सुदूरको कुनामा बाँचिरहेकी चेलीको व्यथाः देश फर्के ज्यानलाई खतरा छ !
2020/07/10, 4:22
 
dailasis

सोनु सिनाल-  लकडाउनलाई सुरुमा मैले सामान्य रूपमा लिएकी थिएँ । पहिला पनि बेलाबेला सीमा बन्द हुन्थ्यो, तैपनि म कञ्चनपुरको गड्डाचौकीबाट डायलसिसका लागि सीमापारि खटिमा अस्पताल आउजाउ गरिरहन्थें । देशमा खाएको हन्डरले नै उपचारका लागि मलाई हरेक हप्ता दुई पटक भारततिर धकेल्थ्यो । तर यसपालि एम्बुलेन्स र बिरामीको आउजाउ पनि ठप्पै पारिएछ ।

२०७६ चैत १२ गते । डायलसिसका लागि म एम्बुलेन्समा भारततिर लागें । एम्बुलेन्स चालकले शंका गरेझैं हामीलाई सीमापारि जान दिइएन । भारतीय सुरक्षाकर्मीले हाम्रो आग्रह सुनेनन् । सासूआमा र म घर फर्कियौं । डायलसिस नगरेको चार दिन भइसकेको थियो । चिन्ताको भारी बढ्दै थियो । निकै भनसुनपछि धनगढीको सेती अस्पतालमा डायलसिसको कुरा मिल्यो । महेन्द्रनगरबाट धनगढी जान एम्बुलेन्स बाहेक विकल्प थिएन । तर एम्बुलेन्स पाउनै सकस भयो । बल्लतल्ल चैत १३ गते फेरि एम्बुलेन्समा अस्पताल पुग्यौं । श्रीमान् पूर्वरेडियोकर्मी भएकाले धेरै ठाउँमा सहयोगका लागि फोन गरेर प्रदेश सरकारका प्रभावशाली नेताहरूसम्म कुरा पु¥याउन सकेपछि बल्ल काम बन्ने भयो ।

डायलसिस सुरु हुनअघि अस्पतालको प्रयोगशालामा मेरो रगत जाँच भयो । हेपाटाइटिस लगायत कुनै पनि भाइरल समस्या देखिएन । तर डायलसिस सुरु भएको दुई घण्टापछि डाक्टरहरूले मेरो हिस्ट्रीमा हेपाटाइटिस सी भएको बुझे । त्यसपछि उनीहरूले निजी प्रयोगशालामा हामीले नै पैसा तिर्ने गरी फेरि रगत जाँच गराए । बाहिर गरेको जाँचमा हेपाटाइटिस सी पोजेटिभ देखायो । एकपटक हेपाटाइटिस भएको मान्छेलाई उपचार गरिसके पनि भाइरल मार्क टेस्टमा पोजेटिभ नै देखिन्छ । उपचार गरिसकेको बिरामीको अवस्था पत्ता लगाउन एचसीभी आरएनए टेस्ट गर्नुपर्छ । यो जाँच धनगढीमा हुँदैन । तर मसँग भएका काठमाडौं र भारतमा पहिला गरेको सो जाँचका तीनवटा रिपोर्ट उनीहरूलाई देखाएँ ।

सोही रिपोर्टका आधारमा मलाई सामान्य बिरामीसरह सेवा दिन सकिन्छ भनेर भारत र भक्तपुर मानव अंग प्रत्यारोपण केन्द्र अस्पतालकै डाक्टरले लेखेका पर्चा र पत्रसमेत देखाएँ । तैपनि डाक्टरले मलाई मुद्दा हाल्नेसम्मको धम्की दिँदै डायलसिस बन्द गर्न आदेश दिए । नेपालमा सेवा पाउन विभिन्न अस्पताल धाउँदै गर्दा मैले पनि बिरामीको अधिकारबारे बुझिसकेकी थिए । प्रतिवाद गरेपछि मात्र उनले चार घण्टाको प्रक्रिया पूरा गर्न दिए । सेती अस्पतालमा निःशुल्क डायलसिस पाउने सूचीमा आफ्नो नाम भए पनि मैले पैसै तिरेकी थिएँ । डायलसिस सकिएपछि पुनः सेवा नदिने भन्दै उनीहरूले पठाए ।

