बर्खामा सधैँ बल्झिन्छ भजनीको घाउ
2024/08/23, 10:56
 
ss

भजनीवासी बुधवार मस्त निद्रामा थिए । मध्यरातमा होहल्ला सुरु भयो । एकपछि अर्को गर्दै घरबाट बाहिर निस्कन थाले । केहीको घर डुबान भइसकेको थियो भने केहीको घरमा पानी पस्न थालेको थियो । करिब ६ घण्टा निरन्तर भएको वर्षाले यहाँको जनजीवन क्षणभरमै पुर्णरुपमा प्रभावित बन्यो ।

प्रभावितहरू अहिले पनि हुलाकी सडकमा पाल टाँगेर बसेका छन् । केही वडा कार्यालय, विद्यालयमा बसिरहेका छन् । असारदेखि असोजसम्म यहाँका स्थानीयले प्रत्येक वर्ष यहि नियति झेल्न बाध्य हुन्छन् । ‘प्रत्येक वर्ष हामीलाई बाढीले यसरी नै सताउने गरेका छ । पानी परेपछि हामी प्रभावित हुन्छौँ पानी रोकिएपछि घर फकिन्छौँ’ भजनी नगरपालिका ३ का रामकुमार चौधरीले भने ।’

दुई दिन देखी परेको वर्षाले यहाँका ४ हजार ५ सय बाढी व्यक्ति प्रभावित भएका छन् । अहिले पानी रोकिएपछि त्रास भने रोकिएको छैन । हुलाकी सडकमा रात भरी पाल टाँगेर बसेकाहरू अहिले घर फर्किन थालेका छन् । तर, उनीहरूलाई फेरि कति बेला हुलाकी सडकको बास गर्नुपर्ने हो त्यसको चिन्ताले पिरोलिरहन्छ ।

अहिले पानी रोकिएपछि स्थानीयहरू घर फर्किन थालेका छन् । तर, घरभित्र पानी पसेको, घर भत्किएको र क्षति पुगेको हुँदा उनीहरूलाई तत्काल नै घर फर्किएर बस्न पनि सहज भने देखिएको छैन ।

‘अहिले घर पानी रोकिएको छ तर, त्रास रोकिएको छैन’ जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशी भन्छन्, ‘फेरि पानी पर्ला कि भन्ने चिन्ताले उनीलाई पिरोलेको देखिन्छ ।’

बाढीको पूर्व सूचना प्रणालीका कारण यहाँ बाढी आउन भन्दा पहिल्यै स्थानीयले थाहा पाइसको हुन्छन् । जसका कारण भौतिक क्षति भएपनि मानवीय क्षति भने भएको छैन । तर, प्रत्येक वर्ष बाढी गाउँ पस्दा अन्नबाली, लत्ता कपडा, खाद्यान्न लगायतमा पुराउने क्षतिले स्थानीय प्रताडित भएका छन् ।

अनुगमनको लर्को

बाढीमा आएपछि तीनै तहका सरकारका प्रतिनिधि, सरकारी तथा गैरसरकारी निकायका व्यक्तिहरूको अनुगमनको ओइरो लाग्छ बाढी प्रभावित क्षेत्रमा । प्रत्येक वर्ष अनुगमनको लर्को लागे पनि अहिलेसम्म समस्याको समाधान गर्न कुनै ठोस पहल भने भएको देखिएको छैन ।

अघिल्लो वर्ष साउनको अन्तिम सातामा पनि यस वर्ष जस्तै बाढीले भजनी नगरपालिका स्थित कुशुमघाट, ढुसी, बर्दवा, कनैयापुर, बहादुरपुर, जनकपुर, मिजाहा र सोनाफाँटाका अधिकांश घरहरू डुबानमा परेका थिए । मङ्गलवार डुबान भएपछि त्यसको भोलि पल्टै सुदूरपश्चिम प्रदेशका सभामुख भीम भण्डारी सहितका मन्त्री र सांसद निरीक्षणमा निस्किए ।

त्यस दिन सभामुख भण्डारी सहित तत्कालीन भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरी, नागरिक उन्मुक्ति संसदीय दलका नेता घनश्याम चौधरी, नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारी सांसदहरू ललिता सुनार, खेमा विष्ट, इन्दिरा गिरि, डा। तारा जोशी लगायतले प्रभावित क्षेत्रको निरीक्षण गरे ।

सभामुख सहितको टोलीले निरीक्षण गरेर फर्किएको चार दिन पछि तत्कालीन मुख्यमन्त्री सहित मन्त्री र सांसद सोही क्षेत्रमा निरीक्षण गर्न पुगे ।

उक्त टोलीमा मुख्यमन्त्री कमल बहादुर शाह सहित तत्कालीन भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवा, आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्ट, उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री रमेश धामी, भूमि, व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री कैलाश चौधरी, नागरिक उन्मुक्ति संसदीय दलका नेता घनश्याम चौधरी लगायत प्रदेशसभा सदस्य तथा पार्टीका नेता कार्यकर्ता थिए ।

