नागरिक उन्मुक्तिमा श्रीमान्–श्रीमतीको शक्ति सङ्घर्ष, के होला पार्टीको भविष्य ?
2024/03/15, 6:23
 
ss

दुई वर्षअघि रेशम चौधरीले आफ्नै श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टी गठन गरेका थिए । पार्टी गठन हुँदा रेशम जेलमै थिए । नागरिक उन्मुक्ति पार्टीले रेशमसहित ‘राजबन्दी’ रिहाइको मुद्दा उठायो । यही मुद्दा बोकेर २०७९ सालको आम निर्वाचनमा पार्टीले राम्रै मत पनि ल्यायो ।

राष्ट्रपतिबाट माफी पाएर रेशम रिहा भएपछि भने नागरिक उन्मुक्ति पार्टीभित्र शक्ति सङ्घर्ष बढ्न थाल्यो । रेशम चौधरी र उनकै श्रीमती रञ्जिताबिच पछिल्लो समय शक्ति सङ्घर्ष चुलिएको छ । यतिबेला यस पार्टीको भविष्यमाथि नै प्रश्न उठ्न थालेको छ । रेशम जेलमा रहँदा वैधानिक रुपमा पार्टीको कार्यकारी अधिकार रञ्जितासँग भए पनि सम्पूर्ण निर्णय आफैँले गर्दै आएका थिए । पार्टीका सारा योजना जेलमै बन्थ्यो । रञ्जिताका लागि डिल्लीबजारको जेल पार्टी कार्यालयजस्तै थियो । आवश्यकता अनुसार रेशम चौधरीसँग घण्टौँ छलफल गरेर रञ्जिताले पार्टीका लागि योजना बनाउँथिन् र सोही अनुसार पार्टीलाई ‘मुभ’ गर्थिन् ।

२०७८ पुसमा गठन भएको नागरिक उन्मुक्ति पार्टी २०७९ मंसिरमा भएको चुनावमा सहभागी भयो । प्रदेश सभातर्फ १२ जना सांसद र सङ्घमा ४ जना सांसद सो पार्टीबाट निर्वाचित भए । छोटो समयमा प्राप्त गरेको उपलब्धिबाट रेशम चौधरी र रञ्जिता श्रेष्ठ हौसिए । २०७९ पुसमा गठन भएको सरकारमा नागरिक उन्मुक्ति पार्टी सामेल भयो । रेशम चौधरीले जेलबाट कांग्रेस–माओवादी गठबन्धनसँग कुराकानी गरेर अध्यक्ष रञ्जितालाई मन्त्री बनाउन पनि सफल भए । सुदूरपश्चिम प्रदेशमा पनि नागरिक उन्मुक्ति पार्टीले सरकारमा आफ्नो जबर्जस्त उपस्थिति देखायो । 

सत्तामा भागबण्डा पाएर शक्तिमा पुगेकै कारण मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएर रेशम चौधरी २०८० जेठमा रिहा भएका थिए । जेलबाट रिहा भएपछि रेशम चौधरी राजनीतिक रुपमा आफैँ सक्रिय भए । उनले पार्टीमा मात्र होइन, श्रीमती रञ्जिताको मन्त्रालयमा पनि हस्तक्षेप गर्न थाले, जुन कुरा रञ्जितालाई मन परेको थिएन । नागरिक उन्मुक्ति पार्टीका एक जना पदाधिकारीले भने, ‘त्यही बेलादेखि दुवै जनामा खटपट सुरु भएको थियो ।’ पार्टीका नेता तथा कार्यकर्ताहरू रेशम चौधरीलाई भन्दा रञ्जितालाई मन पराउन थालेका थिए । रञ्जिता पार्टीको अध्यक्ष पनि थिइन् र मन्त्री पनि । त्यही भएर पार्टीमा रञ्जिताको चहलपहल थियो ।