सेती अस्पतालको गेट हाम्रा लागि बन्द भएपछि नेपालगन्ज जाने निर्णय ग¥यौं । त्यहाँ हेपाटाइटिसको बिरामीका लागि छुट्टै मेसिन थियो । हेपाटाइटिस सी को उपचार भैसकेपछि फेरि यस्तो छुट्टै मेसिनमा बस्नुपर्दैन । तैपनि लकडाउनले मेरा लागि जिउने बाटाहरू साँघुरो पारिसकेको थियो । नेपालगन्जको अस्पतालकै परिचित एक कर्मचारीसँग पक्का कुरा गरी हामी एम्बुलेन्समा कोहलपुर पुग्यौं र त्यसको भोलिपल्ट बिहानै सात बजे नेपालगन्ज पनि । तर अस्पतालले मेसिन बिग्रेको भन्दै डायलसिस नहुने भन्यो । ८ हजार ५ सय रुपैयाँ भाडा तिरेर २२० किलोमिटर यात्रा गरी आएकी बिरामीलाई यस्तो जवाफ !

मैले काठमाडौंमा रहेका श्रीमानलाई यसबारे फोनमा जानकारी गराएँ । उनले मलाई आश्वस्त पार्दै उपाय खोज्ने बताए । तर अस्पतालले कुनै पनि हालतमा सेवा दिन नसकिने भनिरह्यो । ६५ वर्षीया सासू र म दिनभरि अस्पतालको तलमाथि गरिरह्यौं । एकाएक साँझ परेपछि मात्र अस्पतालले एकपटकको ८ हजार तिर्न सक्ने भए डायलसिस गरिदिने भन्यो । चार दिनदेखि डायलसिस हुन नसकेको, त्यसमाथि दिनभरिको शारीरिक र मानसिक थकान, हामी तयार भयौं । रगत जाँच, बेड भर्नालगायत गरी थप २ हजार र डायलसिसको अग्रिम भुक्तानी लिएपछि पालो कुर्न भनियो । मलाई राति आठ बजे मात्र डायलसिस कोठामा लगियो । तर नेपालगन्ज मेडिकल कलेजका नर्स र डाक्टरहरूले मेरो फिस्टुलाबाट रगत तान्नै सकेनन् । डायलसिसका लागि रगत बाहिर निकाल्न नसाहरू जोडेर शल्यक्रिया गरी तयार पारिएको फिस्टुला नै बिग्रिने चिन्ता थपियो । नर्सहरूको अज्ञानताले यस अघि दुई पटक फिस्टुलामा समस्या आइसकेको थियो ।

मैले भारतमा डायलसिस गर्ने अस्पतालको मान्छेसँग भिडियो कलमा कुरा गराएँ । धेरै कोसिस गर्दा पनि उनीहरूले रगतै तान्न सकेनन् । भारतकै प्राविधिकको सल्लाह अनुसार खुट्टाबाट अस्थायी पाइप राखे अनि राति एघार बजे डायलसिस सुरु भयो । बीचबीचमा फेरि पनि रोकिँदै दुई बजे राति मात्र डायलसिस सकियो । डायलसिस गर्नकै लागि कञ्चनपुरबाटै अर्का बिरामी पनि आएका थिए । उनलाई पनि सुरुमा डायलसिस हुन नसक्ने भनिएको थियो । तर हामीले कुरा गर्दैगर्दा उनको पनि प्रसंग चलेकाले अस्पतालले काम गरिदियो । हामीलाई अर्कोपल्ट आउन भने नेपालगन्ज अस्पतालले पनि ढोका बन्द गरेको जनायो । हामी भोलिपल्ट बिहानै महेन्द्रनगरतिर लाग्यौं, बल्लबल्ल भेटिएको एम्बुलेन्समा अरू बिरामीसँग भाडा आधाआधा गरेर ।

