पत्ता लागेन निर्मला हत्यारा 
2020/07/07, 9:43
 
nirmala pant

प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीको कार्यकाल दुई दिनपछि सकिँदैछ ।  ३० वर्षे सेवाहदका कारण ज्ञवालीसँगै एआईजी तारणी लम्साल र डीआईजी सूर्य उपाध्याय पनि अवकाश पाउँदैछन् । ज्ञवाली गत फागुन अन्तिम साता नेपाल प्रहरीको २७ औं आईजीपी नियुक्त भएका थिए ।  ३० वर्षे सेवाहदका कारण उनको कार्यकाल ५ महिनाको मात्रै भएको हो ।

आईजीपी भएको महिना दिन नपुग्दै चैत ११ गतेबाट मुलुकभर कोरोना भाइरसको फैलिँदो संक्रमणका कारण लकडाउन भयो । ज्ञवालीले आफ्नो कार्यकालमा औपचारिक चिनाजानको अवसर समेत पाएनन् । देश दौडाहामा पनि निस्कन पाएनन् । यसअघि आइजीपीहरुले आफ्नो कार्यक्रममा पटकपटक विभिन्न देशको भ्रमण गर्ने अवसर पाउने भए पनि उनले पाएनन् ।

छोटो समयका लागि आईजीपी बनेका ज्ञवाली प्रहरी अधिकारीकै नजरमा न सफल बन्न सके न असफल ।  उनको कार्यकाललाई मध्यम मान्न सकिने पूर्वडीआइजी हेमन्त मल्लको भनाई छ । सरुवा वढुवाका कतिपय विषयमा उनी विवादित बने ।  पूर्वडीआईजी मल्ल भन्छन्, “जुनियरलाई बढुवामा माथि पारेको, सरुवामा न्याय हुन नसकेका केही विषय छन् । तर सबै कुरा आईजीपीले चाहेर मात्रै सम्भव छैन । तर नियमित रुपमा बढुवा निकालेको,सरुवा समयमै भएका कुरालाई सकारात्मक रुपमा लिन सकिन्छ ।” त्यसो त डीआईजीको दरबन्दी कटौतीका विषयमा ज्ञवालीले स्पष्ट अडान लिन नसकेको पनि आरोप लाग्दै आएको छ । 

उनीभन्दा अघिल्ला आईजीपी सर्वेन्द्र खनालले समेत महत्वपूर्ण मानेर अनुसन्धान गरेको कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याराको पहिचान ज्ञवालीको कार्यकालमा समेत हुन सकेन । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको दुई वर्षअघि बलात्कारपछि हत्या भएको थियो ।