कैलालीमा उद्योगको दर्ता वर्षेनि घट्दै
2024/03/22, 4:13
 
dd

कैलालीमा उद्योगको दर्ता वर्षेनि घट्दै गएको छ। जिल्लाभित्र घरेलु तथा साना उद्योगको दर्ता तीन वर्षयता घट्दै गएको हो। साथै सो अवधिसम्म चार सय ४ उद्योग बन्द (दर्ता खारेज) नै गरिएको छ। जिल्लामा आर्थिक वर्ष २०७७/७८ मा दुई हजार ८ सय ८४ उद्योग दर्ता भएका थिए। दर्ता भएका ती उद्योगले ९ हजार ६ सय ३२ जनालाई रोजगारीको प्रस्ताव गरेका थिए।

दर्ता गरिएका उद्योगको लगानी प्रस्ताव पाँच अर्ब ११ करोड ५१ लाख रहेको छ। त्यस्तै आर्थिक वर्ष २०७८/७९ मा उद्योग दर्ता घटेर दुई हजार चार १४ मा सिमित बन्न पुगेको छ। दर्ता भएका ती उद्योगले ७ हजार दुई सय ४३ रोजगारी र चार अर्ब १४ करोड ६३ लाख लगानी प्रस्ताव गरेको घरेलु तथा साना उद्योग कार्यालय धनगढीको तथ्यांक छ।

लघु, घरेलु तथा साना उद्योग दर्ता गत आर्थिक वर्ष २०७९/८० मा आएर झण्डै आधाले घटेको छ। सो अवधिमा ११ सय ९७ उद्योग मात्र दर्ता भएका छन्। दर्ता भएका ती उद्योगले चार हजार दुई सय ३४ रोजगारी र दुई अर्ब २२ करोड १७ लाख रोजगारी प्रस्ताव गरेका छन्। यसरी पछिल्लो समय उद्योग दर्ता, रोजगारी र लगानी प्रस्ताव घट्दै गएको पाइएको छ।

साथै २०७७ मा एक सय ४०, २०७८ मा एक सय ३२ र २०७९ मा पनि एक सय ३२ गरी चार सय चार उद्योग बन्द भएका छन्। आर्थिक वर्ष २०७९/८० मा जिल्लाभित्र १ सय ७६ उत्पादनमुलक, ६ सय २८ कृषिमुलक, १ पर्यटनमुलक, ७ सूचना प्रविधि सम्बन्धी र ३ सय ८५ सेवामुलक गरी एक हजार एक सय ९७ नँया लघु, घरेलु तथा साना उद्योग दर्ता भएका थिए।

साथै सो अवधिमा घरेलु तथा साना उद्योग कार्यालय, कैलालीका अनुसार उद्योगी तथा व्यवसायीहरुले दर्ता खारेजी गर्नुको मुख्य कारण आर्थिक मन्दी, कच्चा पदार्थको अभाव, बढ्दो लागत र मूल्य वृद्धि लगायत रहेको बताउने गरेका छन्। बन्द हुनेमा अधिकांश कृषि क्षेत्र, उत्पादनमुलक, सेवामुलक, होटल तथा पर्यटन उद्योगहरु रहेका छन्। आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत वर्ष नयाँ उद्योग दर्ता करिब ५० प्रतिशतले, रोजगारी संख्या ४१ दशमलव ५ प्रतिशतले र कुल लगानी रकम ४६ दशमलव ५ प्रतिशतले घटेको छ भने उद्योग दर्ता खारेजीको संख्या ७५ दशमलव ७५ प्रतिशतले वृद्धि भएको छ।