सुर्तीजन्य पदार्थ विक्री गर्न नपाइने निर्णय कार्यान्वयन गराउँदै नगर प्रहरी
2024/01/17, 1:49
 
ss

कैलालीको धनगढी उपमहानगरपालिकाले माघ १ गतेदेखि धनगढी नगर क्षेत्रभित्र खाद्य पदार्थका पसलबाट सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री वितरण गर्न नपाइने निर्णयको कडाईका साथ लागू गर्न नगर प्रहरीलाई फिल्डमा खटाएको छ । नगर प्रहरीले उपमहानगरको सो निर्णय कार्यान्वयन गर्न बजार अनुगमन गर्ने र सुर्ती तथा मदिराजन्य पदार्थ भेटिए नियन्त्रणमा लिन थालेको छ । त्यस्तै सार्वजनिक ठाउँमा सुर्तीजन्य पदार्थ सेवन गर्नेलाई उपमहानगरको निर्णयको जानकारी गराई सम्झाइबुझाई गर्नेगरेको छ ।

पहिलो चरणमा सार्वजनिक ठाउँमा सुर्तीजन्य पदार्थकर्तालाई सम्झाबु्झाई गर्ने फेरी पनि गरेको भेटेमा दण्ड जरिमाना गरिने धनगढी उपमहानगरको नगर प्रहरीले जनाएको छ । नगर प्रहरीकाअनुसार उपमहानगरपालिकाले गत पुस १७ गते एक सुचना जारी गरी माघ १ गतेदेखि धनगढी नगरक्षेत्रभित्र खाद्य पदार्थका पसलबाट सुर्ती तथा मदिराजन्य पदार्थमा बिक्री वितरणमा रोक लगाएको थियो ।

नगर प्रहरीले उपमहानगरको निर्णय कार्यान्वयन गराउन नियमित बजार अनुगमन गर्ने र अनुगमनका क्रममा नियम विपरित खाद्य पदार्थ विक्री गर्ने पसल, होटेल तथा ठेलामा सुर्तीजन्य पदार्थ भेटिएमा नियन्त्रणमा लिई कारवाही प्रक्रिया थालेको छ । पहिलो चरणमा खाद्य पदार्थ विक्री गर्ने किराना पसल, होटेल तथा होलसेल पसलहरुमा अनुगमन गर्न थालेको छ । नगर प्रहरीकाअनुसार पहिलो चरणमा धनगढीको ६ लेन सडकखण्डको मिलन चोकदेखि सहिद गेटसम्म गरिएको अनुगमनका क्रममा चुरोट, गुट्खा, सुर्ती लगायतका प्रतिबन्धित पदार्थ नियन्त्रणमा लिइएको नगर प्रहरीले जानकारी दिएको छ ।

पहिलो पटकको अनुगमनमा सामान नियन्त्रणमा लिने र व्यापारीलाई सम्झाउने तर अर्को पटकको अनुगमनमा भेटिएमा नियम अनुसार कारबाही गरिने जनाइएको छ । यसअघि उपमहानगरपालिकाले स्वास्थ्य सेवा ऐन, २०७७ को दफा ३० ९१० मा सुर्ती तथा मदिराजन्य पदार्थ विकी वितरणको लागि उपमहानगरपालिकाबाट छुट्टै अनुमति लिनुपर्ने र सोही ऐनको दफा ३० ९२० मा खाद्य पदार्थ विक्री गर्ने पसलमा सुर्ती तथा मदिराजन्य पदार्थ विक्री वितरण गर्न बन्देज लगाइने उल्लेख भएबमोजिम माघ १ गते देखि चुरोट, बिँडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा, सुर्ती वा यस्तै प्रकारका अन्य सूर्तीजन्य पदार्थ विक्री गर्न प्रतिबन्ध लगाउने घोषणा गरेको थियो ।