सामान्यतया घर पुग्दा मानिस खुसी हुन्छ । डर, चिन्ता र तनाव कम हुन्छ । ममा भने चिन्ता बढ्दै थियो । अबको चार दिनमा फेरि डायलसिसको बन्दोबस्त नभएमा मृत्यु नजिकिन सक्थ्यो । राज्य र तिनका व्यवस्थापकहरूलाई हाम्रा समस्या झिनामसिना लाग्दा हुन् । त्यसैले नै महामारीमा हामीजस्ता बिरामीहरूको कठिनाइबारे कम ख्याल भयो । हामीले हिम्मत भने हारेनौं । रोजीरोटी र उपचारको खर्च जुटाउन काठमाडौंमै अड्किएका श्रीमान्ले उतैबाट कोसिस गरिरहे । नियमित उपचारमा जाने भारतको खटिमा अस्पतालका लागि हामीले स्थानीय निकायसम्म कुरा पु¥याउन कोसिस ग¥यौं । म बस्ने नगरपालिकाका मेयरले जिल्ला विपत् व्यवस्थापन समितिमा डायलसिसका बिरामीको समस्या समाधानको कुरा उठाउनुभयो । केन्द्रदेखि स्थानीय तहसम्मबाट कुरा पु¥याएपछि सीडीओले भारततर्फ कुरा गर्ने आश्वासन दिए । श्रीमान्का एक साथीको सम्पर्कबाट भारतका डीएम (डिस्ट्रिक्ट मजिस्ट्रेट) सँग कुरा भएपछि हामीले पास पायौं । कम्तीमा बोल्न सक्ने हामी मान्छेको हालत यो थियो, सामान्य मानिसको हालत के होला भन्ने कल्पनासम्म गर्ने अवस्था थिएन । लकडाउनको समयमा कतिपय आफैंले चिनेका मृगौला रोगीहरूले डायलसिस नै नपाएर ज्यान गुमाएको देखेपछि मलाई झनै छटपटी भएको थियो ।

२०७६ चैत २२ गते भारत छिर्ने योजना स्वरूप एम्बुलेन्ससँग कुरा ग¥यौं । तर एम्बुलेन्स पारि जान पाउने कि नपाउने, पाए कहाँसम्म जान पाउने भन्ने केही टुंगो थिएन । पारि पनि कडा लकडाउन सुरु भइसकेको थियो । असजिलो नहोस् भनेर भारतको अस्पतालमा कुरा गरी आवश्यक परे त्यहाँको एम्बुलेन्सलाई पनि सीमासम्म आउन भन्यौं । सवाल जीवनमरणको थियो, अन्तिम साससम्म बाँच्ने आश त राख्नैप¥यो ! बिहान ८ बजेतिर सासू, मेरी बहिनी र म एम्बुलेन्समा गड्डाचौकी पुग्यौं । भारतको एसएसबीले फर्काइहाल्छ भनेर नेपाल प्रहरीले हामीलाई त्यहीँबाट फर्किन भन्यो । हामीले पास देखाउँदै उताको डीएमसँग कुरा भएको जानकारी दियौं । प्रहरी विश्वस्त नभए पनि हामीलाई रोकेन । नेपाल–भारत सीमाको ७ नम्बर पिलर नजिकै हामीलाई एसएसबीले हतियार देखाउँदै रोकिन आदेश दियो ।

हामीले फेरि पास देखाउँदै डीएमसँग कुरा भएको जानकारी दियौं । एसएसबीले भने त्यस्तो कुनै जानकारी आफूलाई नआएकाले फर्किन भने । हामीले यसबारे तुरुन्तै सीडीओ र मेयरलाई जानकरी दियौं । उनीहरूले सशस्त्र प्रहरीका एक जनालाई एसएसबीसँग कुरा गर्न पठाए । तर एसएसबीले आफू केन्द्रीय सरकारमातहत भएकाले प्रदेश सरकारको डीएमको आदेश मान्न बाध्य नहुने बतायो । अब के गर्ने ? आश मार्ने त कुरै भएन । दस वर्षयता यस्ता समस्या पहिला पनि आएका थिए । यता हात जोड्दा र उता हात जोड्दा, सम्पर्क विस्तार गर्न र सम्बन्धलाई कसिलो बनाउन धेरै समय खर्चिर्सकेका थियौं । कुनै पनि बेला कुनै पनि सम्पर्कले काम गर्न सक्थ्यो, जीवन बचाउन सघाउँथ्यो । यसअघि उपचारकै सिलसिलामा पटक पटक दिल्ली पुगेका बेला जेएनयुमा पढ्ने एक नेपालीसँग श्रीमानको राम्रै सम्बन्ध बनेको थियो । राजनीतिक पहुँच राम्रै भएका उनैको सम्पर्कबाट त्यस दिन पनि नेपाल स्थित भारतीय दूतावाससम्म कुरा पु¥याइयो । यससँगै श्रीमान्का अर्का साथीको सम्पर्कबाट उनका मामा पर्ने उत्तराखण्डका सांसदसम्म पनि कुरा पुग्यो ।

