सुदूरपश्चिम प्रदेशमा कर्मचारी सरूवामा मनपरि, मन्त्री तथा नेतृत्वको स्वार्थमा काम
2023/10/06, 12:17
 
ss

स्वास्थ्य कार्यालय बाजुरा साढे २ वर्षदेखि प्रमुखविहीन छ। ८ औं तहका वरिष्ठ जनस्वास्थ्य अधिकृत प्रमुख हुने भएपनि प्रदेश सरकारले कर्मचारी नपठाउँदा हेल्थ असिस्टेन्ट महेश चन्द साढे २ वर्षदेखि निमित्त प्रमुख छन् । भदौ २९ मा प्रदेशको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य सेवातर्फका कर्मचारीको सरुवा गरेको छ तर स्वास्थ्य कार्यालय बाजुराको प्रमुखका रुपमा कसैलाई पठाएको छैन।

प्रदेश सरकारले बनाएको कर्मचारी सरुवा तथा काजसम्बन्धी मापदण्ड–२०८० को अनुुसूची १ अनुसार बाजुरालाई भौगोलिक रुपमा ‘क’ वर्गमा राखिएको छ । सो मापदण्डको दफा ४ मा सेवा प्रवाहको चाप अत्यधिक हुने कार्यालय तथा ‘क’ र ‘ख’ वर्गमा पर्ने कार्यालयमा पद रिक्त नहुने गरी सरुवा तथा पदस्थापन गर्नुपर्ने उल्लेख गरिएको छ ।

सो मापदण्डको दफा ३ को उपदफा २ को क मा ‘क’ र ‘ख’ वर्गमा कार्यरत कर्मचारीलाई सामान्यतया डेढ वर्ष अवधि पूरा भएमा सरुवामा प्राथमिकता दिने उल्लेख छ । तर स्वास्थ्य कार्यालय बाजुरामा साढे २ वर्षदेखि दरबन्दीअनुसारको प्रमुख विहीन छ भने हेल्थ असिस्टेन्ट निमित्त भएर काम गरिरहेका छन्। सामाजिक विकास मन्त्रालयसँग स्वास्थ्य कार्यालय बाजुरा पठाउन ८ औँ तहको वरिष्ठ जनस्वास्थ्य अधिकृत नभएका पनि होइनन् ।

प्रदेश स्वास्थ्य तालिम केन्द्रमा कार्यरत वरिष्ठ जनस्वास्थ्य अधिकृत रमेश कुँवरले स्वास्थ्य कार्यालय बाजुरा जाने इच्छा गर्दै मन्त्रालयमा धेरै पटक निवेदन समेत दिएको पाइएको छ । तर मन्त्रालयले उनको सरुवा स्वास्थ्य कार्यालय दार्चुलामा गरेको छ भने त्यहाँ कार्यरत वरिष्ठ जनस्वास्थ्य अधिकृत जयराज भट्टलाई स्वास्थ्य निर्देशनालय डोटी पठाएको छ ।कुँवरले सरुवा तथा पदस्थापन मापदण्ड–२०८० को दफा ४ को उपदफा ९ अनुसार वैदेशिक अध्ययन समेत पूरा गरेका थिए ।

उक्त दफामा तीन महिनाभन्दा बढी अवधिको स्वदेश तथा वैदेशिक अध्ययन वा तालिम पूरा गरी फर्केका कर्मचारीलाई पद रिक्त भएसम्म ‘क’ र ‘ख’ वर्गमा सरुवा गर्ने व्यवस्था गरिएको छ । कुँवरको निवेदन तथा योग्यता मात्र होइन मन्त्रालयले उनकै तहका अन्य कर्मचारीको समेत त्यहाँ सरुवा गरेन । ‘घर पायक पनि पर्ने भएकाले मैले बाजुरा जस्तो दुर्गम जिल्लामा सेवा गर्छु भनेर मन्त्रालयमा चार पटकसम्म निवेदन दिएको छु तर मेरो सरुवा दार्चुला गरिएको छ’, वरिष्ठ जनस्वास्थ्य अधिकृत कुँवरले भने, ‘साढे २ वर्षदेखि निमित्तको भरमा रहेको स्वास्थ्य कार्यालय बाजुरामा सिनियर कर्मचारी नपठाइनुको कारण के होला रु’ कुँवरले सरुवा मापदण्ड, भौगोलिक अवस्थिति र योग्यताका हिसाबले आफू बाजुरा जान योग्य भएको दाबी गरे ।

प्रदेश प्रमुखको स्वार्थ( स्रोतकाअनुसार बाजुरा घर भएका प्रदेश प्रमुख देवराज जोशीले प्रमुख स्वकीय सचिव गोविन्द साउदमार्फत सामाजिक विकास मन्त्रालयलाई स्वास्थ्य कार्यालयमा सिनियर कर्मचारी नपठाउन दबाब दिएका थिए । अहिलेका निमित्त प्रमुख महेश चन्दलाई सम्बन्धित कार्यालयमै रोक्न र अरुलाई नपठाउन दबाब दिएको मन्त्रालय स्रोत बताउँछ ।साउदले भने यो आरोपलाई अस्वीकार गर्छन् । कर्मचारी सरुवा गर्ने विषय मन्त्रालयको क्षेत्राधिकारभित्र पर्छ । त्यसमा हाम्रो कुनै भूमिका हुदैन’, साउँदले भने, ‘मैले दबाब दिएको, आर्थिक चलखेल गरेका जस्ता कुरामा भ्रममा नपर्न आग्रह गर्छु ।’

