कैलालीमा साढे नौ सय खरका छाना विस्थापन गरिने भएको छ । जनता आवास कार्यक्रमअन्तर्गत कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा ९४९ घरका छाना फेरिने भएका हुन्। निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गतका चार स्थानीय तहमा खरले छाएको घरको छाना फेर्न पहिलो चरणमा बजेट विनियोजन गरिएको छ।
तीन वर्षभित्र देशभरका सबै खरका छाना विस्थापन गरिने केन्द्रीय सरकारको नीतिअनुसार कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा आगामी आर्थिक वर्षका लागि ती घर परेको प्रतिनिधि सभा सदस्य झपट रावलले बताए। स्थानीय तहको सिफारिसमा आफ्नो पहलमा छनोटमा परेका प्रतिघरलाई ५० हजारका दरले रकम दिइएको सांसद रावलले जानकारी दिए।
सोअनुसार आगामी आर्थिक वर्षमा लम्किचुहा नगरपालिकामा ३०२, मोहन्या गाउँपालिकामा ३३८, बर्दगोरिया गाउँपालिकामा १५६ र जानकी गाउँपालिकामा १५३ घरका खरका छाना विस्थापन गरिने भएको छ। रासस