एक वर्षपछि आउछु भन्थे, युक्रेनमा अस्ताए कञ्चनपुरका बिष्ट
2024/05/10, 11:06
 
ss

रुसी सेनामा कार्यरत कञ्चनपुरको भीमदत्त नगरपालिका–९ सुन्दरपुरका ४५ वर्षीय बिराजन बिष्टको मृत्यु भएको छ । एउटै मोर्चामा संगै रहेका ४३ वर्षीय भाई निराजन बिष्टलाई बाहिर राखेर बंकरभित्र पसेका बिराजनको एम्बुस बिष्फोटमा मृत्यु भएको हो । युक्रेनी भूभाग तोकमाकमा उनको मृत्यु भएको हो । उनीहरुसंगै रहेका धनगढीका युवकको मृत्यु भएको बताईएको छ । तर त्यसको औपचारिक पुष्टि हुन भने सकेको छैन । संगै रहेका रुसी सैनिकले बिराजनको मृत्यु भएको पुष्टि गरेको हो ।

बैतडी पुर्चौडी गोरा गाउँ पुख्र्यौली घर भएका बिष्टको हाल महेन्द्रनगरसंगै सानो ठिमी भक्तपुरमा समेत बसोबास छ । मृतक बिष्टका पत्नी, एक छोरा र एक छोरी छन् । छोरा ईञ्जिनियरिङ र छोरी ११ कक्षामा अध्ययनरत छन् । १० वर्ष नेपाली सेनामा काम गरेका बिष्ट द्धन्दकालमा सेनाको स्पशेल फोर्स रेञ्जर बटालियनका सदस्य थिए । सन २००८ मा सेनाको जागीर छोडेर सिंगापुर गएका बिष्टले त्यहाँ क्रुजमा काम गरे । उनको पारिश्रमिक आकर्षक थियो । ७र८ वर्ष त्यहाँ काम गरेपछि उनी दुबई प्रहरीमा भर्ना भए ।

दुबई प्रहरीको अध्यागमनमा कार्यरत बिष्ट तिहारमा बिदामा काठमाण्डौंस्थित घर आएका थिए । सोही क्रममा दाजुभाईका बीचमा संवाद भयो । करातेका ब्ल्याकबेल्ट बिष्ट दाजुभाई हक्की स्वभावका थिए । ऐश्वर्य विद्या निकेतन धनगढीबाट आईएस्सी गरेका बिराजनको फौजमा रुचीमा थियो । र, उनी नेपाली सेनाको जागीर छोडे पनि विदेशमा फौजमै रहेर काम गरे ।

निराजन भने महेन्द्रनगरमा बस व्यवसायमा संलग्न थिए । उनी महेन्द्रनगर सुर्खेत रुटमा बस चलाउथे । तिहारमा दाई बिराजनसंगको संवादपछि निराजन बस घरको आगनमा राखेर  रुस तर्फ लागे । रुस जादा लागेको ५ लाख रुपैया पनि बिराजनले व्यहोरेको बताईएको छ । छोरा मान्छे भईसकेपछि अलि जोखिम लिनुपर्छ भन्दै उनले भतिजा नाता पर्नेलाई समेत बिराजनले रुसी सेनामा भर्ना हुन सुझाव दिएका थिए । तर उनले भने जोखिम नलिने भन्दै जान मानेनन ।

तिहारको विदा सकिएपछि बिष्ट फर्केर दुबई गएनन । रुसी सेनामा भर्ना भए । नेपालबाट फर्किदा उनीसंगै गएका भाई निराजन र बिष्ट थरका अर्का एक युवक पनि रुसी सेनामा भर्ना भए । त्यसयता उनी लगातार युद्धको मोर्चामा खटिएका थिए । हरेक दिन मृत्युसंग जुधेका बिष्टले भाई कृष्ण धानुकलाई भन्ने गर्थे, बढिमा एक वर्ष लड्ने हो । त्यसपछि फर्केर दाजुभाई काठमाण्डौंमा संगै बसौला ।

