
काठमाडौं - ओकिनावा शिक्षा विभाग जापान र नेपालको एलआरआइ विद्यालयबीच विद्यार्थी शैक्षिक आदानप्रदान गर्ने सहमाति भएको छ।

जापानको प्रिफेक्चुरल एजुकेशन बोर्ड, ओकिनावा तथा ओकिनावा प्रिफेक्चुरल चान्टन सिनियर हाई स्कुल जापान, ओकिनावा शिक्षा विभागको निमन्त्रणामा जापान भ्रमणमा गएको एलआरआई विद्यालयका पदाधिकारीसँगको भेटमा उक्त सहमति भएको हो।
जापानको ओकिनावा शिक्षा विभागले एलआरआइ विद्यालयको सहकार्यमा नेपालका ग्रामिण क्षेत्रका विद्यालय र विद्यार्थी लक्षित शैक्षिक गतिविधिमा सहयोग गर्न इच्छुक रहेको बताएको छ। भेटका क्रममा विद्यालयका प्रिन्सिपल डा. देवकान्त जोशीले नेपालको शिक्षा नीति र शैक्षिक क्षेत्रको बारेमा कार्यपत्र प्रस्तुत गरेका छन्।

भेटमा जापानको प्रतिनिधि मण्डलले नेपाल भ्रमण गरी एलआरआइ विद्यालयसँग विद्यार्थी आदानप्रदान गर्ने सम्बन्धी सम्झौता गरिने प्रतिवद्धता जनाइएको छ। एलआरआइ विद्यालयले यसअघि नै विश्वका १८ देशका विद्यालयबीच शैक्षिक आदानप्रदान कार्यक्रममा आपसी सम्झौता गरिसकेको छ।
यस्तो कार्यले आफ्ना विद्यालयमा अध्यययनरत विद्यार्थीहरूलाई ग्लोबल सिटीजनको अवधारणामा उत्प्रेरित गर्ने विश्वास लिएको विद्यालयका प्रमुख प्रशासकीय अधिकृत दीपक जोशीले बताए। भ्रमणका क्रममा प्रतिनिधि मण्डलले ओकीनावका चान्टन सिनियर हाइस्कुल जापान र ओकीनावा शिक्षा विभागले स्थापना गरेको विशाल पुस्तकालयको अवलोकन गरेको छ।