प्रदेश स्तरीय यु–१९ महिला क्रिकेटमा कञ्चनपुर र बझाङ विजयी 
2025/06/27, 9:19
 
ss

धनगढीमा सुदूरपश्चिम प्रदेश स्तरीय यु–१९ टी–२० महिला क्रिकेट प्रतियोगिता सुरु भएको छ । फाप्ला क्रिकेट मैदानमा असार १९ गतेसम्म चल्ने प्रतियोगिताको पहिलो दिन भएका खेलमा कञ्चनपुर र बझाङ विजयी भएका छन् । उद्घाटन खेलमा कञ्चनपुरले कैलालीलाई दुई विकेटले हरायो भने बझाङले अछामलाई ३२ रनले हरायो । 
फाप्ला क्रिकेट मैदानमा उद्घाटन खेलमा पहिले ब्याटिङ गर्दै १९ दशमलव ५ ओभरमा सबै विकेट क्षतिमा ११५ रन बनायो । प्रतिउत्तरमा कञ्चनपुरले १७ दशमलव ५ ओभरमा ८ विकेट क्षतिमा विजय लक्ष्य पुरा गर्यो । यो जितसँगै कञ्चनपुरले दुई अंक जोडेको छ । 

पहिलो दिनको दोस्रो खेलमा पहिले ब्याटिङ गर्दै बझाङले १८ दशमलव ३ ओभरमा सबै विकेट क्षतिमा १२० रन बनायो । प्रतिउत्तरमा अछामले निर्धारित २० ओभरमा ६ विकेट क्षतिमा ८८ रन मात्रै बनाउन सक्यो । यो जितसँगै बझाङले पनि दुई अंक जोडेको छ । 

यसअघि प्रतियोगिताको एक कार्यक्रमका बिच सामाजिक बिकास मन्त्री मेघराज खड्काले उद्घाटन गरेका थिए । प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समुहमा विभाजन गरिएको छ । 

समुह ‘ए’ मा कैलाली, कञ्चनपुर, अछाम र बझाङ तथा समूह ‘बी’ मा डडेल्धुरा, बैतडी, डोटी र दार्चुला रहेका छन । प्रदेश खेलकुद परिषदका सदस्य सचिव लोकबहादुर खड्काका अनुसार प्रतियोगिताको विजेताले दुई लाख तथा उपविजेताले एक लाख रुपियाँसहित ट्रफी तथा मेडल प्राप्त गर्ने छन् ।

तेस्रो र चौथो हुने टोलीलाई ५०/५० हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार, उत्कृष्ट ब्याटर र बलरलाई १५/१५ हजार, उदीयमान खेलाडीलाई १० हजार र प्रत्येक खेलको म्यान अफ दी वमेनलाई दुई हजार रुपैयाँ प्रदान गरिने छ ।