चाँडो शव नेपाल ल्याइदिनुहोसः मृतकका परिवार
2023/10/09, 7:06
 
ss

दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ टकनाका २५ वर्षीय दिपेशराज बिष्टकी आमा अहिले अस्पतालमा छिन् । इजरायलमा छोराको मृत्यु भएको खबर छिमेकी तथा सामाजिक सञ्जालबाट पाएपछि वेहोस बनेकी उनलाई अस्पताल भर्ना गरिएको हो ।

दार्चुलाबाट महेन्द्रनगर जान भनेर हिडेकी विष्टकी आमा बेहोस भएपछि गोकुलेश्वरमा स्लाइन पानी दिएर भर्ना गरिएको छ । प्रमुख जिल्ला अधिकारी किरण जोशीसहितको टोलीले विष्टकी आमालाई भेट्दा भनिन –‘अब जे हुन् भइनै सक्यो । जतिसक्दो चाँडो शव नेपाल ल्याइदिनुहोला ।’ 

पढाईसंगै कमाउने रहरले इजरायल पुगेका विष्टले पहिलो तलब नपाउँदै ज्यान गुमाउनु परेको छ । विष्टले असोज ३ गतेदेखि आफ्नो काम सुरु गरे । काम गरेको एक महिना पूरा हुन नपाउँदै अचानक भएको अप्रिय घटनामा उनको मृत्यु भएको छ ।

विष्टसंगै इजरायलमा गएका दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ४ का लोकेन्द्रसिंह धामी पनि मारिएका छन् । ऋण निकालेर कमाउने र पढ्ने भन्दै विदेश पुगेका धामीले पहिलो तलब पठाउन नपाउँदै ज्यान गुमाएका हुन् । धामीका नाता पर्ने काका किसनसिंह धामीले भने –‘ऋण निकालेर विदेश गएको हो । अब परिवारलाई थप आर्थिक समस्या झेल्नुपर्ने अवस्था रहेको छ ।’

बाँजका लोकेन्द्रको घरमा श्रमिती ९मञ्जु धामी० १४ महिनाका छोरा सुप्रिम र ५ बर्षकी छोरी जेनिसा रहेका छन् । परिवारको कान्छो छोरा रहेका लोकेन्द्रको मृत्युले हजुर आमा हजुरबुवा, आमाबुवा, दाई श्रीमती छोराछोरीमा रुवाबाँसी छ । ‘परिवारको कान्छो छोरा, छोराछोरीको, आमाबुवा, बुढेसकालका हजुरआमा हजुरबुबाको लोकेन्द्र सहरा थिए,’ धामीले भने, ‘आशा, भरोसा श्रीमती र छोरीको भबिष्य हेर्नका लागि ईजरायल पुगेको भतिजो प्रदेशकै भुमिमा अस्तायो ।’ किसन धामीले लोकेन्द्रको परिवारको आर्थिक अवस्था कमजोर भएका कारण सबैलाईलाई सहयोगका लागि आग्रह गरेको बताए ।

शव ल्याउन पहल गरिनेछः प्रजिअ
शनिबार बिहान प्यालेस्टायनी उग्रवादी संगठन हमासले गरेको आक्रमणमा परी इजरायलमा ज्यान गुमाएकामध्ये दार्चुलाका दीपेश राज विष्ट र लोकेन्द्र धामीको परिवारलाई प्रमुख जिल्ला अधिकारीसहतिको टोलीले भेटघाट गरेको छ । सोमबार दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशी, सशस्त्र प्रहरीको नम्बर ४४ गणका गणपति तथा एसपी डम्बरबहादुर विष्ट, जिल्ला प्रहरी कार्यालय दार्चुलाका डीएसपी शिवबहादुर सिंह र राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुख डीएसपी भगिन्द्रबहादुर चन्दसहितको टोलीले सोमबार मृतकको परिवारसँग भेटघाट गरेको हो ।

सोमबार धामीको परिवारलाई घरमै पुगेर सीडीओसहितको टोलीले भेटघाट गरेको थियो । त्यतिबेला परिवारका सबै सदस्य विक्षिप्त अवस्थामा थिए । पीडित परिवारले जतिसक्दा चाँडो शव नेपाल ल्यादिन सीडीओसहितको टोलीसँग आग्रह गरेको थियो । भेटमा प्रजिअ जोशीले नेपाल सरकार तथा सीडीओ कार्यालयबाट गर्नुपर्ने काम र पहलमा कुनै कमी हुन नदिई आफू लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

पीडित परिवारलाई सान्त्वना दिँदै उनीहरुले आफूहरुका तर्फबाट गर्न सकिने जति पहल गर्ने भन्दै जतिसक्दो चाँडो अब नेपाल ल्याउन सहयोग गर्ने बताए ।  दार्चुलाका यी दुई जनासँगै कैलालीको घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, बझाङको जयपृथ्वी–६ का गणेशकुमार नेपाली, कैलालीकै आशिष चौधरी, धनुषाका आनन्द साह, सुनसरीका राजेश कुमार स्वर्णकार, डोटीका राजन फुलारा र पदम थापा र सल्यानका प्रवेश भण्डारीको मृत्यु भएको पुष्टि भइसकेको छ ।

सारदा–२ सल्यानका विधान सेजुवाल, दगिशरण–३ दाङका प्रविण डाँगी घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ बताइएको छ । गोरखा–८ गोरखाका हिमाञ्चल कट्टेलको पनि उपचार भइरहेको छ भने टीकापुर–९ कैलालीका धनबहादुर चौधरी उपचारपछि  डिस्चार्ज भएका छन् ।