दुई÷तीन दिन अगाडी भारी बर्षा भएकोले होला ! बिहीबार बिहानैदेखी धनगढीमा आकाश खुलेर चर्को घाम लागेको छ । जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञाले धनगढी बजार सुनसान बनेको छ । बिहानको समयमा तरकारी, खाद्यान्नका पसलहरु खुल्ला भएपनि ९ बजेपछि सबै बन्द अवस्थामा छन् ।
झण्डै ३५ डिग्री सेल्सियसको तातो घाममा सेती प्रादेशीक अस्पतालबाट १ किलोमीटर पैदल हिडेर धनगढी चौराह पुगेका बिर बहादुर जाग्रीले धनगढी बजार पुरै चार्हदा समेत खानेपानि नपाएको दुखेसो पोखे । २५ हजारमा गाडी बुकिङ गरेर बाजुराको गौमुलबाट बिरामी नातिनी र बुहरीलाई लिएर बिहीबार बिहान धनगढी पुगेका जाग्री दिउँसो १ बजेसम्म धनगढी बजारमै रुमलीई रहेका थिए ।
नातिनीलाई उपचार गर्न सेती अस्पताल पुगेका उनलाई अस्पतालले लकडाउन भन्दै फर्काएपछि बिरामी नातिनीलाई बोकेर २ किलोमीटर पैदलमै चटकपुरको माया मेट्रो अस्पताल पुगे । नातिनीलाई आइसियुमा राखेर बिहानको खाना र बेलुकाको बास खोज्न निस्कीएका उनले दुखेसो पोख्दै भने–‘नातिनीलाई त पाचँ हजार तिरेर आईसियुमा राख्यौ, हामी भने भोकै परिने भयो, खाना र कोठा खोज्न धनगढी बजार पुरै घुमीसक्यौ कहि पाइएन् ।’
जिल्ला प्रशासन कार्यालय कैलालीले मंगलबार एक सुचना जारी गर्दै बुधबार मध्यराती देखी निषेधाज्ञा गर्ने निर्णय गरेको थियो । उक्त निर्णयको पालन गर्दै आजदेखी १० दिनका लागी धनगढी बजार लगाएत कैलाली जिल्लाभर निषेधाज्ञा लागु गरिएको छ । एकाएक प्रशासनले दोस्रो पटक जारी गरेको निषेधाज्ञाले सुदूरपश्चिमका पहाडी जिल्लाबाट धनगढी आएका थुप्रै नागरिक अलपत्रमा परेका छन् ।
बझाङबाट दुई÷दुई हजार भाडा तिरेर ८ महिने नातिलाई उपचार गराउन धनगढी पुगेका मदन किमाडीको पिडा पनि उस्तै छ । बुधबार बेलुका छोरा बुहारी र नाति सहित बझाङबाट ट्रकमा धनगढी आएका उनिहरुलाई ट्रकले धनगढी नपुग्दै ९ किलोमिटर अगाडी गेटामा छोडीदियो । गेटाबाट ९ किलोमिटर पैदल यात्रा गरेर धनगढीको सिटी अस्पताल पुगेर उपचार गराएर पछि किमाडी परिवार खाना खोज्न धनगढी बजार चहार्दै चौराहा पुगेका थिए ।
खाना कतै नपाएपछि चौराहा पुगेका उनिहरु बझाङ फर्किने गाडी पाईन्छ कि भन्ने आशमा धनगढी चौराहामै बसिरहेका उनले पिडा पोख्दै भने–‘लकडाउन हुन्छ भन्ने जानकारी थिएनन्, नाति सिकिस्त बिरामी भएर उपचार गराउन धनगढी आयौ, यहाँ पुगेर बिपत्तिमा परियो, घर फर्किन गाडी पाउदैन् होला ?’ उनले धनगढी बजारमा खानेपनि समेत पाइएको दुखेको पाखे । ‘एम्बुलेन्सले २०÷२५ हजार भाडा भन्दै छन् तेती पैसा छैन्, कहाँ जाने धनगढीमा कोही आफन्त पनि छैनन्’ किमाडीले भने ।
यस्तै श्रीमतीलाई सिपी अस्पतालमा उपचार गराई रहेका टिकाराम चौधरीलाई अस्पतालले बिहीबार रगत (ब्लड) खोजेर ल्याउन पठायो । श्रीमतीलाई एक्लै अस्पतालमा छोडेर रगत खोज्न ब्लड बैकं निस्कीएका चौधरीको मोटरसाईकलको चाबी प्रहरीले निषेधाज्ञा भन्दै समातेर राख्यो । प्रहरीलाई आफ्नो समस्या सुनाएर लगातार आग्रह गर्दा समेत मोटरसाईकल नछोडेपछि उनि पैदल हिडेरै ब्लड बैकं निस्कीए ।
जाग्री, कीमाडी र चौधरी उदारणीय पात्र मात्रै हुन, यसरी प्रशासन कार्यालय कैलालीले एकाएक जारी गरेको निषेधाज्ञाले सयौं सर्वसाधारण र बिरामी निम्नवर्गीय नागरिक मार्कामा परेका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीले समस्यामा परेका नागरिकलाई प्रशासनले सहयोग गरिरहेको बताए ।
उनले बिरामीहरुलाई खाना बस्नको लागी अस्पताल नजिकका होटलहरुले बेलुका होटल खोल्न मिल्ने बताए । जोशीले भने–‘हामी संकटको चरणमा छौ, सबैलाई भनेजस्तो र चाहेजस्तो सुविधा उपलब्ध नहुनपनि सक्छ ।’ पहाडबाट आउने बिरामीहरुलाई पासको आधारमा बिहान धनगढीमा प्रवेश दिईरहेका उनले बताए ।