साँफेबगर–मार्तडी सडक निर्माण अझै अनिश्चित
2020/08/26, 1:31
 
sadak

दर्जनौ ठाउँमा गएको पहिरोले क्षतबिक्षत भएको साँफेबगर–मार्तडी सडक सञ्चालनमा आउन कम्तिमा वर्ष दिन लाग्ने भएको छ । यही अवस्थामा पुननिर्माण भए त वर्षदिनमा पनि सडक सञ्चालन हुन सक्ने अवस्था छैन । पहिरोले सडक क्षतबिक्षत भएको दुई महिना हुदा पनि निर्माणको काम अझै शुरु हुन सकेको छैन ।

साँफेबगर–मार्तडी सडकको अवस्था दर्दनाक छ । तत्काल यस्को सञ्चालन हाम्रो क्षमता भन्दा बाहिर छ, सडक डिभिजन कार्यालय साँफबगरका प्रमुख ईञ्जिनियर ललिजन खनालले भने, यस्तै अवस्था रहे दशैं अघि ट्रयाक खोल्न पनि मुस्किल छ । खनालले अम्कोटमा गएको पहिरोले बगाएको सडक मर्मत गरेर अर्को वर्षपनि सञ्चालनमा आउन सके ठूलो उपलब्धी हुने बताए ।

निर्माण कहाँबाट शुरु गर्ने हामी त अन्यौलमा छौ । एक ठाउँमा पहिरो गएको भए पो, खनालले भने, अम्कोटमा मात्र तीन किमी सडक बुढीगंगामा बगेको छ । ताप्रिसेराको पक्की पुल र जडांगाको बेलीब्रिज समेत बाढीले बगाएर लगेको छ ।  पुुननिर्माणको काम कहिले शुरु हुन्छ भन्ने पश्चिम टुडेको प्रश्नमा डिभिजन प्रमुख ईञ्जिनियर खनालले वर्षा रोकिन कति दिन लाग्छ त्यसमा भर पर्ने बताए ।

वर्षा नरोकिए सम्म पहिरो जाने क्रम पनि रोकिने देखिन्न । वर्षा भईरहे बुढीगंगामा पानीको सतह पनि घट्दैन । यो दुईटै अवस्थामा पुननिर्माण शुरु हुने अवस्था छैन । साँफेबगरदेखि बल्दे र बार्जुगाडबाट मार्तडीको भागलाई दुई भागमा बिभाजन गरेर पुनर्निमाण शुरु गरिने खनालले बताए ।

सडक डिभिजन कार्यालय साँफेबगरका प्रमुख ईञ्जिनियर खनालले झण्डै २९ किमी सडक खण्डको कतिपय भागमा सडकको नामोनिसान नै नभएको बताए । खनालका अनुसार तीन किमी सडक सडक पुरै नदीमा बगेको छ । कतिपय भागमा पहिलेकै ठाउँमा सडक निर्माण गर्न सक्ने अवस्था छैन । 

साँफेबगर–मार्तडी सडकको ५८ किमी खण्ड मध्ये २९ किमी सडक क्षतबिक्षत छ । वर्षा नरोकिएका कारण सडकमा  चिरा पर्ने र पहिरो जाने क्रम अझै रोकिएको छैन ।  बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले दशैभन्दा अघि सडक सञ्चालनमा अउान सक्ने अवस्था नरहेको पश्चिम टुडेलाई बताए ।

उनले सडक निर्माणका लागि स्थानीय, प्रदेश र संघीय सरकारले चासो देखाएपनि वर्षा जारी रहेका कारण सडकको पुननिर्माणमा कठिनाई भएको बताए ।  उनले जडांगामा बेलिब्रिजको निर्माणका लागि समेत पहल भएको र कार्तिकमा निर्माण शुरु हुने बताए ।

दुई महिनादेखि सडक सञ्जालसंग सम्पर्क टुटेको बाजुरामा खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको अभाव भएको छ । तरकारीको भाउ आकाशिएको छ । औषधीको समेत अभाव भएको छ ।