भजनी नगरपालिका–४ खैलाडकी भारती चौधरीले बारीमा टन्न खरेला फलाएकी छन् । व्यावसायिक रूपमा तरकारी उत्पादन गर्न थालेकी उनले भिण्डी, बोडी, खुर्सानी, काउली, बन्दा, काँक्रा, तरभुज, खुर्सानी पनि लगाएकी छन् ।
उनको तरकारी नजिकैको भजनी, झल्झलिया, सुख्खड बजारमा बिक्री हुन्छ । तर उनले तरकारीको भाउ कहिल्यै नपाएको बताउँछिन् । बजारमा अहिले पनि २५र३० रुपैयाँमा बिक्री हुने बन्दा किलोको आठ रुपैयाँका दरले बिक्री गरिरहेको भारतीले बताइन् । अहिले बजारमा ३० रुपैयाँ प्रतिकिलोको दरमा बिक्री भइरहेको करेला १० रुपैयाँमा बिक्री भइरहेको उनले बताइन् ।
उनले आफूलाई फुटकर बेच्न जाने समय नहुने भएकाले व्यापारीलाई सस्तोमा बिक्री गर्न बाध्य रहेको बताइन् । उनले आठ रुपैयाँको दरले बिक्री गर्दा पनि सबै बिक्री नभएर एक गडाको बन्दा सडेको बताइन् । अहिले करेला पनि बिक्री नभएर बारीमा छिप्पिँदै गएको उनले बताइन् । भजनी नगरपालिका–५ पचमुरियाका खुशीराम डगौराको बारीमा लगाएको बन्दा अहिले पनि छँदैछ ।
१० कठ्ठा जमीनमा खेती गर्ने गरेका उनले पनि किलो ८र९ रुपैयाँमा बन्दा बेच्न बाध्य रहेको बताए । ३०र३५ हजार रुपैयाँ नगद लगानी गरेर तरकारी खेती गर्ने गरेका लगानीबाहेक आफ्नो मिहिनेत र जग्गाको भाडा उठ्न समस्या रहेको बताए । बर्खे, वैशाखे र हिउँदे तरकारीखेती गर्ने किसानले बजारमा तरकारीको माग हुँदाहुँदै पनि व्यापारीको अस्वस्थ प्रतिस्पर्धा र बढी कमाउने दाउका कारणले किसानले उत्पादनको भाउ पाउँदैनन् ।
स्थानीय उत्पादन हुँदाहुँदै बढी पैसा कमाउनका लागि भारतीय तरकारी बेच्ने र किसानको उत्पादन नउठाउने गरेकाले किसानले उत्पादन बारीमा सड्ने गरेको छ । किसानले उत्पादन बारीमै सड्ने डरले गर्दा सस्तोमा बिक्री गर्न बाध्य हुने गरेका छन् ।
बेमौसमी उत्पादन गर्नसक्ने किसानले मात्रै पाउँछन् भाउ
बर्खे, बैशाखे र हिउँदे तरकारी बढी मात्रामा उत्पादन हुने मौसम छलेर उत्पादन गर्न सक्ने किसानले कृषि उत्पादनको भाउ थोरै भए पनि पाउने गरेका छन् । मौसमी तरकारी उत्पादन हुनुभन्दा एक महिना अगाडि वा एक महिनापछि उत्पादन गर्नसक्ने किसानले आफ्नो उत्पादनको भाउ पाउने गरेका हुन् । तर यसरी उत्पादन गदाए बढी खर्च हुने गरेको छ ।
यसका लागि प्रविधि र बढि लगानी आवश्यक हुने गरेको गौरीगंगा नगरपालिका–१०, भगतपुरका किसान फिर्तुराम चौधरीले बताए । उनले चैत वैशाखमा उत्पादन हुने बोडी फागुनमै फलाएपछि आफूले १२० रुपैयाँ प्रतिकिलोका दरले भाउ पाएको बताए । उनले बजारमा साधारण किसानको भन्दा पहिले बजारमा उत्पादन ल्याउन चिसोमै बिउ रोप्नका लागि प्लास्टिक टनेल आवश्यक पर्ने गरेको बताए ।
त्यो टनेल बनाउन डेढ लाख रुपैयाँसम्म खर्च हुने गरेको उनले बताए । त्यसका साथै टनेलमा तरकारी खेती गर्न सीपसमेत आवश्यक पर्ने गरेको बताए । लगानी र सीप प्राप्त गरेका फिर्तुरामले मौसमीभन्दा बेमौसमी तरकारी खेतीमा बढी ध्यान दिने गरेका छन् । भजनी नगरपालिका–४, खैलाडका मनु डगौराले पनि बेमौसीम तेखीमा जोड दिने गरेका छन् ।
उनले पनि मौसमीभन्दा बेमौसमी तरकारीमा उत्पादनमा भाउ पाउने भएको हुनाले बेमौसमी तरकारी उत्पादनमा जोड दिने गरेका छन् । उनले बेमौसममा तरकारीखेती गर्नका लागि पुसको चिसोमा बिउ उमार्न निकै कठिन रहेको बताए । उनले चिसोमा बिउ उमार्नलाई उमस वातावरण बनाउन प्लास्टिक टनेलको सहारा लिने गरेका छन् ।
यसरी बेमौसममा बिउ उमार्न सबै किसानसँग टनेल बनाउन सक्ने पुँजी, सीप र सिंँचाइ सुविधाको अभाव छ । किसान फिर्तुरामले वर्षामा लौका उत्पादन गर्ने तयारी गरेका छन् । वर्षामा बढी पानी परे बोट मर्ने खतरा हुन्छ । त्यसका लागि पानी रोक्ने छाना र गर्मी बढी हुन नदिने टनेल आवश्यक पर्छ ।
एउटा बाली नसकिँदै अर्को बाली
घोडाघोडी नगरपालिका–८, आमफाँटाका किसान रेखा चौधरीले हिउँदमा टमाटर रोपेकी थिइन् । टनेलभित्र रोपिएको टमाटर टिपेर नसकिँदै उनले बोटमुनि काँक्रा रोपिन् । टनेलभित्र भएकाले पुस महिनाको चिसोमा पनि बिउ उम्रिएर फागुनै काँक्रा लगाउन सफल भएको उनले बताइन् ।
फागुन र चैत महिनामा काँक्रा टिपेर सकेपछि उनले त्यस ठाउँमा अहिले अर्को बाली उत्पादन गरेकी छन् । त्यो नसकिदै वर्षे बाली रोप्ने तयारी रहेको रेखाले बताइन् । घोडाघोडी नगरपालिका–५ देउकलियाका किसान देउपति चौधरीले दिउँदमा बन्दा रोपेकी थिइन् ।
उनले बन्दा टिपेर नसकिँदै बन्दाको छेउछेउमा खुसानीको बोट रोपिन् । उनले अहिले उनको खुर्सानी टिपेर सकिने बेला हुँदै गर्दा खुर्सानीको बोटमा पौडिने गरी बर्खे लहरेबाली लगाउने तयारी गरेकी छन् ।