कोही झोला बोकिरहेका थिए। कोही गाडीमा सामान राखिरहेका थिए त कोही गाडी मालिकसँग गन्तव्यसम्म लाग्ने शुल्कका विषयमा जानकारी लिइरहेका थि ए। कोही आफन्तसँग गफ गर्दै थिए भने कोही आफन्त खोजिरहेका थिए । कसैको अनुहारमा निराशा थियो त कोही चिन्तित थिए भने कोही थकित देखिन्थे। पछिल्लो समय कञ्चनपुरको डोकेबजारमा रहेको खुला चौरमा यस्तै दृष्य देखिन्छ ।
सरकारले चैत ११ गतेदेखि नेपालमा लकडाउन जारी गरेको थियो । लकडाउनका कारण भारतबाट फर्किएका नेपाली सीमामै अलपत्र परेका थिए । ११ गते कैलालीको त्रिनगर नाकाबाट नेपालीहरु प्रवेश गरे पनि त्यसयता, एक महिना नाका पूरै बन्द गरिएको थिया । झन्डै एक महिनापछि सरकारले नेपाल आउन चाहने नेपालीका लागि नाकाबाट प्रवेश दिन थाल्यो । त्यसयता कैलालीको धनगढी जोड्ने भारतको त्रिनगर नाकाबाट आफनो घर जाने सुदूरपश्चिमका बासिन्दा धमाधम प्रवेश गरिरहेका छन । झन्डै तीन महिनामा लाखौं सुदूरपश्चिमका बासिन्दा यो नाकाबाट प्रवेश गरेको जनाइएको छ । अहिले पनि दैनिक सरदर पाँच सय व्यक्ती नाकाबाट प्रवेश गरिरहेको जनाइएको छ ।
कैलाली जिल्ला प्रशासन कार्यालयले बिहीबार रातिदेखि कैलालीमा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाका कारण कैलालीका बजार र टोलहरु सुनसान भए पनि नाकामा भने गन्तव्य स्थानसम्म पुग्ने चाहनासहित भारतबाट फर्कनेको लर्को जारी थियो । नाकामा एक जना ‘थर्मल गन’ ले आउने व्यक्तिहरुको ज्वरो जाँच गरिरहेका थिए भने खटिएका केही सुरक्षाकर्मीहरु उनीहरुको नाम, जाने स्थानका बारेमा जानकारी लिइरहेका थिए । कैलालीको त्रिनगर नाका भएर सुदूरपश्चिमका ९ वटै जिल्ला र कर्णाली तथा प्रदेश नम्बर ५ का नागरिक पनि प्रवेश गरिरहेको त्रिनगर भन्सार नाकामा सुरक्षामा खटिएका अमराज बुढाले बताए ।
क्वारेन्टाइनको व्यवस्था छैन
सुदूरपश्चिमका पहाडी जिल्लामा अहिले पनि क्वारेन्टाइनको व्यवस्थापन गरिएको छ तर, प्रदेशको बढी जनसंख्या रहेको कैलाली र कञ्चनपुरमा भने भारतबाट घर फर्केकालाई क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएको छैन । प्रदेशमा पाँच जना कोरोना संक्रमित देखिँदा सबै स्थानीय तहहरुले भारतबाट आउनेहरुलाई सिधै घर नपठाई क्वारेन्टाइनमा राखिरहेको थियो। सरकारले लकडाउन अन्त्य गरेसँगै प्रदेशका केही स्थानीय तहहरुले ती क्वारेन्टाइनलाई पनि हटाएको थियो ।
प्रदेशकै एकमात्र उप–महानगरपालिका धनगढीका प्रवक्ता सन्तोष मुडभरीले अहिले सबै क्वारेन्टिन बन्द भएको जानकारी दिए । उनले विद्यालयमा क्वारेन्टिन सञ्चालन गर्नसक्ने अवस्था नरहेको भन्दै वैकल्पिक स्थानको खोजी भइरहेको दावी गरे । धनगढी उप–महानगरपालिकाले क्वारेन्टिन सञ्चालन गर्न नसक्ने भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीलाई पत्र पठाएको छ । विद्यालयहरु सञ्चालन हुने भएकाले क्वारेन्टिन सञ्चालन गर्न नसकिने भन्दै उप–महानगरपालिकाले साउन ३२ गते प्रशासनलाई पत्र पठाएको हो । धनगढीमात्र होइन अहिले कैलालीका अधिकांश स्थानीय तहमा क्वारेन्टाइनको व्यवस्था छैन ।
सुदूरपश्चिमका पहाडी जिल्ला डोटी, अछाम लगायतका जिल्लामा भने अहिले पनि भारतबाट आउने व्यक्तिहरुलाई क्वारेन्टाइनमै राखिने गरेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार अहिले प्रदेशभरि एक हजार ५४ महिला र दुई हजार चार सय आठ पुरुष गरी तीन हजार चार सय ६२ जना क्वारेन्टाइनमा रहेका छन । प्रदेशमा सबैभन्दा बढी बझाङमा चार सय ७३ महिला र आठ सय १६ पुरुष गरी एक हजार दुई सय ८९ जना क्वारेन्टाइनमा रहेका छन् भने सबैभन्दा कम दार्चुलामा ९ महिला र ४९ पुरुष गरी ५८ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
प्रदेशको कैलालीमा ३६ महिला र ८१ पुरुष गरी एक सय १७ जना, कञ्चनपुरमा एक सय आठ महिला र दुई सय ७६ पुरुष गरी तीन सय ८४, डडेल्धुरामा २५ महिला र एक सय ३२ पुरुष गरी एक सय ५७ जनालाई क्वारेन्टाइनमा राखिएको छ । यस्तै, डोटीमा एक सय ४५ महिला र चार सय ७८ पुरुष गरी ६ सय २३, अछाममा एक सय ६६ महिला र तीन सय ६१ पुरुष गरी पाँच सय २७, बैतडीमा ५१ महिला र एक सय ७६ पुरुष गरी दुई सय २७ र बाजुरामा ४१ महिला र ३९ पुरुष गरी ८० जना क्वारेन्टाइनमा रहेका छन् ।