दसैँपछि टीकापुर पार्कमा पर्यटक बढे
2023/11/02, 12:57
 
ss

कैलालीको टीकापुरस्थित टीकापुर पार्कमा दसैँपछि पर्यटक बढेका छन् । पार्कमा आजभोलि दैनिक सयौँदेखि हजारौँ पर्यटक आउन थालेका छन् । दसैँ सुरु भएदेखि नै पार्कमा पर्यटक बढेका हुन् । पार्कमा आन्तरिक पर्यटक वनभोज र अन्य जिल्लाका पर्यटक अवलोकनका लागि आउने गरेका छन् ।

पार्कमा हरेक वर्ष यो याममा पर्यटक बढ्ने गर्छन् । बर्खामा पर्यटकको सङ्ख्या घटेको टीकापुर पार्कमा चाडपर्वसँगै पर्यटक पनि भित्रिन थालेका छन् । पार्कमा कात्तिकको १५ गतेसम्म १० हजार पर्यटकले पार्क अवलोकन गरेका छन् । पार्कमा सबैभन्दा बढी कात्तिक ८ गते एक हजार आठ सय र ९ गते एक हजार पाँच सय पर्यटक भित्रिएका छन् ।

कात्तिकमा मात्रै पार्कमा पर्यटकबाट दुई लाख ५० हजार राजस्व सङ्कलन भएको पार्क इञ्चार्ज अर्जुन कुँवरले जानकारी दिए । “दसैँपछि पर्यटक बढेका छन्, पिकनिक खाने, फोटो खिच्ने, केही समय शान्त वातावरणमा रमाउनेहरु आउँछन्”, उनि भन्छन, “देशका सबै जिल्लाका मानिस पार्क पुगेको तथ्याङ्क छ । सुदूरपश्चिम छिरेकाहरू एकपटक पार्क पुगौँ भन्छन् र घुमेर जान्छन् ।”

कुँवरका अनुसार सुदूरपश्चिममा सबैभन्दा बढी पर्यटक पुग्ने ठाउँ टीकापुर पार्क हो । एकै दिनमा डेढ सयदेखि पाँच हजारले पार्क अवलोकन गर्न आउने गरेका छन् । पार्कमा बर्सेनि एक लाखदेखि डेढ लाखसम्म आउँछन् । धेरै मानिसहरूले पार्कमै पकाउने, पार्कमै खाने, पार्कमै रमाउने गरी आउँछन् जसले गर्दा पार्कको वातावरण सधैँ रमाइलो भइरहने स्थानीय टीका चौधरीले बताए । 

टीकापुर विकास समिति हटेपछि विसं २०६४ मङ्सिर ५ गते टीकापुर नगरपालिकाको स्वामित्वमा पार्कलाई हस्तान्तरण गरिएको हो । नगरपालिकाको स्वामित्वमा पार्क सञ्चालन भएपछि बजेट अभावमा पार्कमा कार्यरत कर्मचारी कटौती गरिँदा र विकासका थप पूर्वाधार निर्माण गर्न नसक्दा पार्कको सौन्दर्यमा कमी आउन थालेको गुनासो छ । हाल पार्कमा १३ जना सरसफाइकर्मी र कर्मचारी कार्यरत छन् ।

टीकापुर बजारदेखि चार किलोमिटर टाढा कर्णाली नदी किनारमा पार्क छ । पार्क ८५ बिघा क्षेत्रफलमा फैलिएको छ । बङ्गला क्षेत्र, नर्सरी र बगैँचाले करिब १३ बिघा जमिन ओगटेको छ । टीकापुर विकास समितिले नै पार्क क्षेत्रमा महेन्द्र आरोग्य गृह, रत्न उद्यान, वीरेन्द्र विश्राम वाटिका, ऐश्वर्य उद्यानलगायत पूर्वाधार खडा गरेको छ । शान्त वातावरण, चिटिक्क मिलाएका लन सजावट र मौसमी÷बेमौसमी फूलहरू टीकापुर पार्कका आकर्षण हुन् ।

राजा महेन्द्रले २०२४ सालमा टीकापुरमा आएर करिब डेढ महिना शयन गर्नुभएको थियो । टीकापुर बसेर राज्य चलाउन अप्ठ्यारो भएपछि राजा काठमाडौँ फर्किय र टीकापुर क्षेत्रमा सहर विकास गर्न र कर्णाली किनारमा पार्क बनाउन उनले निर्देशन दिएका थिए । विसं २०२८ मा भौतिक योजना तथा निर्माण मन्त्रालयअन्तर्गत टीकापुर विकास समिति स्थापना गरी तीन हजार एक सय ७३ बिघा जमिन दिएर सहर विकास गर्ने अधिकार सरकारले दिएको थियो ।

लाखौँ लगानी भएका र करोडौँ खर्च भइसकेका यी पूर्वाधारहरू टीकापुर विकास समिति हटेपछि नगरपालिकाको स्वामित्वमा छन् । त्यतिखेर विकास समितिले आफूसँग भएको जग्गा घडेरीका रूपमा बिक्री गर्दै पार्क संरक्षणका लागि खर्च जुटाउँदै आएको थियो । तर नगरपालिकाको स्वामित्वमा गएपछि बजेटको अभावमा लगानी हुन सकेको छैन ।

पार्कमा बनाइएको काठका रेलिङ कुहिनु र भत्किनाका साथै आरोग्य गृह र विश्राम वाटिका पनि जीर्ण हुँदै गएपछि हरेक वर्ष नगरपालिकाले मर्मतमा लाखौँ खर्चिने गरेको छ । तर पार्क जीर्ण बन्दै गएकाले पार्कको इतिहास जोगाउनेतर्फ ध्यान दिनुपर्ने स्थानीय निर्मला कडायतको सुझाव छ । “पार्कमा भएको हराभरा हराएको छ, पार्क एक ताका गुलाबको बगैँचाका रुपमा चिनिन्थ्यो”, उी भन्छन, “पालिकाले त्यो जोगाउन सकेको देखिएन, पालिकाले केन्द्रीय बजेट ल्याउन सकेको पनि देखिएन । नगरपालिकाले लगानी गर्न नसक्दा पार्क जीर्ण बन्दै जान थालेको छ ।”

टीकापुरकै ऐतिहासिक महत्त्व बोकेको ठाउँ टीकापुर पार्क हो । पार्क स्व राजा महेन्द्रको इतिहाससँग जोडिएको छ । पार्क संरक्षणका लागि खासै काम हुन नसके पनि पार्कको संरक्षणका लागि पालिका, स्थानीय सबै लाग्नुपर्ने टीकापुर नगरपालिका–५ का वडाध्यक्ष बलवीर थारू बताए । “बजेट अभावमा पालिकाले सक्दो संरक्षण गरेको छ ।

यो पार्क देशकै पहिचान हो”, थारू भन्छन, “पार्क संरक्षणमा पालिका मात्रले सम्भव छैन । यसमा स्थानीयको सहयोग, सरकारको विशेष लगानी आवश्यक छ ।” पार्क क्षेत्र पूरै घेरबार नभएकाले स्थानीयलगायत केही पर्यटक टिकट नकाटेर भित्रिने जोखिम रहेकाले राजस्वमा असर परेको छ ।