‘जाउँ है पोखरा’अभियान अन्तरगत धनगढीमा पर्यटन व्यवसायीहरूसंग छलफल
2023/12/18, 3:49
 
pokhara

जाउँ है पोखरा’ अभियान लिएर देश डौदाहामा निस्किएको मध्यमाञ्चल होटल संघ पोखराले सुदूरपश्चिम प्रदेशबाट पोखरामा पर्यटक भित्र्याउन पहल थालेको छ ।

सुदूरपश्चिम प्रदेशको धनगढी, महेन्द्रनगर लगायतका शहरमा रहेका होटल तथा पर्यटन व्यवसायीहरूको सहकार्यमा प्रदेशमा रहेका भ्रमण गर्न इच्छुक र सुदूरपश्चिममा आएका भारतीय पर्यटकलाई पोखरा भित्र्याउने पहल थालेको जनाइएको छ । ‘जाउँ है पोखरा’ अभियान अन्तरगत होटल संघ पोखराले सोमबार धनगढीमा होटल तथा पर्यटन व्यवसायीहरूसंग छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बाह्य पर्यटकसंगै आन्तरिक पर्यटकको पोखरामा आकर्षण बढाउन अभियानलाई निरन्तरता दिइएको बताए । उनले पर्यटन व्यवसायको पुनरुत्थान गर्न एक आपसमा पर्यटक एक्सचेन्ज गर्न आवश्यक रहेको बताए । ‘देशका सबै जिल्लामा पर्यटन गन्तव्यहरू छन्,’ उनले भने, ‘एक जिल्लाले अर्को जिल्लासंग पर्यटक एक्सचेन्ज गर्न अतिआवश्यक छ ।’ आन्तरिक पर्यटनबाट नै अबका दिनमा होटल र पर्यटन व्यवसाय उठ्न सक्छ ।’

अध्यक्ष सुवेदीले नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय तथा होटल संघ पोखराको संयूक्त आयोजनामा यही मंसिर २९ गतेदेखि पुस ४ गतेसम्म पश्चिम नेपालमा अभियान शुभारम्भ गरिएको जानकारी दिँदै –‘यो अभियानमा भैरहवा, नेपालगञ्ज, धनगढी र महेन्द्रनगरका शहरहरु समेटिएका छन् ।’ उनले पोखरामा रहेका पर्यटकलाई सुदूरपश्चिम पठाउन र सुदूरपश्चिममा रहेका पर्यटकलाई पोखरा ल्याउन दुबै ठाउँका होटल तथा पर्यटन व्यवसायीको महत्वपूर्ण सहकार्य हुनुपर्ने बताए । उनले पर्यटकको सहज यात्राका लागि धनगढी–पोखरा हवाई सेवा तथा स्तरिय बस सेवाका लागि समेत आफूहरूले पहल गरिरहेको बताए ।

पर्यटन व्यवसायी मायाप्रकाश भट्टले पोखराले सुदूरपश्चिममा पर्यटक पठाउने ग्यारेन्टी दिए आफूहरूले पनि यहाँबाट पर्यटक पोखरा पठाउन तयार रहेको बताए । ‘हाम्रोबाट जहाज भरिएर जाने र उताबाट खाली आउने पर्यो भने सहकार्य गर्न सहज हुँदैन,’ उनले भने, ‘उताबाट पनि जहाज भरिएर पर्यटकहरू यहा“ आउने ग्यारेन्टी दिन पोखराले सक्यो भने हामी पठाउन तयार छौं । दुई तर्फ सहयोगले आन्तरिक पर्यटनलाई बृद्धि गर्छ र टिकाउ पनि हुन्छ ।’

पर्यटन गतिविधि बढाउन दुईतर्फी फाइदा र सहयोग भएमा कोरोनाका कारण धरमराएको पर्यटन व्यवसाय छिट्टै उठ्न सक्ने उनको भनाई छ । उनले सुदूरपश्चिमको डिल्ली, उत्तराखण्ड, उत्तरप्रदेशबाट भारतीय पर्यटक आउने गरेको बताउँदै उनीहरूलाई पोखरासम्म जान र फर्किन हवाई सेवाले सहज बनाउने बताए ।

होटल व्यवसायी संघ कैलालीका निवर्तमान अध्यक्ष कलम बमले कोरोनाको कहर सकिएसंगै होटल व्यवसाय खुले पनि पर्यटक आउने वातावरण अझै नबनेको बताए । उनले आन्तरिक पर्यटकको मोभिलिटीले पर्यटन व्यवसायलाई चलायमान बनाउन एक ठाउँले अर्को ठाउँलाई सहयोग गर्न जरुरी रहेको बताए ।

पोखरामा बञ्जी जम्पिङ्ग, जीप लाइनिङ, विभिन्न मठमन्दिरहरुमा सन्ध्याकालिन आरती, केबलकार, प्याराग्लाईडिङ्ग, अल्ट्रालाइट, क्यानोनिङ लगायत दर्जनौं पर्यटकीय सेवा उपलब्ध रहेको बताउँदै अध्यक्ष सुवेदीले भने –‘पोखरा नेचर, कल्चर र एडभेञ्चर सबै मोसम र सबै हिसावले उपयूक्त पर्यटकीय गन्तव्य भएकोले पोखार भ्रमण लागि आग्रह गर्दछु ।’