दुई सय मुक्तकमैयाका लागि तीन वटा शौचालय !
2020/07/25, 1:33
 
toilet

कैलाली जिल्ला खुला दिसामुक्त घोषणा भएको दुई वर्ष बितिसकेको छ । खुला दिसामुक्त जिल्ला घोषणा गरिए पनि बिपन्न बस्तीमा भने सरकारको ध्यान पुगेको छैन । विपन्न बस्तीमा शौचालय नै नहुँदा कोही खुला क्षेत्रमै दिसा पिसाब गर्छन् भने केही संयुक्त रुपमा शौचालय प्रयोग गर्छन् । यसको उदाहरण हो– कैलालीको गोदावरी नगरपालिका ५ मा रहेको मुक्तकमैया शिविर । शिविरमा शौचालय नहुँदा त्यहाँका बासिन्दाले सार्वजनिक शौचालय प्रयोग गर्दै आएका छन् ।

मुक्तकमैया शिविरमा ३७ परिवारको बसोबास छ । ३७ परिवारका करिब २ सय जनाले तीन वटा शौचालय प्रयोग गर्दै आएका छन् । विगतमा खुला दिसापिसाब गर्ने मुक्त कमैयाहरुलाई पनि प्रयोग गर्न दिनेगरी केही दिनअघि मात्र सो क्षेत्रमा तीन वटा सार्वजनिक शौचालय निर्माण गरिएका छन् । तीन वटा मात्रै शौचालयले सबैलाई नपुग्ने हुँदा धेरैले खुला रुपमै दिसापिसाब गर्ने गरेको स्थानीय बताउँछन् । पानी र बिजुली अभावसँगै शौचालयसमेत नहुँदा निकै समस्या भएको ममतादेवी डंगौराले बताइन् ।

दुई सय जनाले तीनवटा मात्रै शौचालय प्रयोग गर्नुपर्दा समस्या भइरहेका बेला झन् कोरोना महामारीका बेला स्थानीयमा त्रास छाएको छ । विश्वव्यापी कोरोना महामारी भइरहेका बेला मुक्तकमैयाहरुले सार्वजनिक शौचालय प्रयोग गर्नुपर्दा कोरोनाको निकै बढेको उनीहरुको दुखेसो छ । मुक्तकमैया बस्तीका लागि शौचालय, विद्युत र पानीका लागि माग गरे पनि सम्बन्धित निकायले कुनै चासो नदिएको शिविरकी अध्यक्ष रतरानी देवी चौधरीले बताइन् ।

गोदावरी नगरपालिका ५ मा निर्माणाधीन गेटा मेडिकल कलेजको जमिन रहेको सो स्थानमा मुक्तकमैया बस्दै आएका छन् । मेडिकल कलेजको जमिनमा बसेका मुक्तकमैयाको स्थायी व्यवस्थापन नभएकै कारण सेवा सुविधाबाट पनि वञ्चित हुनुपरेको स्थानीय सरकारले बताएको छ । उनीहरुको स्थायी बसोबासका लागि जिल्ला प्रशासनसँग पटक–पटक आग्रह गरिए पनि नभएकाले सुविधा दिन नसकिएको गोदावरी नगरपालिका ५ का अध्यक्ष कर्णसिंह बोहराले बताए । उनीहरुको व्यवस्थापन भए आवश्यक सुविधा उपलब्ध गराइने उनले स्पष्ट पारे । सरकारले कमैयाबाट मुक्त गरे पनि स्थायी व्यवस्थापन नहुँदा उनीहरुले मुक्त भएको अनुभूत गर्न पाएका छैनन् । उनीहरुको स्थायी व्यवस्थापन नहुँदा न विद्युत् नै जडान गरिएको छ न त खानेपानी नै ।