त्यसपछि रेशम चौधरी पार्टीमाथि कब्जा गर्न महाधिवेशन गराउनेतिर लागे । सुरुमा कुरा नबिग्रियोस् भनेर रेशम चौधरीले रञ्जितालाई नै अध्यक्ष बनाउने भनेका थिए । जब महाधिवेशनमा उम्मेदवारी दिने बेलामा रेशम चौधरीले पार्टीको अध्यक्ष आफू बन्ने भने, त्यसपछि रञ्जिता बिच्किएकी थिइन् । तर रञ्जिता आफैँ अध्यक्ष बन्ने पक्षमा थिइन् । सरकारले आममाफी दिएको विषयलाई लिएर मुद्दा चलिरहेको, रेशम अध्यक्ष भएपछि कानुनी झन्झट आउन सक्छ भनेर रञ्जिताले त्यतिबेला नै भनेकी थिइन् । रेशम चौधरीले केही पनि हुँदैन, म सबै कुरा मिलाउँछु, यस विषयमा निर्वाचन आयोगमा पनि मेरो कुराकानी भइसकेको बताउँदै आफैँ अध्यक्ष बन्ने योजनामा लागे ।

तैपनि रञ्जितालाई चित्त बुझेको थिएन । उनी अध्यक्ष छाड्ने पक्षमा थिइनन् । पार्टीका ती पदाधिकारीले भने, ‘रेशम चौधरीले रञ्जितालाई भन्नुभएको थियो– तिमी सरकार चलाऊ, म पार्टी चलाउँछु । केही लफडा पनि हुँदैन । रञ्जितालाई सरकार र पार्टी दुवै चाहिएको थियो किनभने पार्टीको अध्यक्ष भएपछि गठबन्धनमा उसको महत्त्व हुन्छ । मन्त्री मन्त्रालयमा मात्र सीमित हुन्छ भन्ने कुरा रञ्जिताले थोरै दिनमा थाहा पाइसक्नु भएको थियो ।’

रेशम चौधरीले जबर्जस्ती अध्यक्षमा उम्मेदवारी दिए । त्यसपछि रञ्जिता श्रेष्ठ रिसाएर महाधिवेशनस्थल छाडेर काठमाडौँ फर्केकी थिइन् । रेशम चौधरी अध्यक्ष घोषणा भएपछि उनी कैलाली गइनन् । रेशम चौधरी अध्यक्ष भए पनि रञ्जिता आफूलाई नै अध्यक्ष भन्थिन् । गठबन्धनको बैठकहरूमा अध्यक्षको हैसियतमा उपस्थित हुन्थिन् । गठबन्धनको कुनै दस्तावेजमा हस्ताक्षर गर्नुपरे रेशम चौधरीलाई बोलाइँदैनथ्यो र त्यसमा नागरिक उन्मुक्ति पार्टीको अध्यक्षका रुपमा रञ्जिता श्रेष्ठले नै हस्ताक्षर गर्थिन् । यो कुरा रेशम चौधरीलाई मन परेको थिएन र यसबारे रञ्जितालाई उनले पटकपटक भनेका थिए ।

दुवै जनाको खटपटले तीव्र रुप लिइरहेको थियो । त्यसैबेला रेशम चौधरीको बारेमा निर्वाचन आयोगमा उजुरी प¥यो । आखिर निर्वाचन आयोगले रेशम चौधरीलाई अध्यक्षको मान्यता दिएन । रेशम चौधरीको पद गुमेपछि रञ्जिता नै अध्यक्ष कायम भइन् । नयाँ गठबन्धन बनेपछि रञ्जिता पुनः मन्त्री बन्ने सोचमा गइन् । त्यसको बाधक भए रेशम चौधरी । उनले नागरिक उन्मुक्ति पार्टी गठबन्धन तथा सरकारमा नजाने घोषणा गरेका थिए ।