प्रदेशको सामाजिक विकास मन्त्रालयले दरबन्दी नै नभएको कार्यालयमा कर्मचारीको सरुवा गरेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयमा कार्यरत क्षयकुष्ठ निरीक्षक अधिकृत मनोज ओझाको जिल्ला अस्पताल डोटी सरुवा गरेको छ । जबकी जिल्ला अस्पतालमा क्षयकुष्ठ निरीक्षक अधिकृतको दबरन्दी नै छैन ।‘मन्त्रालयले मेरो सरुवा जिल्ला अस्पताल डोटीमा गरेको छ । दरबन्दी नै नभएको अस्पतालमा गएर हामीले के काम गर्ने हो रु,’ ओझाले भने, ‘यो कुरामा ध्यान दिनुपर्ने थियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निवेदन दिएको छु तर अहिलेसम्म कुनै सुनवाइ भएको छैन ।’

उनी मात्र होइनन्, अर्का क्षयकुष्ठ निरीक्षक अधिकृत दिपेन्द्र रावलको महाकाली प्रादेशिक अस्पताल, खोप सुपरभाइजर हरिश भट्टको टीकापुर अस्पतालमा सरुवा गरिएको छ । जबकी त्यहाँ उनीहरुलाई मिल्ने दरबन्दी छैन ।‘म खोप सुपरभाइजर हो । प्रदेश सरकारले मेरो सरुवा टीकापुर अस्पतालमा गरेको छ त्यहाँ दरबन्दी नै छैन’, भट्टले भने, ‘कार्य विवरणअनुसार हामीले जिल्लाभरको खोपको मनिटिरिङ, सुपरभिजन गर्ने, बेला बेला स्याम्पल सर्भे गर्ने, खोप दिने स्वास्थ्यकर्मीलाई तालिम दिने गर्छौं । अस्पतालमा हाम्रो काम केही पनि हुँदैन ।’

संघीय सरकारले अर्को व्यवस्था नभएसम्मका लागि भन्दै पठाएको सिनियर अनमी निरीक्षक पुष्पा अवस्थी जोशीको पनि प्रदेशको सामाजिक विकास मन्त्रालयले सरुवा गरिदिएको छ ।प्रदेश सरकारले संघीय सेवा अन्तर्गतका कर्मचारीलाई चलाउन नपाइने व्यवस्था विपरीत फाजिलमा मन्त्रालयमा कार्यरत जोशीको महाकाली प्रादेशिक अस्पताल कञ्चनपुर सरुवा गरिएको हो ।‘म संघीय सरकार अन्तर्गतको कर्मचारी हुँ । मलाई कामकाजका लागि यहाँ पठाएको थियो । स्वास्थ्य समस्याका कारण समायोजनको फाइल पनि अघि बढेको छैन ।

अझै समय लाग्छ भन्नुभएको छ’, जोशीले भनिन्, ‘तर प्रदेशले मेरो सरुवा महाकाली अस्पताल गरिदिएको छ । ढाडको समस्याले जान सक्ने अवस्था छैन ।’जोशीले पनि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निवेदन दिएकी छन् तर अहिलेसम्म कुनै सुनवाइ भएको छैन ।सामाजिक विकास मन्त्रालयका सचिव ज्ञानप्रसाद ढकालले कर्मचारी सरुवामा केही त्रुटी भएको स्वीकार गरे । ढकालले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आउने निर्देशनबमोजिम त्रुटी सच्याइनेसमेत बताए ।

‘काम गर्ने बेला कर्मचारीहरुले ध्यान नपुगेका कारण एकरदुई जनाको हकमा त्रुटी भएको हुनसक्छ । उहाँहरुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी दिनसक्ने प्रावधान छ’, ढकालले भने, ‘उजुरी परेमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट कुनै निर्देशन भए सो बमोजिम गर्छौं ।’जथाभावी सरुवाबाट पीडित बनेका कर्मचारीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा निर्णय सच्याउन माग गर्दै निवेदन दिएका छन् तर सुनवाइ भएको छैन ।प्रदेश सरकारका प्रमुख सचिव नारायणप्रसाद शर्मा दुवाडीले विषयगत मन्त्रालयले गरेको कर्मचारी सरुवा सम्बन्धी निर्णयविरुद्ध परेका उजुरीमाथि अध्ययन भइरहेको बताए । उजुरीमाथि अध्ययन सकिए पछि सम्बन्धित मन्त्रालयलाई आवश्यक निर्देशन दिइने उनी बताउँछन् ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सरुवा सम्बन्धी निर्णय नसच्याएमा अदालत जाने कर्मचारीहरुले बताएका छन् । साभार अनलाईन खवर