मुख्यमन्त्री सहितको टोलीले अनुगमन गरेको तीन दिन पछि फेरी अर्थ विकास तथा प्राकृतिक स्रोत समितिले सोही ठाउँको निरीक्षण गरेको ग¥यो । समितिका ज्येष्ठ सदस्य मानबहादुर रावल सहित सदस्यहरू दीर्घ सोडारी, चक्र मल्ल, जानकी देवी कुवर, ललित परियार, घनश्याम चौधरी, मेघराज खड्का पनि थिए ।

सरकारी निकाय गाडीको लावालस्कर लगाएर अनुगमनमा पुगेर फर्किएको एक वर्षपछि फेरि त्यही ठाउँमा बाढीले ठूलो क्षति पुराएको छ । त्यो बेला अनुगमनमा गएको मुख्यमन्त्री फेरि मुख्यमन्त्री भएका छन् । समितिको सदस्य हुँदा अनुगमनमा गएका दीर्घ सोडारी बिचमा मुख्यमन्त्री बने । तर, पानी बाढी प्रभावित क्षेत्रमा समस्या समाधान गर्न सरकारले कुनै ठोस पहल गरेन । जसका कारण अघिल्लो वर्ष जस्तै नियति यस वर्ष पनि भजनीवासीले खेप्नु परेको छ ।

‘अनुगमनमा आउनेहरू राहतको आश्वासन दिएर जान्छन् । तर, आज सम्म केहि भएको छैन’ ढुसी गाउँकी कृष्णा चौधरीले भनिन्, ‘ हामीलाई खाना, पानी र बासको समस्या छ । रोगको डर पनि उस्तै छ अब आश्वासन होइन, राहत चाहियो ।’ वर्षौँदेखि बेहोर्दै आएको समस्या भएको हुँदा सरकारले अब सुरक्षित आवासको व्यवस्था गर्नु पर्ने उनको माग छ ।

सधैँ पाउँछन् आश्वासन मात्रै

काडा, पथरैया, मोहना र कन्द्रा नदीको संगम क्षेत्रका रूपमा रहेको भजनी नगरपालिकामा यस पटक मात्रै बाढीले समस्या निम्त्याएको होइन । यहाँ प्रत्येक बर्ष यस्तै समस्या हुन्छ । बाढी आएपछि उहाँ आउने राहत भन्दा पहिले अनुगमन र आश्वासन मात्रै हो । प्रदेश सरकारको यो कार्यकाल मात्रै होइन अघिल्लो कार्यकालका मुख्यमन्त्री, मन्त्री , समिति सभापति तथा सदस्यहरू अनुगमनमा नपुगेका भने होइनन् । तर, आफ्नो कार्यकाल पुरा गर्दा पनि बाढी प्रभावितहरूको माग पुरा गरेनन् ।

१४ साउन २०७८ मा आएको बाढीले हजारौँ घर डुबानमा पर्‍यो । सयौँ परिवार विस्थापित भए । त्यो बेला कैलालीमा ६ हजार ३२० घर डुबानमा परेका थिए । त्योमध्ये भजनी नगरपालिकामा मात्रै २ हजार १८० घर डुबानमा परे ।  १४ साउनमा बाढी गाउँ पसेपछि सुदूरपश्चिम प्रदेश सरकारका तत्कालीन प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह दलबलसहित बाढी प्रभावित क्षेत्रको निरीक्षणमा पुगे ।

सरकारका प्रवक्ताले बाढी प्रभावित क्षेत्रको निरीक्षण गरिसकेपछि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनीता चौधरी पनि पीडितको पीडा बुझ्न पुगिन् ।

उनीसँगै थिए तत्कालीन संघीय सांसदका सदस्य तथा पूर्व कृषि मन्त्री गौरीशङ्कर चौधरी । प्रदेश सरकारका वर्तमान कृषि मन्त्री र संघीय सरकारका पूर्व कृषि मन्त्री भजनी पुगे । तर त्यो बेला पनि पुगेन गतिलो राहत ।

त्यसपछि प्रदेशसभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको जम्बो टोली नै निरीक्षण गर्न पुग्यो । सोही दिन प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता डा। रणबहादुर रावल पनि निरीक्षणमा पुगेका थिए ।

समितिले निरीक्षणपछि सरकारलाई तत्काल राहत र पुनः स्थापनाको लागि निर्देशन दियो । तर अहिलेसम्म न पुनः स्थापनाको पहल सम्म भएको छैन । बाढी गएको १७ दिनपछि मुख्यमन्त्री त्रिलोचन भट्ट नै निरीक्षणमा निस्किए । मुख्यमन्त्रीसँग अन्य केही मन्त्री, प्रदेशसभा सदस्य र राष्ट्रियसभा सदस्य पनि थिए ।

मुख्यमन्त्री भट्टले डुबान क्षेत्रको अनुगमन गर्दै तत्काल र दीर्घकालीन योजना बनाएर समस्या समाधान गरिने बताएका थिए । तर, त्यो पनि हुन सकेको छैन । प्रत्येक वर्ष अनुगमनमा आउनेहरूले सामान्य व्यवस्थापनमा चासो दिएको भए पनि बाढी पीडितका केही समस्या हल हुन सक्ने यहाँका स्थानीयको बुझाइ छ । तर, सरकार र संसदीय समिति अनुगमनमा मात्रै केन्द्रित बनेको छ ।