सुदूरपश्चिममा थप ५० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५०७६ पुग्यो 
2020/08/18, 8:07
 
corona

मंगलवार सुदूरपश्चिम प्रदेशका ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशाला, डडेल्धुरा अस्पतालको प्रयोगशाला र काठमाडौँ स्थित प्रयोगशालामा भएको परीक्षणमा आज ५० जनामा संक्रमण देखिएको हो । डडेल्धुरा प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ४७ जनाको कोरोना परीक्षण भएकोमा ४६ जनामा संक्रमण देखिएको छ । अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भुषालका अनुसार संक्रमित सबै डोटी जिल्लाका हुन् ।

शिखर नगरपालिका वडा नम्वर १० का १६ जना, वडा नम्वर ९ का १४, वडा नम्वर ७ का १३ र वडा नम्वर १ का दुई तथा दिपायल सिलगढी नगरपालिका वडा नम्वर ८ का एक जनामा संक्रमण पुष्टि भएको उनले बताए । उता काठमाडौँमा भएको परीक्षणमा दार्चुलाका दुई र कञ्चनपुरका एक गरी तीन जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए । 

यता सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६ सय ४९ जनाको कोरोना परीक्षण भएको छ । प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार २४ घण्टामा भएको परीक्षणमा एक जनामा संक्रमण पुष्टि भएको छ । कैलालीको जोशीपुर गाउँपालिका वडा नम्वर ७ का ३५ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको उनले बताए । 

मंगलवार ५० जनामा कोरोना पुष्टि भएसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच हजार ७६ पुगेको छ । सबैभन्दा बढि कैलालीमा एक हजार तीन सय १७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । डोटीमा ८ सय ८१, अछाममा सात सय ३७, बाजुरामा ६ सय २३ र कञ्चनपुरमा ५ सय ९८ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै डडेल्धुराका तीन सय १४, बैतडीका तीन सय एक, बझाङका दुई सय ९८ र दार्चुलाका ४७ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका चार हजार दुई सय बढि डिस्चार्ज भएका छन् भने १२ जनाको मृत्यु भएको छ ।