कञ्चनपुरमा एक १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी, दुई जना पक्राउ
2023/07/04, 1:59
 
कञ्चनपुरमा एक १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी, दुई जना पक्राउ

धनगढी - कञ्चनपुरमा जबरजस्ती करणीका घटना बढेका छन्। बालिका, किशोरी र महिलामाथि हुने जबरजस्ती करणीका घटनामा वृद्धि भएको हो।

आइतबार राति मात्र एक किशोरी जबरजस्ती करणीमा परेकी छन्। १६ वर्षीया ती किशोरी जबरजस्ती करणीमा परेकी हुन्। जिल्लाको दोधारा–चाँदनी नगरपालिका–९ का २१ वर्षीय पवनप्रसाद उपाध्याय र २६ वर्षीय अमरबहादुर खत्रीले ती किशोरीलाई जबरजस्ती करणी गरेको खुलेको छ। जबरजस्ती करणीमा दुबै जना संलग्न रहेको भन्दै उजुरी परेपछि दुबै जनालाई प्रहरीले पक्राउ गरेको हो।

जबरजस्ती करणीमा परेकी किशोरीलाई दोधारा–चाँदनी नगरपालिका–५ हेल्थपोष्ट प्रकृति शुद्द डेरीको कोठाभित्र आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय दोधाराबाट खटिएको प्रहरी टोलीले अभियुक्त उपाध्याय र खत्रीलाई पक्राउ गरेको हो।
केहिदिन अघि मात्रै महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा थप एक जना पक्राउ परेका थिए।

४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भीमदत्त नगरपालिका–७ हल्दुखालका ४६ वर्षीय हरकसिँह महरालाई पक्राउ गरिएको थियो। खुट्टाको समस्याको कारण उपचार गर्न गएको बेलामा ती महिलालाई महराले आफ्नै मेडिकलमा जबरजस्ती करणी र कुटपिट समेत गरेको भन्ने उजुरीको आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो।

त्यस्तै सदरमुकाम महेन्द्रनगरस्थित महाकाली बाल अनाथालयका प्रमुख शंकरबहादुर चन्दले नाबालिकालाई पटकपटक करणी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ नै गरेको थियो। अनाथालयमा आश्रित १४ वर्षीया र १६ वर्षीया नाबालिकामाथि करणी गरेको अभियोगमा चन्दलाई यसअघि नै पक्राउ गरिएको थियो। समाज कल्याण अञ्चल बाल अनाथालय समाज कल्याण परिषद् अन्तरगतको सरकारी स्वामित्वको अनाथालय हो।