पार्टीको बैठकमा पनि रञ्जिता श्रेष्ठ आफ्नै पति रेशम चौधरीको विपक्षमा उभिएकी थिइन् । रेशमले गठबन्धनमा जानु हुँदैन भन्थे भने रञ्जिताले माओवादीका अध्यक्ष प्रचण्डले नागरिक उन्मुक्ति पार्टीलाई निकै सहयोग गरेका कारण साथ दिनुपर्छ भन्ने अडान लिइन् ।रञ्जिता श्रेष्ठ पार्टीको अध्यक्ष तथा संसदीय दलको नेता भएका कारण पनि रेशम चौधरीको केही चलेन । सङ्घमा रञ्जिताले आफू अनुकूल चलाउन थालिन् भने रेशम चौधरीले सुदूरपश्चिम प्रदेश कब्जामा लिए ।

अहिले दुवै जना दुईतिर छन् । उनीहरुबिच आपसमा बोलचाल छैन । रञ्जिता सरकारमा सहभागी हुनका लागि प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष अ‍ोलीलाई दबाब दिइरहेकी छन् । सरकारलाई लिएर रञ्जिताको दौडधुप चलिरहेको छ । यो पार्टी विभाजन हुने हो कि चिन्ता पार्टीका नेता तथा कार्यकर्तामा देखिएको छ । नागरिक उन्मुक्ति पार्टी संगठन विभागका प्रमुख लक्ष्मण किशोर चौधरीले सञ्चारमाध्यममा आएको जस्तो विवाद पार्टीमा नरहेको दाबी गरे । उनले भने, ‘केही कुरालाई लिएर दुवै जनामा केही मतभेद छ, त्यसलाई मिलाउने प्रयास भइरहेको छ, चाँडै नै सबै कुरा मिल्छ ।’

गठबन्धन र सरकारलाई लिएर केही फरक मत आएको भन्दै उनले त्यसमा एउटै मत बनाउने प्रयास भइरहेको दाबी गरे । पार्टीका केन्द्रीय समितिको निर्णय मान्ने कि पार्टी अध्यक्षको निर्णय मान्ने वा कुनै नेताको निर्णयमात्र मान्ने भन्नेबारे केही असमझदारी देखिएको तर त्यो चाँडै नै सुल्झिने उनले बताए । नागरिक उन्मुक्ति पार्टीमा निस्कृय रहेका लक्ष्मण थारु भन्छन्, ‘यो श्रीमान्–श्रीमतीको झगडा हो, यसमा अरुले केही बोल्नु हुँदैन । केही दिनमा आफैँ सबै कुरा मिल्छ ।’

कृषि कर्ममा सक्रिय लक्ष्मण थारुले चुनाव आउन अहिले तीन चार वर्ष बाँकी रहेको जिकिर गर्दै त्यतिबेलासम्म झगडा भइरहे पनि केही फरक नपर्ने टिप्पणी गरे । नागरिक उन्मुक्ति पार्टी छाडेका सुरेन्द्र चौधरी भने रेशम चौधरी र रञ्जिता श्रेष्ठको यो ‘नाटक’मात्र रहेको दाबी गर्दछन् । दुवै जनाको मिलिभगतमा पछिल्लो घटनाक्रम भइरहेको उनको भनाइ छ । दुवै जना मिलिभगमा झगडा गरेजस्तो गर्ने अनि दुवै गठबन्धनबाट फाइदा लिइरहेको उनले बताए ।

‘रञ्जिताले माओवादी–एमाले गठबन्धनबाट फाइदा लिइरहेकी छन्, उनी सरकारमा जान तयार भएर बसेकी छन्,’ सुरेन्द्रले भने, ‘उता रेशम चौधरी सुदूरपश्चिम सरकार सम्हालेर बसेका छन् ।’ पार्टी सुरुदेखि विधि, पद्धतिमा नचलेको कारण यो समस्या आएको उनको भनाइ छ । उनले भने, ‘रेशम चौधरी र रञ्जिता श्रेष्ठले आफूमा मात्र केन्द्रित गरेर पार्टी चलाउन चाहनु भयो, पार्टीमा रहेका अन्य नेता तथा कार्यकर्तालाई कुनै महत्त्व नै उहाँहरुले दिनुभएन । आज उहाँहरू आफैँमा फस्नु भएको छ ।’