डेढ वर्षदेखि हवाई उडान बन्द, १६ करोडका संरचना प्रयोगविहीन
2023/07/31, 1:18
 
ss

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीको पाटनस्थित विमानस्थलमा डेढ वर्षदेखि हवाई उडान बन्द भएको छ । उडान बन्द हुँदा १६ करोड रुपियाँ खर्च गरेर बनेका विमानस्थल र टर्मिनल भवन लगायतका संरचना प्रयोगविहीन अवस्थामा पुगेका छन् ।  

तीन वर्ष अघि ११ करोड रुपियाँ खर्च गरेर २० मिटर चौडाइ र ५८० मिटर लम्बाई रहेको विमानस्थल  कालोपत्रे  गरिएको थियो । तयपछि पाँच करोड खर्च गरेर टर्मिनल भवनसमेत गरी यहाँ राज्यको १६ करोड रुपियाँ खर्च भएको छ ।  

धनगढी–बैतडी–धनगढी १७ मिनेट हवाई दूरीमा समिट एयरले चार हजार रुपियाँ भाडा लिएर उडान भर्दै आएकोमा २०७७ चैत १० गते यहाँ अन्तिम पटक उडान भएको  थियो । हवाई उडान बन्द हुँदा बैतडीबाट आकस्मिक रूपमा प्रदेश राजधानी धनगढी जाने यात्रु र बिरामी समस्यामा परेका छन् ।  

विमानस्थल कालोपत्रे हुँदा सुखी भएका बैतडीवासी उडान बन्द हुँदा निराश भएका छन् भने राज्यको करोडौँ रकम खेर गएको स्थानीय वसन्त विष्टले बताए । सरकारले हवाई सेवा सुचारु गर्न सरकारी एयरलाइन्सलाई जिम्मेवारी दिनुपर्ने उनले बताए । 

नागरिक उड्डयन प्राधिकरणले स्थापना गरेको यहाँको कार्यालय समेत बन्द छ । प्राधिकरणले खटाएका कर्मचारी कृष्णदत्त भट्ट सरुवा भएर अन्यत्र गएपछि पूर्णरूपमा ठप्प नै भएको हो । यता पाटन नगरपालिकाका उपप्रमुख कमल सिंह बोहराले निजी क्षेत्रका हवाई कम्पनीले महँगो भाडा लिएर सातामा एक पटक मात्र उडान भर्दा यात्रु अभाव भएकाले उडान बन्द गरेको बताए । नियमित सेवा दिन भाडादर कम गरेर सातामा तीन पटक उडान गर्नुपर्ने र नेपाल विमान एयरलाइन्सले तत्काल सेवा विस्तार गर्नुपर्ने माग उनले राखे । नेताहरूको जनतामा चुनावी नारा बनाएकाले यसलाई पूरा गर्नुपर्नेमा उनले जोड दिए । 

२०३६ सालदेखि २०५२ सालसम्म नियमित उडान हुने पाटन विमानस्थल द्वन्द्वका बेला २०५२ देखि बन्द थियो । विमानस्थल कालोपत्रे भएपछि डेढ वर्षअघि हप्ताको एक दिन बैतडी–धनगढी उडान भए पनि पनि पछिल्लो डेढ वर्षदेखि हवाई उडान ठप्प भएको छ ।हवाई उडान बन्द हुँदा दुर्घटनामा परेका व्यक्तिको आकस्मिक उद्धार गर्न कठिनाइ हुने गरेको छ ।