धनगढी उपमहानगरमा प्लास्टिकका फूल प्रयोगमा प्रतिबन्ध
2023/10/31, 10:15
 
ss

धनगढी उपमहानगरपालिकाले प्लास्टिकबाट बनेका ध्वजा–पताका, फूल एवम् बुकेको प्रयोगमा प्रतिबन्ध लगाएको छ। उपमहानगरपालिकाले धनगढीमा आयोजना हुने विभिन्न सभा, समारोह, चाडपर्व, मेला महोत्सवमा प्रयोग हुने टेन्ट, मञ्च लगायत अन्य कार्यक्रममा प्लास्टिकबाट बनेका फूल, माला र बुकेको प्रयोग नगर्न मङ्गलवार सूचना निकालेको हो । प्लास्टिकबाट बनेका फूल, माला, ध्वजा–पताका र बुके प्रयोग नगर्न सम्पूर्ण व्यक्ति, व्यापारी र प्रयोगकर्तालाई उपमहानगरले आग्रह गरेको छ।

प्लास्टिकबाट बनेका फूल, माला, ध्वजा–पताका र बुके प्रयोग गरेको पाइएमा ‘धनगढी उपमहानगरपालिका प्लास्टिकजन्य वस्तु प्रतिबन्ध सम्बन्धी ऐन, २०७९ अनुसार कारबाही हुने उपमहानगरको सूचनामा उल्लेख छ । उपमहानगरपालिकाले धनगढी क्षेत्रमा व्यावसायिक फूल खेती प्रबर्द्धन गर्ने नीति लिएको छ । उत्पादन बढ्दै गएमा सुदूरपश्चिम बाहिरका बजारमा पनि धनगढीको उत्पादनलाई पुर्‍याउने मेयर गोपाल हमालले बताउँदै आएका छन् ।


विगतका वर्षमा धनगढीका बजारमा बाहिरबाट फूल आयात गरेर दशैंतिहार मनाउनुपर्ने अवस्था थियो । यसपालि उपमहानगरको सहयोगमा स्थानीय किसानले फूल खेती गरेर धनगढीलाई आत्मनिर्भर बनाएका छन् । धनगढी उपमहानगरपालिका–६, १२, १३ मा किसानले फूलखेती गरिरहेका छन् । स्थानीय उत्पादनलाई प्रबर्द्धन गर्न धनगढी उपमहानगरपालिकाले भारतबाट आयात हुने प्लाष्टिकजन्य फूल र फूलका माला बिक्री वितरणमा रोक लगाएको छ।