कैलालीमा ब्राउनसुगरसहित चारजना पक्राउ
2023/07/07, 3:03
 
कैलालीमा ब्राउनसुगरसहित चारजना पक्राउ

धनगढी - कैलालीमा ब्राउनसुगरसहित चारजना पक्राउ परेका छन् । कैलालीमा बिहीबार एकै दिन ब्राउनसुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

बिहीबार साँझ धनगढी उपमहानगरपालिका–३ ब्यारेल नजिकबाट ८०० मिलिग्राम ब्राउनसुगरसहित धनगढी उपमहानगरपालिका–२ बस्ने बर्ष २७ को रोहित बुढथापालाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिएको टोलीले शङ्का लागेर चेकजाँच गर्दा बुढथापाको साथबाट उक्त पदार्थ फेला परेपछि उनलाई पक्राउ गरेको हो ।

यसैगरि, बिहीबार साँझ नै त्रिनगर ब्यारेल नजिकबाट छ सय ३० मिलिग्राम ब्राउनसुगरसहित कैलालीको गोदावरी नगरपालिका–७ का २८ वर्षीय विनोद पुनमगर र गोदावरी नगरपालिका–२ बस्ने १८ वर्षीय विरेन्द्र बिष्टलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका गस्ती टोलीले शङ्काको आधारमा से २ प १६३८ नम्बरको मोटरसाईकलमा सवार दुबैजनाको खानतलासी गर्दा ब्राउनसुगर भेटिएपछि दुबैजनालाई नियनत्रणमा लिइएको प्रहरीले जनाएको छ। बिहीबार साँझ नै कैलालीको गोदावरी नगरपालिका–१ धनगढी रोडस्थित सार्थक होटलभित्र बसिरहेका गोदावरी नगरपालिका–५ गेटाका २८ वर्षीय दिपेन्द्र अवस्थीलाई एक सय ५० मिलीग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ । अवस्थीलाई पनि प्रहरीले शङ्काको आधारमा खानतलास गरेको थियो । पक्राउ परेका माथी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।