी गाउँपालिकामा चालू आर्थिक वर्षमा संचालित साना योजना सम्पन्न भएका छ्न । कोभिड-१९ का कारण विकास निर्माणको कार्य धेरै हदसम्म प्रभावित भए पनि साना योजना सम्पन्न भएका हुन ।  १५ लाखभन्दा बढी रुपैयाँको ठूला अधिकाङ्श योजना भने  आर्थिक मसान्तभित्र सम्पन्न नहुने स्थिति रहेको गाउँपालिकाका योजना शाखा प्रमुख सन्तोषकुमार चौधरीले बताए । 

"कल्भर्ट, हल निर्माण जस्ता साना योजना सम्पन्न भइ सकेका छ्न", उनले भने । "तर, कालोपत्रे लगायतका ठूला योजनाको काम पूरा भएको छैन ।" आर्थिक मसान्तसम्म केहि काम हुने भए पनि ठूला धेरै योजनाहरुको काम सम्पन्न नहुन सक्ने अवस्था अनुगमनको क्रममा देखिएको चौधरीले बताए । यसैगरी, केहि योजनाको काममा त्रुटि देखिएपछि सुधार गर्नका लागि  अनुगमन समितिले निर्देशन दिएको योजना शाखा प्रमुख चौधरीले बताए । 

यसैबीच, गाउँपालिकास्तरिय अनुगमन समितिका संयोजक एवम गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी सत्गौवाको नेतृत्वमा विभिन्न योजनाको अनुगमन गरिएको छ । समितिले वडा नम्बर ४ स्थित जनकल्याण माविको भवन, स्वास्थ्य चौकी भवन, भितरिया चौकदेखि सुन्दर शक्ति खेलमैदानसम्म सडक कालोपत्रे निर्माण कार्यको अनुगमन गरेको हो । 

यसैगरी, वडा नम्बर ६ स्थित सरस्वति माविको भवन, वातावरण बचत तथा ऋण सहकारी संस्था, वडा नम्बर २, ३ र ४ बसौटीदेखि के गाउँसम्म जोड्ने सडक स्तरोन्नतिको समितिले अनुगमन गरेको छ । यस्तै, उजलिसेमर-बसौटी-सुर्मीनाला पुलसम्म जोड्ने सडक स्तरोन्नति, वडा नम्बर २ मा सभा हल भवन निर्माण, 
सडक ग्राभेल र माटो पटान कार्यको अनुगमन गरिएको छ । यसैगरी, वडा नम्बर २ स्थित विचैपुर माविको भवनको पनि अनुगमन गरिएको छ । 

अनुगमन टोलीमा समितिका सदस्यद्वय रन्जिता चौधरी, खडक बिक, योजना शाखा प्रमुख सन्तोषकुमार चौधरी, प्राविधिक सुनिल चौधरी लगायतका सहभागी थिए ।