निर्मला पन्तकी आमा भन्छिन्–‘न्याय पाउने आश मरिसक्यो’ (भिडियो सहित)
2020/07/25, 9:33
 
nirmala pant

निर्मला पन्तको बलात्कारपछि हत्या भएको शनिबार दुई वर्ष पुगेको छ । निर्मलाका हत्यारा पत्ता लगाउन सडकदेखि सदनसम्म आवाज उठ्यो । सायदै सबैभन्दा बढी छानबिन समिति गठन गरेर अनुसन्धान भए । तर दुई वर्षसम्म घटना रहस्यमै छ । घटनाको दुई वर्षसम्म हत्यारा पत्ता नलागेपछि निर्मलाका आमा बुवाले न्याय पाउने आश गुमेको बताएका छन् । यसै विषयमा निर्मलाकी आमा दुर्गादेवी पन्तले बताएकी छिन् । यसै विषयमा उनकी आमा दुर्गादेवीसँग गरिएको कुराकानीको अंश

निर्मला हत्याको दुई वर्ष बित्यो, न्यायका लागि केके गर्नुभयो ?  
निर्मलाको हत्या भएको साउन १० गते दुई वर्ष पुगिसक्यो ।  निर्मलाका परिवारलाई न्याय दिनुपर्छ भनेर सारा संसार आन्दोलनमा उत्रियो । सबैले आवाज उठाए । उनीहरुसँगै हामी पनि आन्दोलनमा होमियौं । निर्मलाको न्यायकै लागि एक जनाले ज्यान गुमाए । कयौं घाइते भए । हामी चार महिना जति जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना बस्यौं, कयौं पटक काठमाडौं धायौं, जिल्ला प्रहरी कार्यालय त दिनहुँ जसो पुग्यौं । तर पनि अहिलेसम्म न्याय पाइएन ।  

न्याय कहिले पाइएला जस्तो लाग्छ ?  
खै, न्याय पाइएला जस्तो लाग्ने छाडिसक्यो । आशै मरिसक्यो । यत्रो आन्दोलन भयो । अहिलेसम्म केही भएन । अब भगवानको इच्छाले  न्याय पाइयो भने अलग कुरा हो । यस्तै रहेमा न्याय पाइएला जस्तो लाग्दैन । मदन भण्डारीको हत्यारा पनि पत्ता लागेको छैन । निर्मलाको हत्यारा पत्ता लाग्यो भने गरिबहरु मिलेर न्याय दिलाउन सके भन्ने उदाहरण होला ।

न्याय नपाउनुको कारण के होला ?
म गरिब भएँ । मेरो पक्षमा ठूला मान्छे कोही भएन । धनीमानी र पहुँच भएको भए मैले उहिल्यै न्याय पाउँथे होला । तर गरिब भएका कारण अहिलेसम्म न्याय पाउन सकेको छैन । तर पनि प्रहरीले सत्य पत्ता लगाउनुपथ्र्यो, त्यो गरिदिएन । सुरुदेखि नै लापरबाही भयो ।

दिलीप बिष्टको नाममा किटानी उजुरी दिनुभएको छ । के बिष्ट नै दोषी हुन् त ?  
मलाई कसैमाथि शंका लाग्दैन । अनुसन्धान गर्ने काम प्रहरीको हो । अहिलेसम्म कोही पनि अपराधी पत्ता नलाग्नु र भिडियोमा दिलीपले बोलेका कुराहरु हेर्दा उही जस्तो लागेर किटानी उजुरी दिएकी हुँ । मैले किटानी उजुरी दियो भने पत्ता लगाउन सजिलो होला भन्ने सोचेकी थिएँ । तर प्रहरीले ११ महिनासम्म किटानी उजुरी दिएको मान्छेलाई समात्न सकेको छैन । सुरुमा दिलिप हुन सक्दैन भनेर मैले भनेकै हो । तर प्रहरीले खोज्दाखोज्दा कोही पनि पत्ता नलागेपछि कतै त्यही हो कि भनेर शंका त लागिहाल्छ नि ! केही दिनअघि प्रहरी मेरो घरमा आएर अरु कोकोमाथि शंका छ भनेर सोधपुछ गरे । मलाई त अपराधी चाहिएको हो । प्रहरीले प्रमाण सहित पत्ता लगाई यो हो भन्यो भने म न्याय पाएको मान्थें । मलाई दिलीप बिष्ट वा कुनै मन्त्रीको छोरा चाहिएको होइन, अपराधी चाहिएको हो ।