प्रदेश स्तरीय यु१९ महिला टि२० प्रतियोगीता कञ्चनपुर र कैलाली सेमिफाइनलमा प्रवेश
2025/06/28, 11:46
 
Y

फाप्लामा जारी सुदूरपश्चिम प्रदेश स्तरीय यु१९ महिला टि२० प्रतियोगीतामा समूह ए बाट कैलाली र कञ्चनपुर सेमिफाइनलमा प्रवेश गरेका छन । तिन खेलमा शत प्रतिशत जीत निकाल्दै कञ्चनपुर समूह विजेता बनेर सेमिफाइनलमा प्रवेश गरेको हो भने कैलाली तीन खेलमा दुइमा जीत र एकमा हार व्यहोर्दै समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । प्रतियोगीतामा बझाङ्गले २ खेलमा हार र एकमा जीत निकाल्यो भने अछाम भने जितविहिन हुँदै घर फर्कियो ।
शनिबार सम्पन्न पहिलो खेलमा कैलालीले बझाङ्गलाई ६ विकेटले पराजित गरेको छ । बझाङ्गले दिएको ११७ रनको लक्ष्य कैलालीले १६.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । कैलालीको जितमा कप्तान स्नेहा महराले २६ रनको अविजित पारी खेलिन । त्यस्तै चेतना कुँवरले २२,हिशिला खड्काले १७,इरांशा चौधरीले १३ तथा करुणा बिष्टले १२ रनको पारी खेलिन । बझाङ्गका लागि तिलहरी जप्रेल र रोशनी कुमारी दौल्यालले समान एक एक विकेट प्राप्त गरिन । 
तयसअघि टस जितेर पहिला ब्याटिङ गरेको बझाङ्गले कप्तान अनु कडायतको उत्कृष्ट अर्धशतकमा ७ विकेट गुमाएर ११६ रनको योगफल तयार पारको थियो । कप्तान अनुले ४३ बलमा ५ चौका र २ छक्काको मद्दतले ५५ रन बनाइन । त्यस्तै तिलहरी जप्रेलले २० रन बनाउनु बाहेक अन्य ब्याटरहरुले उल्लेखनिय प्रर्दशन गर्न सकेनन । कैलालीका लागि इरांशा चौधरीले तीन तथा कप्तान स्नेहा महराले दुइ र रचना बोहराले एक विकेट प्राप्त गरिन । आजको खेलमा पनि कप्तान स्नेहा महरा नै म्यान अफ दि म्याच चुनिइन । उनी हिजो सम्पन्न अछाम विरुद्धको खेलमा पनि म्यान अफ दि म्याच चुनिएकी थिइन ।

त्यस्तै आजै भएको दोश्रो खेलमा कञ्चनपुरले अछामलाई ८ विकेटले पराजित गर्दै समूह विजेता बनेर सेमिफाइनल प्रवेश गरेको छ । अछामले दिएको १२० रनको लक्ष्य कञ्चनपुरले १५.५ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्यो । कञ्चनपुरका लागि कमला चन्दले अविजित अर्धशतकिय पारी खेलिन । त्यस्तै कप्तान सावित्री धामीले ४१ रनको योगदान दिइन । अछामका लागि बबिता धामी र सोनु महराले समान एक एक विकेट लिइन ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अछामले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर ११९ रन जोडेको थियो । अछामका लागि इशा आउजीले अविजित ४७ रनको पारी खेलिन भने मनिसा कठायतले ३६ रन बनाइन ।  कञ्चनपुरका लागि कप्तान सावित्री धामीले २ तथा पुनम जोशीले एक विकेट प्राप्त गरिन । खेलमा अलराउण्ड प्रर्दशन गरेकी कप्तान सावित्री धामी म्यान अफ दी म्याच चुनिइन । आइतबारदेखि समूह बी का खेलहरु हुनेछन । पहिलो खेलमा डडेल्धुरा र डोटी भिड्नेछन भने दोश्रो खेलमा दार्चुला र बैतडी खेल्नेछन । 

सुदूरपश्चिम खेलकुद परिषदको आयोजनामा असार १२ गतेबाट सुरु भएको प्रतियोगीता असार १९ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगीतामा प्रदेशका ८ टोली सहभागी छन । प्रतियोगीताको विजेता टोलीले नगद २ लाख र उपविजेता टोलीले नगद १ लाख पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएकोछ । यस्तै, सान्त्वना २ टिमलाई नगद ५०/५० हजार प्रदान गरिने छ भने ‘म्यान अफ द सिरिज’ लाई २५ हजार, ‘बेष्ट ब्याट्सम्यान’ र ‘वेष्ट बलरलाई १५/१५ हजार तथा ‘उदयमान खेलाडी’ लाई १० हजार र ‘म्यान अफ द म्याच’ को रुपमा २ हजार रुपैयाँ प्रदान गरिनेछ ।