‘नमस्ते मेयर’ धनगढीमा ३२५ गुनासा दर्ता
2023/10/13, 10:11
 
ss

‘नमस्ते मेयर’ अन्तर्गत धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको गुनासो सुन्ने अनलाइन माध्यमबाट तीन सय २५ गुनासा दर्ता भएका छन्। नगरको विकास, आर्थिक, सामाजिक, भौतिक लगायत विषयमा नगरप्रमुखलाई सम्बोधन गरेर उपमहानगरमा गुनासाहरु दर्ता गरिएका हुन्। २०८० बैशाखमा १८ गुनासा दर्ता भएकामा १० वटा गुनासाको समाधान गरिएको छ। जेठ महिनामा ३२ गुनासा दर्ता भएकामा १८ को सामाधान भएको छ।

असार महिनामा १६ गुनासा दर्ता भएकामा ७, साउनमा १६ गुनासा दर्ता भएकामा ८ तथा भदौ महिनामा सबैभन्दा बढी दुई सय गुनासा दर्ता भएकामा ६० वटा गुनासाको समाधान गरिएको छ। त्यस्तै असोज महिनाको तेस्रो सातासम्म तोक लगाइएको कुल ३० गुनासामध्ये १२ वटा गुनासाको समस्या समाधान भइसकेको छ।

उपमहानगरले निर्माण गरेको गुनासो सुन्ने अनलाइन माध्यमबाट अहिलेसम्म ध्वनी प्रदुषण एक, वातावरण सम्वन्धि १८, शिक्षासँग सम्वन्धित १०, सडकसँग सम्वन्धित ३८, सार्वजनिक यातायातसँग सम्वन्धित ३, खानेपानी ६, सार्वजनिक सम्पत्ति एक, विद्युतसँग सम्वन्धित ९ गुनासा र सुझाव ६ रहेका छन्।

अहिलेसम्म सो माध्यमबाट उपमहानगरमा तीन सय २५ गुनासा दर्ता भएका छन्। तीमध्ये एक सय ३२ गुनासाहरु समाधान भइसकेका छन भने एक सय ५१ गुनासाहरु समाधानको प्रक्रियामा रहेको उपमहानगरपालिकाले जनाएको छ। उल्लेखित सबै गुनासाहरु ‘नमस्ते मेयर’ अन्तर्गत गुनासो सुन्ने अनलाइन माध्यमबाट परेका हुन्।