सरकारी स्कूलको जग्गा र सटर व्यापारीको कब्जामा, १ करोडभन्दा बढी भाडा तिरेनन् !
2024/03/01, 11:21
 
ss

कैलालीको घोडाघोडी नगरपालिका– १ सुख्खडस्थित राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा दुईदशक लामो समयदेखि व्यापारीको कब्जामा छ । 

विद्यालयको नाममा दर्ता स्रेस्ता कायम भएको कित्ता नम्बर ९७ र २५१ को जग्गामा व्यापारिक प्रयोजनका लागि भन्दै २०५८ सालदेखि विभिन्न मितिमा विद्यालयसँग सम्झौता गरेका स्थानीय व्यापारीले लामो समयदेखि भाडा बुझाएका छैनन् ।

उनीहरूको रजगज यतिसम्म छ कि विद्यालयको नाममा रहेको सरकारी जग्गा आफ्नो भएको दाबी समेत गरिरहेका छन् । व्यापारिक प्रयोजनका लागि मात्रै हैन, विद्यालयको जग्गामा बस्तीसमेत बसेको छ । 

२०५५ सालमा नापजाँच भएको विद्यालयको जग्गा भाडामा लिई हाल १ सय ६६ जना बसोबास गरिरहेको विद्यालय व्यवस्थापन समितिको भनाइ छ ।  त्यसमध्ये १ सय ११ जनाको अभिलेख विद्यालयसँग सुरक्षित रहे पनि सम्झौता पत्रमा हस्ताक्षर गरेकाहरूले समेत हालसम्म भाडा रकम विद्यालयलाई बुझाएका छैनन् ।

null

शिक्षक–व्यापारीको मिलेमतोमा स्कूलको जग्गा किनबेच

स्कूलको जग्गा हड्पनेहरूमा विद्यालयकै शिक्षकदेखि प्रतिष्ठित व्यापारी र समाजसेवी भनिएकाहरू समेत छन् । विद्यालय रहेको अभिलेखअनुसार शान्ता देवी रिजालले २०५९ साल वैशाख २४ गते मासिक १७५ रुपैयाँ तिर्नेगरी भाडा सम्झौता गरेकी छन् ।

भाडा सम्झौता भएको विद्यालयको जमिनमा बनेको अस्थायी संरचनामा विद्युत् लाइन जडान गर्ने प्रक्रियाका लागि रिजालले २०६३ साल माघ २५ गते पुनः अर्को सम्झौता गरेकी छन् । सम्झौतापछि भाडा रकम त उनले तिरेकी छैनन् । अहिले उनको बोली फेरिन थालेको छ । विद्यालयको जग्गा भाडामा नलिएको र बसिरहेको जग्गा आफ्नै भएको उनको दाबी छ । 

घोडाघोडी बहुमुखी क्याम्पस क्याम्पस प्रमुख समेत रहेका लक्ष्मीप्रसाद भट्टराईले २०६६ साल माघ २७ गते विद्यालयसँग जग्गा भाडाको सम्झौता गरेका छन् । यसै विद्यालयका पूर्व प्रधानाध्यापक खेमराज जोशी र होमकान्त आचार्यले समेत जग्गा भाडामा लिएका छन् । जोशीले २०५८ माघ ३० गते र आचार्यले २०५८ माघ २५ गते भाडाको सम्झौता गरेका छन् । तर उनीहरूले हाल सो जग्गा अन्यलाई बिक्री गरिसकेको स्रोतको दाबी छ ।

यस्तै, स्थानीय तिलकप्रसाद भट्टराईले २०५८ साल माघ २५ मा, मानबहादुर मल्लले २०६३ माघ २८ गते, शिवप्रसाद सापकोटाले २०६३ माग २८ गते, हिमाल ज्ञवालीले २०६३ माघ २१ गते विद्यालयसँग सम्झौता गरेका छन् । उनीहरूसहित १ सय ११ जनाको अभिलेख विद्यालयमा सुरक्षित छ । 

‘घोडाघोडीका प्रतिष्ठित व्यापारी, शिक्षक र स्थानीयहरूले स्कूलको जग्गा हड्पेका छन् । पटक–पटक सूचना जारी गर्दा पनि न भाडा तिरेका छन्, न त जग्गा र भवन नै छाडेका छन् । भाडा तिरिरहेका अन्य व्यापारीहरूलाई पनि हर्ताकर्ताहरूले नतिर्न भनेर उक्साइरहेका छन्,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र हमालले भने ।

जग्गा बहाल सम्झौताका थप कागजात:

null

कसले कति तिरेनन् ? 

राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा र भवन भाडास्वरूप प्रयोग गरेका व्यापारी तथा स्थानीयबाट २०८० मंसिर मसान्तसम्म १ करोड ३७ लाख ९० हजार १ सय १८ रुपैयाँ उठ्न बाँकी  छ । विद्यालय प्रशासनले पटक–पटक रकम बुझाउन सूचना जारी गर्दा पनि व्यापारीहरूले अटेरी गर्दै आएका छन् । विद्यालयसँगको सम्झौताअनुसार मासिक भाडा तिर्नेहरू थोरै छन् । अधिंकाशले विगत २२ वर्षदेखि भाडा समेत दिएका छैनन् ।

विद्यालय प्रशासनका अनुसार जग्गा भाडामा लिएर भाडा नतिर्नेमा शान्ता रिजालको नाम अग्रस्थानमा छ । उनले ६ लाख ६१ हजार ७ सय ३५ रुपैयाँ विद्यालयलाई तिरेकी छैनन् ।

हाल उद्योग वाणिज्य संघ घोडाघोडीका अध्यक्ष रहेका जियालाल आचार्यले पनि ५ लाख ७४ हजार २ सय ५२ रुपैयाँ भाडा बुझाएका छैनन् ।  मिरा ज्ञवालीले ४ लाख ८७ हजार २ सय २५, शिवराज सापकोटाले ४ लाख ७ हजार ९ सय ७५, रमेश ऐरले ३ लाख ८ हजार ५ सय ६२, प्रदीप सुनारले ३ लाख ६ हजार रकम तिरेका छैनन् । उनीहरूसहित १ सय ७० जनाले विद्यालयलाई भाडा रकम बुझाएका छैनन् । 

यमलाल अधिकारीले २ लाख ८० हजार २ सय ५०, गणेश भट्टराईले २ लाख ७७ हजार २६, डी.एस फर्निचरले २ लाख २१ हजार लक्ष्मीप्रसाद भट्टराईले २ लाख ११ हजार ६ सय र राजेन्द्र अधिकारीले २ लाख ७ हजार रुपैयाँ भाडा तिर्न बाँकी रहेको विद्यालय प्रशासनले जनाएको छ । 

विद्यालय प्रशासनका अनुसार लक्ष्मी मल्लले १ लाख ७७ हजार १ सय ७८, सप्रिया ग्लास हाउसले  १ लाख ७४ हजार ३ सय ७५, सागर अधिकारीले १ लाख ७३ हजार ६ सय ९, हिरा बुढाले  १ लाख ७३ हजार ८ सय १२, नपुर झाले १ लाख ७१ हजार ४५ र टेकेन्द्र सापकोटाले १ लाख ७० हजार ३ सय ४० रुपैयाँ भाडा बुझाएका छैनन् । 

विशेष विद्यालयको काम रोकियो

सरकारी जग्गा व्यापारीको कब्जामा गएपछि ५ वर्षदेखि विशेष विद्यालयको काम रोकिएको छ । फरक क्षमता भएका विद्यार्थीहरूका लागि छुट्टै सुविधासम्पन्न विद्यालय स्थापना गर्ने सरकारको नीति अनुसार काम अघि बढाइए पनि स्थानीय व्यापारीहरूले जग्गा नछाडेपछि काम रोकिएको हो । 

सुदूरपश्चिम प्रदेशभर एक मात्र विद्यालय निर्माण तथा सञ्चालनका लागि २०७५ सालमा घोडाघोडी छनोट भएको थियो । तत्कालीन शिक्षा मन्त्री गिरिराजमणि पोख्रेलबाट शिलान्यासको काम समेत भएको थियो । 

भवन निर्माणका लागि करिब एककरोड रकम बजेट समेत आएको थियो तर छनोट भएको जमिननजिक नदी परेका कारण भवन निर्माण हुन नसकेपछि काम अलपत्र परेको छ । 

‘भवन निर्माणका लागि नदी किनारको जग्गा उपयुक्त हुँदैन । विद्यालयको जग्गामा व्यापारीको रजगजले हामीले जग्गा फिर्ता लिन सकेका छैनौं । यसमा अघिल्ला व्यवस्थापन समितिको कमजोरी पनि छ । मैले व्यवस्थापन समितिको जिम्मेवारी पाएपछि विशेष विद्यालयका लागि भवन निर्माण गर्न स्थानीयको कब्जामा रहेको कित्ता ९७ र २५१ नम्बरको जग्गा खाली गराउने अभियान नै शुरू गरेको छु । सरकारी जग्गामा कसैको कब्जामा जान दिन्नौं, सबै फिर्ता गराउँछौं,’ व्यवस्थापन समिति अध्यक्ष हमालले भने ।

कैलालीको सुखडमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयको जग्गामा बनेका संरचना हटाउन विद्यालयले बल प्रयोग गर्ने तयारी गरेको छ । सोमबार अन्तिमपटक सात दिने सूचना जारी गर्दै विद्यालयले संरचनाधनीले आफैं नहटाए बल प्रयोग गरी विद्यालयको जग्गा खाली गर्ने चेतावनी दिएको हो ।

विद्यालयको जग्गाको कित्ता नम्बर ९७ को क्षेत्रफल खाली गर्न यसअघि ३५ दिने सूचना जारी गरेको थियो । तोकिएको समयसम्म पनि अटेरी गरेपछि अन्तिमपटकका लागि सोमबार सूचना सार्वजनिक गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष खगेन्द्र हमालले जानकारी दिए । सो विद्यालयको २ बिघा जग्गा विगत २२ वर्षदेखि केही स्थानीय र व्यापारीहरूले कब्जामा राखेका छन् ।

null

null

null

 

लोकान्तरबाट