वर्षायाममा झरी पर्दा रमाउनेहरू धेरै छन् । पानी परेको आवाजमा लठ्ठ पर्दै मस्त निदाउनेहरूको पनि कमी छैन । तर, पानी परेपछि निद्रा हराम हुनेहरू पनि कम छैनन् । उनीहरूलाई असार–साउन नै नआइदिए हुन्थ्यो जस्तो लाग्छ । गत वर्षको वर्षायामले धेरैलाई सतायो ।
अघिल्लो बर्षमा कैलाली कञ्चनपुरमा बाढीले धेरै मानिसको जीवनलाई भताभुंग पारिदियो । पहाडी जिल्लाहरुमा पहिरोले लाखौंको बस्ने बास बगाइदियो । बाँच्ने आश पनि बगाइदियो । यो वर्ष पनि निरन्तर पानी परिरहेको छ । यो वर्षको पानीले पनि कति ठाउँका बासिन्दाको निद्रा हराम गरिदिएको छ ।
धनगढी उपमहानगरपालिकाका वासिन्दाहरु अझै पनि ठूलो पानी पर्दा पुनः डुवानमा पर्न सक्ने त्रासमा छन् । तर धनगढी नगर क्षेत्रमा खोला नाल अतिक्रमण र विकास निर्माणका कामहरुले नगर क्षेत्र डुवानमा परेको वडा नम्बर ३ की स्थानीय वासिन्दा कमला शर्माले बताईन् ।
धनगढी उपमहानगरपालिका जलमग्न भई यहाँका घर घरमा पानी पसेको छ । पानीको निकास हुन नसकेकाले मुख्य सडक जलाशयमा परिणत भएको छ । धनगढीका मुख्य सडक र सहायक सडकहरुमा दुई फिटभन्दा अधिक पानी जमेको छ ।
एकातिरबाट ६ लेन सडक र अर्कोतिर रिंग रोड भएपछि धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का अधिकांश घरहरुमा पानी पसेको छ । पानी निकासको व्यवस्था नहुँदा घरहरु डुवेको स्थानीय छविराज लामिछानेले बताए ।