दार्चुलाको त्रिदेशीय सीमाक्षेत्र तिंकर ६ महिनादेखि सञ्चार विहीन
2020/05/18, 10:39
 
tinkar

दार्चुलाको त्रिदेशीय सीमा क्षेत्र व्यास गाउँपालिकाको छाङ्गरु र तिङ्करमा ६ महिनादेखि सञ्चार अवरुद्ध छ । गत मङ्सिरमा व्यासका स्थानीयवासी खलङ्गा झरेसँगै त्रिदेशीय सीमा क्षेत्र सञ्चार विहीन भएको हो । छाङ्गरुमा नेपाल टेलिकमको स्काइ टावर स्थापना गरिएको भए पनि अत्यधिक हिमपातका कारण गत मङ्सिरदेखि अवरुद्ध भएको नेपाल टेलिकम दार्चुलाले जनाएको छ । ‘हिमपातले छाङ्गरुमा राखिएको स्काइ फोन सेवाको टावरमा राखिएको सोलार र अन्य उपकरणमा क्षति पुगेको हुनसक्छ’, टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले भने । 

बढी हिमपातले हरेक वर्ष टावरमा क्षति पुर्याउँदै आएको छ । गत वर्ष हेलिकप्टर मार्फत टेलिकमका कर्मचारी गएर टावर निर्माण गरेको तर यो वर्ष छाङ्गरु पुगेर टेलिफोन टावर सञ्चालन गर्न बाटो अवरुद्ध हुँदा सम्भव नभएको टेलिकम प्रमुख गुरुङको भनाइ छ । ‘व्यासमा गत वर्ष सोलारमा ठूलो क्षति पुगेको थियो, अहिले के के क्षति भएको छ भन्ने यकिन जानकारी छैन’, उनले भने, ‘यो क्षेत्रमा बढी हिमपात हुने हुँदा सोलार प्रणाली र रेडियो उपकरणमा क्षति पुग्ने गरेको छ ।’ उनका अनुसार स्काइ फोन सेवा पुनः सञ्चालन गर्न लकडाउन का कारण सामान ल्याउनै समस्या छ । ‘जिल्ला ल्याए पनि व्याससम्म पुग्न सकिने अवस्था अहिले छैन’, उनले भने । 

बाटोघाटो नै नभएको अवस्थामा तत्काल नै सेवा सञ्चालन गर्ने अवस्था नरहेको टेलिकम दार्चुलाले जनाएको छ । व्यासका स्थानीयवासी पनि गाउँ जान पाएका छैनन् । अहिले छाङ्गरु र तिङ्करमा नेपाल प्रहरी र सशस्त्र प्रहरी पुुगेका छन् । व्यासमा रहेको स्काइ टावरले छाङ्गरु र भारतका अधिकांश बस्तीमा कभरेज पुर्याउँदै आएको थियो । भारतका गुञ्जी, छायालेक, कुटीका बासिन्दा र भारतीय सुरक्षाकर्मीले अधिकांश समय नेपालकै फोन सेवा प्रयोग गर्दै आएका छन् । अहिले व्यासमा रहेको फोन सेवा सञ्चालन नहुँदा सुरक्षाकर्मीलाई समेत सञ्चारमा समस्या भएको छ । 

नेपाल प्रहरी र सशस्त्र प्रहरी गत वैशाख ३१ गते छाङ्गरु र तिङ्कर उक्लिएदेखि फोन मार्फत सम्पर्क हुन नसकेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले बताए । ‘सशस्त्र र नेपाल प्रहरीको भिएचएफ सञ्चार सेटमार्फ सम्पर्क हुने गरेको छ’ उनले भने, ‘मोबाइलको टावर बिग्रिएका कारण फोन मार्फत सम्पर्क छैन ।’ उनीहरुले माथिबाटै सञ्चार सम्पर्कमा आउनुपर्ने बाध्यता छ । खोँचमा रहेको छाङ्गरुमा टावर हुँदा विगतमा पनि तिङ्करले फोन गर्न समस्या झेल्दै आएको थियो । अहिले झन छाङ्गरुमा पनि फोन बनाउन पहल हुन नसक्दा गएका सुरक्षाकर्मीले पनि समस्या झेलेका छन् । छाङ्गरुका स्थानीय सुधा बोहराले फोन सेवा नहुँदा सम्पर्क विहीन भएको बताए । 

गत वैशाख ३१ गते सेनाको हेलिकप्टर मार्फत गाउँ पग्नुभएका बोहराले गाउँ गएदेखि कहीँ फोन सम्पर्क गर्न पाएका छैनन् । उनले गाउँ जानुअघि स्काइ र नमस्ते सीम लगेको बताउँदै भने, ‘सीम लगियो, टावर छैन । टावर बन्यो भने सम्पर्क गर्न चाहिन्छ भनेर सीम लगेको हुँ ।’ उता भारतले व्यास क्षेत्रमा टेलिफोन टावर राखेको छैन । भारतीय नागरिक पनि नेपालकै टेलिकमको सेवा प्रयोग गर्दै आएका थिए ।  दार्चुलाकै व्यास गाउँपालिका–१ छाङ्गरुमा स्काई, वडा नम्बर २ को राप्लामा नमस्ते, दुहुँ र व्यासकोशीमा क्षेत्र कौचुलामा स्काई नमस्ते टावर सञ्चालनमा ल्याइएको छ । छाङ्गरुमा नमस्तेको त्रि जी फोन सेवा राख्न सर्भे भए पनि लकडाउनका कारण काम शुरु गर्न नसकिएको टेलिकमले जनाएको छ ।

नौ वटा स्थानीय तहका २४ ठाउँमा टेलिकमका टावर निर्माण र तीन ठाउँमा सर्वेक्षण गरेर सेवा प्रवाह गरेको नेपाल टेलिकम दार्चुलाले जनाएको छ । टेलिकमको पहुँच जिल्लाभरि पुर्याउने उद्देश्यले हरेक स्थानीय तहमा टावर निर्माण गरी सेवा प्रवाह भइरहेको टेलिकमले जनाएको छ । टेलिकम दार्चुलाका अनुसार महाकाली नगरपालिकाभित्र छ वटा, शैल्यशिख नगरपालिकामा चार, मालिकार्जुन गाउँपालिका क्षेत्रमा पाँच, दुहुँ, नौगाड र व्यास गाउँपालिकामा दुई दुई, अपिहिमाल, मार्मा र लेकममा एक÷एक वटा टावर निर्माण भएर सञ्चार सेवाको पहुँच पुगेको टेलिकम प्रमुख गुरुङले जानकारी दिए । 

चालु आर्थिक वर्षभित्र व्यासको छाङ्गरु, दुुहुँ र अपिहिमाल गाउँपालिकामा टेलिकमको टावर थप्ने गरी सर्भेको काम भएको गुरुङले जानकारी दिए । ‘लकडाउन का कारण यी क्षेत्रमा काम शुरु हुन सकेको छैन’, उनले भने, ‘लकडाउन खुल्ने बित्तिकै यी क्षेत्रमा काम शुरु हुने छ ।’ टेलिकमले व्यास गाउँपालिका–१ छाङ्गरु, दुहुँ गाउँपालिका–१ ब्रह्मलेक तथा अपिहिमाल गाउँपालिका–३ पाथामा सर्भे काम भइसकेको जनाएको छ ।