प्रहरीको जागिर छाडेर दुबई आर्मी बनिसकेका दार्चुलाका नगाल रसिया पुगेर अस्ताए
2023/12/22, 1:01
 
kk

दार्चुलाको महाकाली नगरपालिका(२ का कुन्दन सिंह नगालले ५ वर्ष अगाडि सशस्त्र प्रहरीको जागिर छाडेका थिए । १४ वर्ष सशस्त्र प्रहरी बलमा जागिर खाएका उनले त्यहाँ खासै प्रगति होला भन्ने नठानेपछि ५ वर्षअघि उपदानमा निस्केका हुन् ।

उनका निकटस्थ प्रहरी सहकर्मीका अनुसार कुन्दन आफ्नो परिवारको ‘भविष्य’ नदेखेर तथा उचित पारिश्रमिक नपाइएकै कारण जागिर छोड्ने निर्णयमा पुगेका थिए । ‘उहाँ सहायक हवलदारको रुपमा कार्यरत हुनुहुन्थ्यो,’ ती पूर्व प्रहरीले भने, ‘हामीलाई तालिम पनि उहाँले दिनुभएको थियो ।’ त्यसपछि कुन्दन दुबईको सेनामा जागिर गर्न गए । त्यहाँ पनि उनले करिब ३ वर्ष जागिर गरेका थिए ।

तर कोरोना महामारी फैलिएसँगै उनी त्यहाँको जागिर छोडेर नेपाल फर्किए । नेपाल फर्किएपछि उनले बसाइसराइ गरेर आफ्ना दुई छोरासहित श्रीमतीलाई कञ्चनपुरको महेन्द्रनगर लगेका थिए । छोराहरू महेन्द्रनगरकै एक विद्यालयमा पढ्छन् । उनको महेन्द्रनगरमै घर निर्माणाधीन अवस्थामा छ । घर बनाउँदै गर्दा उनी दुबई हुँदै रसियन सेनामा भर्ना हुन गएका थिए ।

यही दसैँअघि उनी रसियन आर्मीमा भर्ना समेत भए । ७ नोभेम्बर अर्थात् कात्तिक २१ गते उनले आफ्नो परिवारसँग आफू ‘रेडजोन’ मा जान लागेको भन्दै कुराकानी गरेका थिए । ‘अब म रेडजोनमा जान लागे । त्यहाँ जोखिम हुन्छ । बाँचिन्छ की मरिन्छ थाहा छैन’ उनले भनेका कुरा उद्धृत गर्दै उनका दाइ रवीन्द्र सिंह नागलले भने । उनका अनुसार कार्तिक २२ गते अर्थात् ८ नोभेम्बरमा कुन्दन युद्धमा घाइते भएको भन्ने खबर त्यहाँ कार्यरत उनका सहकर्मीले दिएका थिए । त्यसपछि कुन्दन सम्पर्कविहीन बनेको हुन् ।

महेन्द्रनगरमा कोठा भाडामा लिएर बस्दै आएकी श्रीमती प्रतीक्षालाई भने उक्त जानकारी थिएन । उनी आफ्ना श्रीमानको खबर आउने पखाइमा थिइन् । तर अचानक बुधबार परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी नेपाली नागरिक कुन्दनसिंह नगालको रुस(युक्रेन युद्धमा ज्यान गएको भनेर जानकारी दियो । ती मृतक दार्चुलाकै कुन्दन हुन् या होइनन् भन्नेमा परिवार अलमलमा थियो । परराष्ट्र मन्त्रालयले उपलब्ध गराएको राहदानी नं। ०९४७३६३२ को आधारमा मात्रै मृतक आफ्नो भाई रहेको पुष्टि भएको दाइ रवीन्द्रले बताए । उनका अनुसार भाइको शव पाउन नसकिने बताइएको छ ।

श्रीमानको मृत्युले प्रतीक्षा विक्षिप्त बनेकी छिन् । उनी हाल कुरा गर्ने अवस्थामै नरहेको मृतकका भाई नाता पर्ने विक्रम कुँवर बताउँछन् । ‘घर निर्माणको काम पनि अन्तिमतिर पुगेको थियो । ठिक्क दाइको मृत्युको खबर आयो । अब उनका दुई छोराको पालनपोषणमा समस्या हुने देखिएको छ’ उनले भने, ‘दाइले त्यहाँबाट पैसा पठायो या पठाएन भन्ने भने यकिन छैन ।’

कुन्दन दुबई हुँदै रुस पुगेका थिए । उनीजस्तै कञ्चनपुर घर भएका अन्य दुई जना पूर्व सशस्त्र प्रहरी पनि हाल रसियन आर्मीमा कार्यरत छन् । उनीहरु भने सम्पर्कमा रहेको उनका एक पूर्व सहकर्मी बताउँछन् । नेपालमा काम अनुसारको पारिश्रमिक नपाएर ती दुवैजनाले पनि कुन्दन जस्तै प्रहरीको जागिर छोडेको बताइएको छ ।