सुबिधामा बिभेद गरिएको भन्दै डडेल्धुराका बिद्यालय कर्मचारी आन्दोलित
2023/06/09, 1:33
 
ddfdgh

आफ्ना माग सरकारले सुनुवाइ नगरेको भन्दै डडेल्धुराका सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी आन्दोलित भएका छन् । प्रधानाध्यापकलाई विद्यालयको चाबी बुझाएर कर्मचारी आन्दोलनमा उत्रेका हुन् । उनीहरुले बिहीबार शिक्षा समन्वय इकाई डडेल्धुरामा धर्ना पनि दिएका छन् ।

धर्नापछि आयोजित विरोधसभालाई सम्बोधन गर्दै विद्यालय कर्मचारीले सामुदायिक विद्यालयमा कार्यरत लेखापाल र सहयोगी कर्मचारीहरुलाई सरकारले सामान्य सेवासुविधा नदिएर विभेद गरेको बताएका छन् । नेपाल विद्यालय कर्मचारी युनियन डडेल्धुराका सदस्य नरेश ऐरले सरकारको नीति तथा कार्यक्रममा समावेश गरेका कार्यक्रम बजेटमा नपरेको भन्दै प्रधानाध्यापकलाई विद्यालयको चाबी बुझाएर आन्दोलनमा उत्रिन बाध्य भएको बताए ।

सेवासुविधा र सामाजिक सुरक्षाको ग्यारेन्टी सरकारले नगरेपछि आन्दोलन गर्नुपरेको उनको तर्क छ । माग सुनुवाइ नभए असार २ गतेदेखि विद्यालय ठप्प पार्ने चेतावनीसमेत कर्मचारीहरुले दिएका छन् । विद्यालय कर्मचारीहरूले सहायक लेखापालहरूका लागि ३४ हजा सात सय ३० तलब र दुई हजार महंगी भत्तासहित ३६ हजार सात सय ३० र विद्यालय सहयोगीहरूका लागि २४ हजार दुई सय १० तलब तथा दुई हजार महंगी भत्ता गरी २६ हजार दुई सय १० पाउनुपर्ने माग राखेर धर्ना दिइरहेका छन्। यस्तै युनियनको परशुराम नगर कार्यसमितिले नगरपालिकामा धर्ना दिँदै विरोध कार्यक्रम गरेको छ ।