उताबाट समन्वयका लागि पहल गर्ने आश्वासन पाइयो । केन्द्रमा कुरा हुन लागेको भन्दै हामीले एसएसबीलाई आग्रह गरी नै राख्यौं । लगभग तीन घण्टाको थप प्रयासपछि एसएसबीलाई सबै प्रक्रिया पूरा गरेर सहयोग गर्न आदेश आएछ । एसएसबीले हामीलाई केही समय कुर्न भन्यो । दिउँसोको एक बजिसकेको थियो, हामी भोकै थियौं । तनाव र लगातार फोनमा कुरा गरिरहनुपरेकाले लखतरान भइसकेका थियौं । श्रीमानले गड्डाचौकीमै घर भएका एक साथीलाई खानेकुराका लागि आग्रह गरेछन । एम्बुलेन्स चालकलाई पनि फर्किन हतार भइसकेको थियो ।

दुई बजेतिर एसएसबीले आफ्नो डाक्टरलाई बोलायो र हामी तीनै जनाको कोरोना परीक्षण भयो । अनि हामीले भारत छिर्न पायौं । श्रीमान्का साथीले खाना ल्याएर आएको भन्दै ७ नम्बर पिलरनजिकबाट फोन गरे । तर हामी त्योभन्दा एक किलोमिटर पश्चिम एसएसबीको क्याम्पपारि पुगिसकेका थियौं । मुखैमा आएको गाँस पनि छाड्नुप¥यो । नेपाल–भारतको त्यो पश्चिमी सीमा मैले धेरैपटक पार गरेकी छु । तर त्यस दिन मलाई ठूलै युद्ध जितेझैं महसुस भयो । वनबासा पुल पार गर्दै गर्दा आत्मविश्वास निकै बढेको थियो, पेट खाली नै भए पनि । लाग्यो— मैले मृत्युमाथिको युद्ध फेरि एक पटक जितें ।

हामी पन्ध्र मिनेटमा खटिमा पुग्यौं । अस्पतालमा पहिल्यै कुरा भइसकेकाले पुग्नेबित्तिकै सबैभन्दा पहिले डायलसिस सुरु ग¥यौं । खाना पनि डायलसिस गर्दागर्दै खायौं । डायलसिस सकिएपछि म अस्पतालको एउटा वार्डमा सिफ्ट भएँ । तर समस्या सकिएको छैन । किनभने लकडाउनका बेला हामी नेपालबाट भारत पुगेका हौं । त्यसैले लुकेर बस्नुपरेको छ । क्यान्टिनबाट खाना ल्याउँदासमेत लुकेर हिँड्नुपर्छ । नयाँ मान्छे देखेर कसैले प्रहरीलाई खबर गरेमा क्वारेन्टिन पठाइदिने डर छ । आफ्नै देशमा उपचार हुँदो हो त म जस्ता बिरामीले पाइलापाइलामा यस्तो भुक्तमान बेहोर्नुपर्ने थिएन ।

आफैं मृगौला पीडित प्रधानमन्त्रीले मृगौला उपचारका लागि नेपालमै राम्रो वातावरण बनाइदिए कस्तो हुन्थ्यो होला ! अहिले खटिमामै अस्पतालको बसाइ छ । खाना, खाजा अनि उपचार । खर्च दुई गुणा बढेको छ । यसले देशको सुदूर कुनामा बाँचिरहेको यो दलित परिवारमा अर्को वज्रपात ल्याउँदै छ । बाँच्ने लालसाले सहयोगको हात फैलाउनु र जीवनको याचना गर्नु त बानी नै परिसक्यो । देशमा उपचार सेवा सहज छैन । सबै मानिसझैं विपत्का बेला देश फर्कने र जहान परिवारसँगै बस्ने चाहना त मेरो पनि छ, तर के गर्नु, देश फर्के मेरो ज्यानलाई खतरा छ ! 
सौजन्यः कान्तिपुर दैनिक