बिष्टका मामाका छोरा कृष्ण डेनमार्क बस्दै आएका छन् । अनुकुल मिलेपछि युद्धको मोर्चाबाटै कृष्णसंग उनले तारन्तार मेसेञ्जरमा कुरा गर्थे । युद्धका तस्वीरहरु पठाउथे । ईञ्जिनियरिङमा स्नातक गरिरहेका छोरा र प्लस टु पढदै गरेकी छोरीको पढाई खर्च र त्यसपछि उनीहरुको बिबाहका लागि ठूलो रकम आवश्यक पर्ने भएकोले रुसी सैनिकमा भर्ना भएको बिष्टले भाई कृष्णलाई बताएका थिए ।बुढेसकालमा संगै बसेर रमाईलो गरौला भन्नुहुन्थ्यो, धानुकले भने, तर संगै रमाईलो गर्ने दाईको सपनाको युक्रेनमै अवसान भयो ।

युद्धमा खटिएको बेला बिष्टले दिएको जानकारी अनुसार रुसी सेनामा कार्यरत नेपालीहरुले न्युनतम मासिक तलव दुई लाख ९५ हजार पाउने गरेका थिए । त्यस बाहेक युद्धमा खटिए वाफत दैनिक १९ हजार भत्ता पाउने गरेका थिए । पारश्रमिक भने उनीहरुका नाममा खोलिएको रसियाको खातामा जम्मा हुने गरेको छ । बिष्टले बढिमा एक वर्ष युद्धमा खटिने र त्यसपछि पैसा कमाएर फर्किने सोच बनाएका थिए । धानुकले भने, दाईले एक वर्ष कटाउछु । अनि फर्किन्छु भन्नु भएको थियो । एक वर्ष नहुदै मृत्यु भएको खवर आयो ।

धानुकसंगको संवादमा बिष्टले भन्ने गरेका थिए, भाई यहाँ वान टु वान लडाईमा मरिदैन । ड्रोनको आक्रमणमा मर्ने खतरा हुन्छ । पश्चिम टुडेसंगको कुराकानीमा धानुकले भने, दाईले ड्रोनको आक्रमणमा मर्ने जोखिम हुन्छ भन्नुहुन्थ्यो, एम्बुसमा परेर उहाँको मृत्यु भएको खवर पाए । यद्दपि लडाईको मोर्चामा भएकोले जुनसुकै बेला मारिने जोखिम रहेको बिष्टले बताउने गरेका थिए । बिष्टले संवादका क्रममा जहिल्यै भन्थे, भाई आजसम्म भगवानले बचाएको छ । यद्दपि हाम्रो बाँच्ने संभावना कम छ । हाम्रो लागि भगवानसंग प्रार्थना गर्नु है, भाई ।

रुसी सेना यतिबेला युक्रेनको भूभागमा युक्रेनी सेनासंग लडिरहेको छ । युक्रेनकै भूभागमा बिष्टको मृत्यु भएको हो । युक्रेनी सेनालाई परास्त गरेको एउटा मोर्चाको अगुवाई बिष्टले गरेका थिए । त्यहाँ रहेको बंकर भित्र पस्ने क्रममा एम्बुसमा परेर बिष्टको मृत्यु भएको बताईएको छ । आफू बंकर भित्र पस्ने क्रममा संगै रहेका भाई र अरु साथीहरुलाई पछाडि रहन बिष्टले सुझाव दिए । र, आफू भित्र पसे । त्यही क्रममा उनी एम्बुसमा परे । एम्बुस बिष्फोटमा परी साथमा रहेका अन्य नेपाली सैनिक घाईते भएको बताईएको छ । तर उनीहरुको अवस्था भने अज्ञात छ ।

एक महिना अघि बिष्ट युद्धको मोर्चामा थिए । त्यही बेला यो पंक्तिकारले उनीसंग त्यहाँको युद्ध र नेपालीको अवस्थाका बारेमा जानकारी लिन सम्पर्क गरेको थियो । पछि उनले धानुक मार्फत खवर पठाए, एउटा युद्धको एउटा मोर्चामा जितेर आए । अर्को मोर्चामा लड्न जादैछु । त्यहाँबाट फर्केपछि कुरा गर्छु । र, सबै जानकारी दिन्छु ।

यो बीचमा उनीसंग संवाद हुन पाएन । बिहीवार उनको मृत्यु भएको खवर आयो । बिष्टको मृत्यु गत शुक्रवार भएको अनुमान गरिएको छ । तर शनिवार साँझ परिवारले जानकारी साँझ परिवारले पाएको थियो । युक्रेनमा अस्ताएका बिष्टका परिवाजनले शव पाउने संभावना नरहेपछि बिहीवार कुँशको शव बनाएर कञ्चनपुरस्थित महाकाली नदीमा उनको अन्त्येष्टि गरे । छोराले कुशको शवमा दागबत्ती दिए ।