सुदूरपश्चिम युवा परिषदका कार्यकारी उपाध्यक्ष युवराज कुँवरले अनेरास्वियुका केन्द्रिय सदस्य हेमन्त रेग्मीलाई ज्यान मार्ने धम्की दिएको आरोप लागेको छ । सरकारी गाडीको दुरुपयोग गर्दै आफुलाई ज्यान मार्न खोजेको केन्द्रिय सदस्य रेग्मीले फेशबुकमा स्टाटस नै लेखेका छन् । कुँवरले आफुले नै हाकिरहेको गाडीले नियतबस ठक्कर दिन खोजेको र चक्का मोडेर तलाई मार्छु भन्दै धम्की दिएको रेग्मीको आरोप छ ।
उनले फेशबुकको स्टाटसमा लेखेको छन्– ‘आज बिहान करिब ९ बजे आसपास धनगढी स्थित चौलानी डिपार्टमेन्टल स्टोरको पार्किङ क्षेत्रबाट निस्किदै गर्दा मलाई युवा परिषद सुदुरपश्चिमका कार्यकारी उपाध्यक्ष युवराज कुँवरले आफुले नै हाकिरहेको सरकारी गाडीले नियतबस ठक्कर दिन खोजे र म अगाडी बढ्दा गाडी अगाडी बढाए र पछाडी जान खोज्दा चक्का मोडे र तलाई मार्छु भन्दै धम्की समेत दिए । जसरी हुन्छ मलाई मार्ने अथवा तर्साउने के नियतबस उनले त्यो काम गरे । सो का विरुद्ध मैले जिल्ला प्रहरी कार्यलय कैलालीमा निवेदन हालीसकेको र उक्त सिीसिीटिभी फुटेज समेत प्रहरिलाई उपलब्ध गराईदिनु हुन माग गरेको छु ।’ रेग्मी यसअघि शुक्रबार पनि आफुलाई हातपात गरेको आरोप लगाएका छन् । उनले आफुलाई अपहरण गर्ने खोजेको बताए ।
यता सुदुरपश्चिम युवा परिषद्का कार्यकारी उपाध्यक्ष युवराज कुँवरले भने आफुले ज्यान मार्ने धम्की नदिएको प्रतिक्रिया दिएका छन् । आफ्नो बारेमा सार्वजनिक रुपमा कुरा काट्दै हिड्न थालेपछि सम्झाएको कुँवरले बताए । जिल्ला प्रहरी कार्यालय कैलालीले भने यस बारेमा ठाडो निवेदन आएको जनाएको छ ।